ad ad

कला


‘महानगर’ प्रदर्शन मिति तोकियो

‘काठमाडौंमा बाहिरिया भएर बाँच्नु र सघर्ष गर्नुको आफ्नै भोगाइ छ’
‘महानगर’ प्रदर्शन मिति तोकियो

नेपालखबर
साउन १०, २०८० बुधबार ११:३५, काठमाडौँ

नेपाली फिल्म ‘महानगर’ले प्रदर्शन मिति तय गरेको छ। यो फिल्म भदौ ८ गतेदेखि देशभर प्रदर्शन गरिने भएको हो। 

एक साँझ दुई अपरिचित व्यक्तिको अनायाश हुने भेट र त्यसपछिका घटनाक्रमको कथामा बनेको यो फिल्ममा कर्मा र मेनुका प्रधानले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्म मोहन राईले निर्देशन गरेका हुन्। 

सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यो फिल्म अमेरिकाको बु्रकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङटन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभललगायत थुप्रै फिल्म फेस्टिभलमा छनोट भइसकेको छ। 

यो फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको छ भने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो।

निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रा पछि घरेलु प्रदर्शन गर्न लागेको बताएका छन्। फिल्मले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने राईको भनाइ छ। 

‘महानगरको मुख्य पात्रझैँ नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौँ आएको थिएँ। काठमाडौँमा बाहिरिया भएर बाँच्नु र सघर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ। मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो। तर खासमा यो फिल्म ‘ह्युमन कनेक्सन’को कथा हो’, राईले भने।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सनसँगको सहकार्यमा मिडलवे फिल्मस्‌ले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, परिक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासँगमको संगीत छ। फिल्मका कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने क्रियटिभ निर्माता नवनिधि दाहाल छन्। फिल्ममा अनोज पाण्डे, सोबिता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .