ad ad

कला


बोर्ड अध्यक्ष भएपछि भुवनका ६ महिना: ७ विवाद

बोर्ड अध्यक्ष भएपछि भुवनका ६ महिना: ७ विवाद

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १०:३८, काठमाडौँ

नेपाली फिल्म उद्योगका सुपरस्टार हुन् - भुवन केसी। उनले लामो समय फिल्म उद्योगमा बिताएका छन्। तर उनी सधैं विवादको केन्द्रमा रहने अभिनेतामा पर्छन्। उनी केही न केही कारण चर्चामा आइरहन्छन्।

पछिल्लो ६ महिनायता भुवन केसी झन् धेरैवटा विवादमा परेका छन्। गत साउन ९ गते नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएसँगै सुरु भएको भुवनको विवाद श्रृंखला अझै रोकिएको छैन।

यसै साता अभिनेत्री पूजा शर्मालाई उनले दिएको नियुक्तिले विवाद झन् धेरै चर्किएको छ। भुवन बोर्ड अध्यक्षमा नियुक्त हुँदै गर्दा केही विवादका स्वर सुनिए पनि ठूलो संख्यामा रहेका चलचित्रकर्मीले उनीसँग निकै आश गरेका थिए। तर त्यो आशा निराशामा परिणत भएको छ। पद बहालीयता भुवनका ६ महिना विवादमा मात्रै बितेका छन्। नियुक्त भएको यो ६ महिनामा उनले विदेश भ्रमण, सार्वजनिक कार्यक्रम र भेटघाटमा बोर्डको पैसा ज्यादा खर्च गरेको गुनासो पनि सुरु भएको छ।

६ महिनामा ७ विवाद

विवाद १ 
भुवन केसी बोर्ड अध्यक्षमा नियुक्त भएसँगै उनीविरुद्ध सर्वोच्चमा रिट पर्‍यो। उनीसँगै अध्यक्ष हुने दौडमा रहेका नरेशकुमार पौड्यालसहित ५ जनाले उनको योग्यतामा प्रश्न उठाउँदै मुद्दा हाले। उनीहरुले भुवनलाई अध्यक्षको हैसियतमा कामकाज गर्न नदिन अल्पकालीन अन्तरिम आदेश माग गरेका छन्। तर उक्त मुद्दाको किनारा लागेको छैन। उनीविरुद्ध परेको रिटको  सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न रोक नलगाउन आदेश दिएको थियो। त्यसैले केसी अध्यक्षको हैसियतले काम गरिरहेका छन्। 

विवाद २ 
केसीले बोर्डमा ५ सदस्य सल्लाहार समिति बनाए। सबै सल्लाहकार पुरुष राखे। ५ सदस्यीय सल्लाहाकार समितिमा एकजना पनि महिला नपरेपछि प्रश्न उठाइयो। आलोचना नरोकिएपछि उनले उक्त समितिको सदस्य संख्या बढाएर एक जना महिला घुसाए। अहिले उनले सल्लाहार समितिको संख्या बढाएर ८ पुर्‍याएका छन्। 

विवाद ३ 
बोर्डमा पुगेपछि उनी फिल्म ‘प्रकाश’को विवादमा मुछिए। उनले यो फिल्म असफल बनाउन लागिपरेको आरोप खेप्नुपर्‍यो। प्रकाश टिमले उनलाई फिल्म असफल बनाउन उपयुक्त शो नदिएको तथा थोरै शो दिएको आरोप लगायो। भुवन केसीका छोरा अनमोल केसीका प्रतिस्पर्धी नायकका रुपमा हेरिएको प्रदीप खड्का अभिनित फिल्म सफल हुँदा छोराको करिअरमा धक्का लाग्ला भनेर भुवनले प्रकाशलाई असफल बनाउन खोजेको दाबी गरियो। त्यसताका सबैतिरबाट उनको चर्को विरोध भयो। 

विवाद ४ 
भुवन केसी अर्को फिल्म ‘प्रेमगीत ३’ को विवादमा पनि मुछिए। यो फिल्मको हिन्दी भर्सन सम्बन्धमा गरेको निर्णयले उनको चौतर्फी आलोचना भयो। फिल्म प्रदर्शनमा बोर्डले रोक लगाएको देखि शोमा समेत कन्ट्रोल गरिएकोसम्मका विषयमा उनीविरुद्ध निर्माता सन्तोष सेनले विद्रोह नै गरे। चौतर्फी आलोचनापछि हिन्दी डब भए पनि फिल्म नेपाली नै भएको भन्दै समस्या समाधान गरिएको थियो। 

विवाद ५ 
हालै कतारमा सम्पन्न विश्वकप फुटबलको समय पनि केसी विवादमा तानिए। पहिले हलमा विश्वकप देखाउन अनुमति दिएर पछि देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी विवादमा परे। विश्वकप हलमा देखाउन बोर्डले बक्सअफिस कोडसमेत उपलब्ध गराएको थियो। उक्त कोड कर्मचारीको लापरबाही भन्दै रोक लगाइएको थियो। जसको विरोध चलचित्र प्रदर्शकले खुलेरै गरेका थिए। 

विवाद ६ 
केही दिनअघि मात्र पनि केसी फिल्म रिलिजका लागि ७ दिनअगाडि सेन्सर गरिसक्नुपर्ने नियम लगाएर विवादमा परे। उनको यो निर्णयविरुद्ध हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघले राष्ट्रिय भेला गर्दै चरणबद्ध आन्दोलन घोषणासमेत गरेको थियो। विरोध चर्किंदै जाँदा केसीले बोर्ड बैठकबाट ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियम संशोधन गर्दै ४ दिन बनाएपछि चलचित्र संघले विरोधका कार्यक्रम फिर्ता लियो। ७ दिन अगाडि सेन्सर नियमको चलचित्र संघबाहेक चलचित्र क्षेत्रका संघ/संस्थाले समर्थन गरेपछि भुवन पछि हटेका थिए।

विवाद ७ 
यसपछि चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री पूजा शर्माको नियुक्ति विषयमा केसी विवादमा परेका छन्। बलात्कार आरोपित पल शाहका पक्षमा पटकपटक उभिएर पीडित नाबालिगलाई थप पीडा दिने अभिनेत्रीलाई महिला चलचित्रकर्मी माथि हुनसक्ने लैङ्गिक हिंसा, शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा नियुक्ति गरेको भन्दै भुवनको चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .