ad ad

कारोबार


खर्बको लगानी जुटाउने बिमा कम्पनीको आफ्नै व्यवसाय भने खस्किँदो

खर्बको लगानी जुटाउने बिमा कम्पनीको आफ्नै व्यवसाय भने खस्किँदो

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १७:४१, काठमाडौँ

लगानीका लागि सक्षम र बलियो लगानीकर्ताको छवि बनाएका बिमा कम्पनीहरूको आफ्नै व्यवसाय खस्किँदो अवस्थामा छ।

गत वर्ष झण्डै दुई खर्ब रुपैयाँ प्रिमियमबापत बीमितबाट उठाएका कम्पनीहरूले चालू आर्थिक वर्षमा भने करिब १५ प्रतिशतले कम संकलन गर्ने निश्चित भएको छ।  

समयमै बिमा भुक्तानी नहुनु र आयस्रोत नहेरी बिमा गर्दा पोलिसी बीचैमा छोड्नेहरूको संख्या बढ्नुले बिमा कम्पनीको व्यापारमा असर गरेको हो।

बिमाप्रति बीमितको निराशा कम्पनीले उठाउने प्रिमियममा देखिन थालेको छ। 

नेपाल बिमा प्राधिकरणका अनुसार, चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बिमा कम्पनीहरूले बीमितबाट कुल १ खर्ब ५४ अर्ब रुपैयाँ प्रिमियमबापतको शुल्क संकलन गरेका थिए। जबकि गत आर्थिक वर्ष बिमा कम्पनीको यस्तो शुल्क संकलन १ खर्ब ८२ अर्ब रुपैयाँ थियो। 

जारी भएका बिमा पोलिसीहरूको संख्या (स्रोत : बीमा प्राधिकरण)

अघिल्ला दुई वर्षदेखि निरन्तर बढेको प्रिमियम संकलन चालू आर्थिक वर्ष घटेको देखिन्छ। गत आर्थिक वर्षकै तुलनामा पनि १५ प्रतिशत प्रिमियम शुल्क घटेको छ।

चालू आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहे पनि जुन दरमा हालसम्म कम्पनीहरूले व्यवसाय गरेका छन्, त्यस हिसाबले हेर्दा गत वर्ष संकलन गरे जति प्रिमियम उठाउन सक्ने आधार छैनन्।

प्राधिकरणका अनुसार वैशाख मसान्तसम्म जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब २१ अर्ब रुपैयाँ बीमितबाट प्रिमियम संकलन गरेका छन्।

गत आर्थिक वर्ष जीवन बिमा कम्पनीनले १ खर्ब ४२ अर्ब रुपैयाँ संकलन गरेका थिए। त्यसअघिको वर्ष १ खर्ब ३८ अर्ब रुपैयाँ संकलन गरेको थिए। तर, चालू आर्थिक वर्ष वैशाखसम्म भने १५ प्रतिशतले प्रिमियम घटेको छ। 

कुल बिमा प्रिमियम संकलन (रू अर्बमा),  (स्रोत : बीमा प्राधिकरण)

यस्तै निर्जीवन बिमा कम्पनीको प्रिमियम शुल्कमा थोरैले कमी आएको छ। गत आर्थिक वर्ष ४० अर्ब रुपैयाँ प्रिमियम संकलन गरेकोमा चालू आवको वैशाखसम्म ३३ अर्ब रुपैयाँ संकलन गरिसकेका छन्। जेठ र असार महिनाको प्रिमियम थपिँदा निर्जीवन कम्पनीको व्यवसाय थोरै मात्र खस्किने देखिन्छ।

समग्रमा पछिल्लो दुई वर्षदेखि निरन्तर बढेको जीवन बिमा र निर्जीबन बिमा कम्पनीको व्यवसाय चालू आवमा भने ओरालोमै देखिन्छ।

कोरोना महामारीपछिको एक वर्ष बिमा गर्नेहरूको संख्यामा वृद्धि भएको थियो। चालू आवको व्यवसाय हेर्दा भने बिमा कम्पनीको प्रिमियम संकलन दुई वर्षपछि पुरानो लयमा फर्किएको देखिएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ५३ अर्ब रुपैयाँको प्रिमियम संकलन भएको थियो। त्यसपछिका दुई वर्ष क्रमशः १ खर्ब ७७ अर्ब र १ खर्ब ८२ अर्ब रुपैयाँ संकलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .