कलाकार दीपाश्री निरौला तथा दीपकराज गिरीको टिमबाट जितु नेपाल बाहिर परेको खबर सबैलाई थाहा छ। कलाकारितामा संघर्षको चरणदेखि सहकार्य गरिरहेको यो टिम सानो विवादले फुट्यो। दीपक–दीपाका हरेक प्रोजेक्टमा अटाउने जितु नयाँ प्रोजेक्टमा छैनन्।
टिम टुटेपछि लामो समय उनीहरुले भेटघाट पनि गरेनन्। पछिल्लो समय भने उनीहरुसँगै रहेको, टिम नटुटेको पुष्टि गर्ने खालका विभिन्न गतिविधि गरिरहेका हुन्छन्। तथापि अझै पनि दीपक–दीपाको टिममा जितु अटाउन सकेका छैनन्।
मंगलबार साँझ जितुले शीर्ष भूमिकामा रहेर अभिनय गरेको फिल्म ‘ह्यारीकी प्यारी’को प्रिमियर सम्पन्न भयो। प्रिमियरमा पुगेका दीपक–दीपा निकै भावुक देखिए। दीपाले त आँसु नै झारिन्। प्रिमियरमा उपस्थित दर्शकले टिम नफुटाउन सुझाव दिँदा जितु मज्जाले हाँसेका छन्। तर दीपक–दीपा भने मौन बसे।
फिल्म हेरेपछि दीपकराजले जितुले जे गरे पनि आफूलाई राम्रो लाग्ने बताए। उनले फिल्म चलचित्र राम्रो रहेको बताएका थिए। दीपाश्रीले प्रतिक्रिया दिँदा जितु पनि भावुक बनेका थिए। उनीहरुको यो भावुकता हेरेर धेरैले पुरानो पिरती सम्झिएको प्रतिक्रिया दिएका छन्।
फिल्मको प्रिमियरमा पुगेका अन्य कलाकारले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। फिल्ममा जितुसँगै साम्राज्ञी राज्यलक्ष्मी शाहले शीर्ष भूमिकामा अभिनय गरेकी छन्।
Shares
प्रतिक्रिया