ad ad

कारोबार


अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङमा पर्यटक बढे

अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङमा पर्यटक बढे

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार ६:३७, म्याग्दी

अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ। 

उपल्लो मुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। 

एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख पदमराज रेग्मीका अनुसार २०२३ को जनवरीदेखि नोबोम्वर तेस्रो सातासम्म तीन हजार तीन सय ८८ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन्। 

‘यसअघिका वर्षमा वार्षिक एक हजार जनाको सङ्ख्यामा विदेशी पर्यटकले भ्रमण गर्ने उपल्लो मुस्ताङमा यसपाली पर्यटक आगमन अकल्पनीय रुपमा बढेको छ’, उनले भने, ‘सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढेको हो।’

यसवर्ष ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताए। अक्टोबर महिनामा सबैभन्दा बढी आठ सय १० विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन्।  

जनवरीमा ७ जना मात्रै विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेब्रुअरीमा २३, मार्चमा एक सय ६२, अप्रिलमा चार सय २५, मेमा सात सय १२, जुनमा एक सय ४९, जुलाईमा एक सय आठ, अगस्टमा दुई सय ७८, सेप्टेम्बरमा चार सय सात र नोभेम्बरमा १८ तारिखसम्म दुई सय सात जना विदेशी पर्यटकले भ्रमण गरेका छन्।

सन् २०२१ मा छ सय दुई जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । २०२२ मा तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका–२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन्। 

मुस्ताङको कागबेनीदेखि मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले प्रवेश शुल्क वापत पाँच सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ। 

यो शुल्क तिरेरपछि उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले १० दिनको प्रवेश अनुमति पाउँछन्। 

उपल्लो मुस्ताङ घुमेको १० दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई रोयल्टी बुझाउनुपर्ने हुन्छ। 

सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्याङ्कअनुसार रु २२ करोड ३६ लाख आठ हजार राजस्व सङ्कलन भएको छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो। 

सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए। 

कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .