अधिकांश नेपालीको आफ्नै आवास रहेको देखिएको छ।
८६ प्रतिशत नेपाली आफ्नै आवासमा बस्ने गरेको २०७८ मा गरिएको जनगणनाले देखाएको हो।
६६ लाख ६० हजारमध्ये ८६ प्रतिशत परिवारहरु आफ्नै र १२.८ प्रतिशत परिवार भाडामा बस्ने गरेको पाइएको छ।
२०६८ सालको जनगणनामा ८५.२६ प्रतिशत आफ्नै घरमा र १२.८१ भाडामा बस्ने गरेका छन्।
हालको गणनाअनुसार ०.६ प्रतिशत परिवारहरु संस्थागत एकाइमा अर्थात् तिनीहरु कुनै संस्थाले प्रयोग गर्न दिइएको आवासीय एकाइमा र ०.७ प्रतिशत परिवार अन्य प्रकारको स्वामित्वको एकाइमा बसोबास गरेको देखिन्छ।
प्रदेशगत रुपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी ९६.६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेको देखिन्छ भने बागमती प्रदेशमा सबैभन्दा कम ६९.२ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेको देखिन्छ।
भाडामा बसोबास गर्ने परिवारको संख्या बागमती प्रदेशमा २९.६ प्रतिशत छ भने मधेश प्रदशमा २.३ प्रतिशत रहेका छन्।
कस्ता छन् नेपालीका घर?
जनगणनामा परिवारले प्रयोग गरिरहेको आवासीय एकाइहरुमध्ये ३३.० प्रतिशतको जग माटो जडित इँट्टा/ढुङ्गाबाट बनेका छन् भने २९.८ प्रतिशतको सिमेन्ट जडित इँट्टा/ढुङ्गाबाट बनेको जनगणनाबाट देखिएको छ।
त्यस्तै २२.४प्रतिशतको ढलान पिल्लरसहितको, १४.२ प्रतिशतको काठ/बाँसको खाँबो गाडिएको र ०.६ प्रतिशतको अन्य प्रकारको बनोट रहेको देखिएको छ।
१० वर्षअघि ४४.२ प्रतिशत माटो जडित इटा, सिमेन्ट जडित इटा १७.६ प्रतिशत बनेका थिए। ढलान पिलरका ९.९ प्रतिशत, काठ र बाँसको खाँबो गाडिएका २४.९ प्रतिशत र अन्य ३.४ प्रतिशत रहेको थियो।
प्रदेशगत रुपमा हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा धेरै ८३.१ प्रतिशत घरको जग माटो जडित इँट्टा/ढुङ्गाबाट बनेको देखिन्छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ३८.२ प्रतिशत घरको जगमा काठ/बाँसको खाँबो गाडिएको देखिन्छ।
जनगणनाको नतिजाअनुसार परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरको बाहिरी गारोमध्ये ३०.७ प्रतिशतको माटो जडित इँट्टा/ढुङ्गाबाट, ५२.२ प्रतिशतको सिमेन्ट जडित इँट्टा/ढुङ्गाबाट, ११.७ प्रतिशतको बाँसजन्य सामग्रीबाट, ३.२ प्रतिशतको काठ/फल्याकबाट, १.२ प्रतिशतको जस्ता/टिनबाट र बाँकी काँचो इँट्टा, प्रिफ्याब र अन्य सामग्रीबाट बनेको देखिएको छ।
प्रदेशअनुसार हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी ८०.३ प्रतिशत घरको बाहिरी गारो माटो जडित इँट्टा/ढुङ्गाबाट बनेको देखिन्छ भने बागमती प्रदेशमा ०.१ प्रतिशत प्रिफ्याबको गारो छ।
परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरहरुमध्ये ४६.२ प्रतिशत परिवारको घरको भुइँमा माटो, ४७.३ प्रतिशतको सिमेन्ट ढलान, २.७ प्रतिशतको सेरामिक टायल, २.० प्रतिशतको काठको फल्याक/बाँस, १.४ प्रतिशतको इँट्टा/ढुंगा छ भने बाँकी घरको भुइँमा अन्य सामग्रीको प्रयोग भएको देखिन्छ।
प्रदेशगत रुपमा हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी ८१.० प्रतिशत घरको भुइँ माटोबाट, बागमती प्रदेशमा ७१.६ प्रतिशत सिमेन्ट ढलानबाट बनेको देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशको घरको भुइँ २०.३ प्रतिशत माटोबाट, कर्णाली प्रदेशको १४.४ प्रतिशत परिवारको घरको भुइँ सिमेन्ट ढलानबाट बनेको देखिन्छ।
Shares
प्रतिक्रिया