यही मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना हुँदै गर्दा निर्देशक मनोज पण्डितले आफ्नो हार स्वीकारे।
आधा पनि मत गनिनसक्दै उनले फेसबुकमा लेखे, ‘स्वतन्त्र एकजना संसदमा गएर के गर्न सक्छ र भन्ने अवधारणा स्थापित भएको कारण मैले धेरै मत ल्याउने अवस्था छैन। जति मत आउँछ, त्यो सद्भाव र वैचारिक समर्थनको मत हो। म हरेक मतको सम्मान गर्दै काभ्रेपलाञ्चोकको हितमा सधैँ काम गर्नेछु। यो चुनाव मेरो लागि प्रारम्भ हो, अध्ययन हो। आफ्नो भूगोल र समाजसँगको मेरो पहिलो वार्तालाप हो। अब आफ्नो पेसा र काभ्रेको राजनीतिमा सन्तुलन व्यवस्थापन गरेर म अगाडि बढ्नेछु। मैले मंसिर ४ देखि नै नयाँ सिनेमा लेखनको प्रारम्भ गरेको छु। सिनेमामा मेरो तेस्रो चरणको प्रारम्भ भएको छ।’
तर उनको क्षेत्रको मत परिणाम अझै आइसकेको छैन। उनले काभ्रेपलाञ्चोक–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। डोजर चिह्न लिएर निर्वाचनमा होमिएका उनले मतदानअघि थुप्रै फन्डा गर्न भ्याए। उनले भ्रष्टचारमुक्त समाजका लागि भन्दै काभ्रेमै सप्ताहसमेत लगाए। उनको मतदानअघिको चर्चा र फन्डा मत परिणामअघि नै सकियो।
मोरङ ३ बाट उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापाको निर्वाचनअघिको माहोल हेर्दा उनको जित सुनिश्चितजस्तै देखिन्थ्यो। सामाजिक सञ्जालदेखि समूहसम्म उनको राम्रै चर्चा थियो। निर्वाचनको संघारमा आएर रेखाको पक्षमा खुलेका कलाकारले उनलाई योद्धा भनेर सम्बोधन गरिरहेका थिए। झण्डै ३ महिना मोरङमै बसेर घरदैलो गरेकी रेखाले राम्रै चर्चा पाइन्। तर उनको यो चर्चा पनि मत गणना सुरु भएसँगै हराएको छ। राप्रपाका तर्फबाट मोरङ ३ की उम्मेदवार रेखा तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेकी छन्।
धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका कमेडियन हिमेश पन्तको पनि चुनावी प्रचारका क्रममा राम्रै माहोल देखिन्थ्यो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य केही प्रतिस्पर्धीले विजय हासिल गरिसक्दा पनि हिमेशको भने चर्चा हुन सेकेको छैन। उनी पनि तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिसकेका छन्।
हिमेशले पनि मत गणना नसकिँदै हार स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै हार घोषणाअघि नै हार स्वीकार गरेका हुन्। उम्मेदवारी दिएका तथा चर्चा नभएका कलाकारको मत झन् गन्तीमै देखिएको छैन।
Shares
प्रतिक्रिया