नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को घोषणा नीता ढुंगाना र हरिहर अधिकारीको विवाहअघि नै भएको हो। एक वर्षअघि सँगै फिल्म बनाउने घोषणा गरेको यो जोडी त्यसपछि विवाह बन्धनमा बाँधियो। तर फिल्म छायांकनमा जान भने अझै सकेको छैन्।
छायांकन सुरु नभएपनि चर्चा भने निरन्तर छ। फिल्मका लागि हरेक साता जस्तो कलाकार अनुबन्धित भइरहेका छन्। अघिल्लो साता मात्रै पुरानी अभिनेत्री विपना थापालाई फिल्ममा अनुबन्धित गराएकी नीताले यो साता नयाँ पुस्ताकी गरिमा शर्मालाई भित्र्याएकी छिन्।
हप्तैपिच्छे अनुबन्धित भएका कलाकारको लामो सूची भैसक्यो। कलाकारको सूची हेरेर धेरैले नीता र हरिहरले कस्तो फिल्म बनाउन लागेका हुन् भनेर प्रश्न गरेका छन्। कतिले त चर्चाको लागि कलाकार अनुबन्धित गराएको तर फिल्म नबन्ने आशंका गर्न थालेका छन्।
फिल्म निर्देशकमा अनुबन्धित भएका चन्द्र पन्तले भने फिल्म चाडैँ नै छायांकनमा जाने बताएका छन्। भारतबाट फिल्म छायांकन सुरु हुने बताइएको छ।
फिल्ममा नीता र हरिहरले शिर्ष भूमिका निर्वाह गर्ने छन्। उनीहरुलाई केही स्वदेशी तथा केही विदेशी कलाकारले साथ दिनेछन्।
फिल्ममा विपना थापा, गरिमा शर्मा, सरोज खनाल, रविन्द्र झा लगायतका कलाकारले अभिनय गर्ने छन्। फिल्मकोे छायांकन भारतको हैदराबादमा अवस्थित रामोजी स्टुडियोमा गर्ने तयारी छ।
नीताले यस अघि पनि ‘माया’ नामको फिल्म बनाउने घोषणा गरेकी थिइन। तर उक्त फिल्म घोषणामै सिमित रह्यो। त्यसैले पनि धेरैले ‘ह्रस्व दीर्घ’ बन्नेमा आशंका गरिरहेका छन्।
Shares
प्रतिक्रिया