नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मध्यतिर आइपुगेको छ। ९ दिनसम्म आयोजना हुने महोत्सव आज मंगलबार पाँचौ दिनमा आइपुगेको छ। पाँचौ दिन दुई नाटकको अलावा नृत्यनाटिका र अडिओ नाटक प्रस्तुत हुँदै छ।
निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडिओ नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा हुनेछ। ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ। दर्शक/स्रोताले रुखमुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन्। यस अडिओ नाटकलाई जेनी दिन बडरले लेखेका हुन् भने एरिन बी मिले निर्देशन गरेका हुन्।
त्यस्तै मंगलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदै छन्। यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा भन्छ। जब दुईजना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरूको यात्राले मानवीयताका धेरै पत्रहरू खुलाउँदै जान्छ।
चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदै छ। केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाससँगै अस्तित्वसम्बन्धी प्रश्नहरूसँगै आफूभित्रको विचारहरूलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरू याद गर्ने प्रयास गराउनेछ।
पाँचौ दिनको अन्तिम प्रस्तुति स्वरुप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदै छ। नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन्। यस प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्ष पछ्याइएको छ।
‘पाइतालाका यात्रा’मा मनीषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदीक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलको प्रस्तुति रहनेछ ।
सोमबार के के भए?
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन भएको थियो। साँझ भएको कार्यक्रममा रङ्गकर्मीहरू पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गरेका थिए।
सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ पनि मञ्चन गरिएको थियो भने ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला सम्पन्न भएको थियो।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्। महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदै छ।
Shares
प्रतिक्रिया