ad ad

कला


क्यान्सर भएपछि अब मर्छु भन्ने लाग्थ्यो, अधुरा सपना सम्झेर निसासिन्थेँ : देविका बन्दना (भिडिओ)

क्यान्सर भएपछि अब मर्छु भन्ने लाग्थ्यो, अधुरा सपना सम्झेर निसासिन्थेँ : देविका बन्दना (भिडिओ)

गायिका देविका क्यान्सरसँग जितेको कथा लिएर आएकी छन् (फोटो/भिडिओ : सरोज नेपाल )


राधिका अधिकारी
असार ९, २०८० शनिबार ९:१३, काठमाडौँ

यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु-जित्नेको हाँसो

मेरो छैन केही हजुरलाई गुनासो

गायिका देविका वन्दनाले करिअरको सुरुवाततिरै गाएको यो गीत निकै लोकप्रिय भयो। जीवनमा उतारचढाव झेलिरहेकाहरुले यसलाई आफ्नै गीत ठाने। यादव खरेलको शब्द तथा शम्भुजित बाँस्कोटाले संगीत गरेको यो गीतको अंश कुनैदिन आफ्नै जीवनसँग मेल खाला भन्ने देविकालाई थाहा थिएन। तर, त्यस्तै भयो। कुनै समय मृत्युसँग संघर्ष गरेकी देविका हिजोआज जीवनको त्यही कालखण्डको भोगाइ अक्षरमा उतारेर ‘जित्नेको हाँसो’ शीर्षकको पुस्तक झोलामा बोकेर हिँडेकी छन्।

विश्व कोरोना महामारीसँग जुधिरहेको थियो। नेपालमा पनि पहिलो पटक लकडाउन घोषणा भएको थियो। सर्वत्र भाइरसको त्रास फैलिरहेका बेला देविकाको स्तनमा सानो गिर्खा देखियो। त्यो गिर्खा बिस्तारै दुखाइमा परिणत भयो। उनले सुरुमा यो दुखाइ अरुलाई सुनाइनन्। आफैँ मेडिकल पुगिन्, दुखाइ कम गर्ने औषधि खाइन् र ठिकठाक छु भनेर अभिनय गरिरहिन्। दुखाइ सहेरै देविकाले जुममार्फत ‘एकल गायन साँझ’ सम्पन्न गरिन्। त्यतिबेलासम्म कोरोनाका कारण सबैकुरा भर्चुअल दुनियाँमा प्रवेश गरिसकेको थियो। 

तर अभिनय र यथार्थबीच ठूलो अन्तर थियो। एकदिन उनका श्रीमानले जँचाउन आग्रह गरे। डा. मनोहरलाल श्रेष्ठसँग सल्लाह गर्दा उनले अर्का डाक्टर कपेन्द्र अमात्यकहाँ पठाए। देविकाको चेकअप भयो तर रिपोर्ट उनको हातमा दिइएन। उनका भिनाजुले रिपोर्ट घरमै लिएर आए र सरसर्ती हेर्दै भने, ‘तिमीलाई त क्यान्सर भएको रहेछ।’ देविका झस्किइन्। उनको मुखबाट ‘क्यान्सर...!’ शब्द मात्रै निस्कियो। लामो समय सन्नाटा छायो। त्यतिबेलाको आफ्नै अवस्था बताउने  शब्द अहिलेसम्म पनि उनीसँग छैन। डर, पीडा र भयलाई नाप्ने कुनै यन्त्र हुँदो हो त सबैभन्दा उच्च विन्दुको रेकर्ड मापन गथ्र्यो होला। सालीको अनुहारको पीडा र भय हेरिरहेका भिनाजुले भने, ‘अहिले यति धेरै सुविधा र उपचार छ तिमी किन डराइरहेकी छौँ?’

सजिलो कहाँ थियो र नसोचेको र नचाहेको स्वीकार गर्न। त्यही अनुसारको सोच र जीवनशैली बनाउन। त्यो समय देविकाको मनका थुप्रै उथलपुथल आए। भन्छिन्, ‘अब के गर्ने होला, यति ठूलो रोग लाग्यो मलाई। अब म मर्छु, मेरा त कति धेरै सपना अधुरै रहने भए। त्यही समय मुम्बईमा रेकर्ड भएको गीतको भिडियो बन्ने चरणमा थियो। त्यो पनि हेर्न नपाउने भएँ भन्ने भयो।’ 

उनी भित्रभित्रै चिच्याउँदै रोइन्, बाहिर ठिकै छ, उपचारपछि म पुरानै लयमा फर्किन्छुको भावमा प्रस्तुत भइन्। हुनु एकथरी र देखिनु अर्कोथरी, झन् कष्टकर थियो। तर जे भयो त्यसलाई स्वीकार गर्नुको अर्को विकल्प थिएन। देविकाले पनि स्वीकार गरिन् र उपचारमा जाने निर्णय गरिन्। 

उपचारका क्रममा पनि कहाँ जाने भन्ने विषयमा लामै बहस भयो। कतिले अमेरिका, भारत जाने सल्लाह दिइरहेका थिए। तर, उनले स्वदेशमै उपचार गराउने निर्णय गरिन्। डा. कपेन्द्र अमात्यले उनलाई हिम्मत दिए। भने, ‘तपाईंको म सजिलोसँग उपचार गराएर ठिक बनाउँछु।’ भनेको जस्तो सजिलो थिएन क्यान्सरको उपचार प्रक्रिया। केमो दिन थालेपछिको दुखाइ लभगभ ४ दिनसम्म रहन्थ्यो। शरीसँगै उनको मन दुख्यो। उपचारका सुरुवाती दिनमा देविकाले कयौँ पटक अब म मर्दै छु भनेर सोचिन्। भन्छिन्, ‘त्यो समय मृत्युको भयले भन्दा जीवनका अधुरा सपना घाँटीसम्म आउँथे, म निस्सासिन्थेँ।।’

भिडिओ

चार पटकको केमो थेरापीपछि उनको शरीरका रौँ झर्न थाले। छालाले आफ्नो रंग फेर्यो। हात–खुट्टाका नङ काला र कोमल भए। सामान्य जीवन बाँचिरहेकी देविकालाई यो असामान्य समय पार गर्न त्यति सहज थिएन। क्यान्सरका कारण ज्यान गुमाएकाहरुको अनुहार झल्झली सम्झिन्थिन्। ऐना हेर्थिन् र आफ्नै रुप हेरेर डराउँथिन्। त्यही समय टिकटकमा कपाल हटाइदिने एप आयो। कपाल भएका धेरैले त्यही एपको प्रयोग गरेर मुडुलो टाउकाको टिकटक बनाए। मुडुलो टाउकोमा टिकटक बनाइरहेका ती युवतीहरु सुन्दर देखिन्थे। देविकालाई रमाइलो लाग्न थाल्यो। थुप्रै सेलेब्रिेटीहरुले पनि यो एपसँग रमाउँदै टिकटक बनाए। देविकालाई लाग्यो, ‘कपाल नहुँदा पनि त मान्छे सुन्दर देखिँदो रहेछ। उपचारको एक चरण पार गरेपछि पुनः कपाल आइहाल्छ। अहिले यही लुक्ससँग रमाउँछु।’ उनले पनि टिकटक बनाइन्। 

देविकालाई शरीरको दुखाइ बिर्सिनु थियो। दिमागबाट मृत्युको भय हटाउनु थियो। सबैभन्दा ठूलो कुरा यो असहज समयलाई जित्नु थियो र लेख्नु थियो प्रेरणाको कथा। त्यसैले उनले केम गरिरहेका बेला पनि गीत गाउन छाडिनन्। सार्वजनिक कार्यक्रममा जान, अवार्ड समारोहमा सहभागी हुन छाडिनन्। बालखैमा रंग भर्दा भर्दै छोडेका चित्रहरुमा पुनः रंग भर्न थालिन्। सकेको आफूलाई व्यस्त बनाइन्। दुखाइ भुल्नभन्दा गाह्रो थियो हरेक दिन स्टुडियोमा, सार्वजनिक कार्यक्रममा, बाटोमा भेटिने आफन्तसँग क्यान्सरले फेरिदिएको रंगको कथा लुकाउन। 

उनका खुट्टाका नङ कमजोर भएका थिए अनि काला पनि। क्लोज सुज लगाउँदा औँलाका टुप्पाको दुखाइको चस्का मुटुमा पुग्थ्यो। चप्पल लगाउँदा कालो रंग देखिन्थ्यो। त्यो समय उनले एक जोर जुक्तामा गुजारिन। कालो रंगको त्यो जुत्ता बाहिर कार्यक्रममा जाँदा देविकाले निकै वर्ष पहिले किनेकी थिइन। पञ्जा, मास्क र चस्मामा निस्किने देविकाले टाउकोमा नक्कली कपाल लगाइन्। त्यही पनि सधैँ पञ्जा किन, ड्रेस चेन्ज तर जुत्ता किन एउटै भनेर प्रश्न आउँथे। उनी मुस्कुराउँदै भन्थिन्, ‘कोरोनाबाट जोगिन र सजिलो भएर।’

देविकाले क्यान्सर जित्ने संघर्ष गरिरहदा उनकी साथी शोभा केसीले कोरोनासँग हारिन। यो कुराले देविकालाई झन् धेरै विक्षिप्त बनायो। बेलाबेला लाग्थ्यो, ‘मैले आफ्नाहरुबाट रोग लुकाएर आफ्नैमाथि अन्याय गरिरहेकी त छैन।’ सबैभन्दा धेरै उनकै समकालीन गायिका कुन्ती मोक्तानलाई भेट्दा हुन्थ्यो। कुन्तीलाई देविका भाउजू भन्छिन्। देविकाले कुन्तीसँग जीवनका थुप्रै सुख–दुःख साटेकी छिन्। जीवनका थुप्रै अध्याय कुन्तीकै सल्लाह अनुसार अगाडि बढाएकी छिन्। उनैसँग जीवनको सबैभन्दा कठिन समय लुकाउनु देविकाका लागि कष्टको अर्को पहाड थियो। आफ्नो दुखाइ भनेर कुन्तीलाई पनि दुखाउने हिम्मत पनि थिएन। त्यो क्षण सम्झदै देविका भन्छिन्, ‘कुनबेला लाग्थ्यो, जान्छु र सबैकुरा भन्छु भाउजूलाई। फेरि उहाँ दुःखी हुनुहुन्छ भन्ने भयले त्रसित हुन्थेँ। म त रोगलाई जितेर उहाँसँग खुसी बाँड्न चाहन्थेँ।’ 

३ चरणको केमोपछि देविकाले सोचिन्, ‘यो समय मैले अक्षरमा उतार्नु पर्छ। मेरो क्यान्सरसँगको लडाइँको कथा अरुका लागि प्रेरणा बन्न सक्छ।’ सोचजस्तो सजिलो जीवन थिएन। यसैपनि देविका लेखिरहने मान्छे होइनन्। आफ्नै कथा पनि सुन्दर वाक्य संयोजन गरेर लेख्न उनलाई गाह्रो थियो। फेरि देविकाले आफूलाई क्यान्सर भएको कुरा परिवारका सीमित मानिसबाहेक अरुलाई थाहै दिएकी थिइनन्। त्यसैले हरकसैलाई लेखिदिनु भन्दा पनि क्यान्सरको खबर बाहिर फैलेला र आफन्त दुख्लान् भन्ने पीर थियो। त्यसैले उनले आफ्नो आत्मकथा लेख्नका लागि बुटवलका चिरन बराललाई रोजिन्। हरेक दिनका घटनाक्रम देविका चिरनलाई सुनाउँथिन्। चिरन डायरीमा टिपोट गर्थे र त्यसलाई आकार दिन्थे। अन्ततः त्यो किताब ‘जित्नेको हाँसो’ शीर्षकमा बजारमा आयो।  

किताब सार्वजनिक भएसँगै उनको क्यान्सर कथा पनि सार्वजनिक भयो। यो कथा पढेर धेरैले भनिरहेका छन्, ‘मान्छे हुनु त दिदी जस्तो।’ देविका भन्छिन् ‘हरेक मान्छेले आफ्नै हिम्मतको कथा लेख्न सक्छ। जीवन एउटा सुन्दर संघर्ष हो। हरेक मानिसले जीवनको विविध कालखण्डमा आफ्नै खाले सुन्दर संघर्ष गरेका हुन्छन्। क्यान्सरसँगको जितको कथा मात्रै होइन, जीवनका थुप्रै जितका कथा लेख्न र भन्न सक्यो भने अरुका लागि प्रेरणा बन्न सक्छ। तर त्यो कथा भनिनु पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .