ad ad

कला


प्रेमकथाको आवरणमा घृणा पस्कने ‘गदर-२’ (ट्रेलरसहित)

प्रेमकथाको आवरणमा घृणा पस्कने ‘गदर-२’ (ट्रेलरसहित)

जेवी पुन मगर
भदौ १, २०८० शुक्रबार ८:४०, काठमाडौँ

रिलिज भएको ६ दिनमै ३ सय करोड भारुको कारोबार गरेर २२ वर्षअघिको हिट फिल्म गदर– एक प्रेम कथाको सिक्वेल ‘गदर–२‘ ले फेरि प्रमाणित गरेको छ– भारतीय समाज अझै पनि भारत–पाकिस्तान विभाजनको त्रासदीबाट मुक्त भैसकेको रहेनछ। त्यसैले लामो कालखण्डदेखि पाकिस्तान र हिन्दु–मुसलमान भावनालाई क्यास गर्दै ‘क्यास’ कमाइरहेका अनिल शर्मालाई यसपालि पनि गदर–२ ले राम्रो कमाइ गरिदिएको छ। सन् २०१४ मा भारतीय जनता पार्टी सरकारमा आएपछि भारतमा रहेका स्वतन्त्र चिन्तक मुसलमानहरुलाई ‘पाकिस्तान जा’ भन्दै आक्रमण गरिरहेका कट्टर हिन्दुवादी संगठनहरुले भारतीय समाजमा घृणाको राजनीतिलाई निकै चर्काइदिएको समयमा यो सिनेमा ल्याइएको छ। त्यसैले होला- भाजपाका सांसद भइसकेका राजनीतिज्ञ सनी देवललाई पाकिस्तान भूमिमै गएर त्यहाँको सरकारसँग मुढेबलका आधारमा लडेको देखाइएको सिनेमाले राम्रो पैसा बटुलिरहेको छ। 

राष्ट्रवादी कथालाई आधार बनाई सिनेचित्र कोर्ने निर्माता तथा निर्देशक अनिल शर्माको गदर–२ ले यसपालिपनि गदर–एक प्रेम कथामा झैँ भारत-पाकिस्तान विभाजनको घाउलाई नै कोट्याएको छ। पहिलो भागमा १९४७ को भारत विभाजन भई पाकिस्तान बनेको समयलाई आधार बनाइएको छ भने गदर–२ को कथा १९७१ मा भारत–पाकिस्तानबीच चलेको ‘एङ्लोवार’बारे छ। भारतमा हिन्दुत्व राष्ट्रवाद चर्किएको समय भएर होला- पाकिस्तानलाई सत्तोसराप गरी बनाइएको गदर–२ लाई भारतीय दर्शकले निकै समर्थन गरिरहेको बताइएको छ।

हिन्दी शब्द गदरको नेपाली अर्थ हुन्छ- विद्रोह। गदरको पहिलो अध्याय हेरेको सबैलाई थाहा छ- भारतबाट अङ्ग्रेजराज सकिएलगत्तै हिन्दु र मुस्लिम समुदायबीच चर्किएको द्वन्द्वका कारण हजारौं मान्छे मारिन्छन्, लाखौँ अङ्गभङ्ग र विस्थापित हुन्छन्। घाउ कति बल्झिन्छ भने मुसलमान बस्ने छुट्टै देश पाकिस्तान बन्छ। त्यस्तो विखण्डनको आगोमा एकजना हिन्दुस्तानी सिख युवा (ट्रक ड्राइभरको रोलमा सनी देवल) पाकिस्तानमा बस्न पुगेकी मुस्लिम युवती (अमिशा पटेल) सँग प्रेममा पर्छन्। ऊ आफ्नो प्रेमिका  भेट्न दुई देशको राजनीतिक सीमारेखा छलेर पाकिस्तान पुग्छ र ७ वर्षीय छोरासहित श्रीमतीलाई हिन्दुस्तान लिएर फर्किन्छ। 

गदर–२ मा यही कथालाई अगाडि बढाइएको छ। त्यतिबेलाको ७ वर्षीय छोरा अहिले लक्का जवान भइसकेको छ। सनीले ट्रकको ड्राइभरी गरेर छोरालाई शिक्षादिक्षा दिइरहेका छन्। यत्तिकैमा फेरि पाकिस्तान–भारतबीच ९१९७१ ० लडाइँ चल्छ। देशभित्र घुसेर आफ्ना सैन्य जवानलाई मारी फर्किएका सनीसँग बदला लिन आतुर पाकिस्तानी जर्नेल (मनिष बाधवा) सँग सनीको जम्काभेट हुन्छ। 

सनी पास्तिानी सेनाको नियन्त्रणमा परेको सूचनाका आधारमा छोरा (उत्कर्ष शर्मा) २२ वर्षअघि बाबाकै स्टाइलमा पाकिस्तान छिर्छन् र उनको खोजतलास सुरु गर्छन्। छोरालाई थाहा छैन- बाबा सनी पाकिस्तानी सेनाको नियन्त्रणमा परेकै छैनन् भन्ने कुरा। खोजीका क्रममा बाबुलाई लोभ्याएझैँ छोरा उत्कर्षलाई पनि पाकिस्तानी युवती (सिमरत कौर रन्धावा) ले प्रेम-बन्धनमा पार्छिन्। त्यसैक्रममा उत्कर्ष पाकिस्तानी सेनाको कब्जामा पर्छन्। उनलाई छुटाउन सनी २२ वर्षपछि फेरि पाकिस्तान जान्छन् र पहिलाझैँ सबैलाई सोत्तर पारेर छोरा र बुहारी लिई स्वदेश फर्किन्छन्। कथा यत्ति हो।

यसभित्र सनी स्टाइलको भरमार मारधाड छ। राष्ट्रवादको परम्परागत प्रवचन छ। हिन्दु– मुसलमान विभाजनको घाउमा एसिड छर्ने मरमसला प्रशस्त छन्। बदलिँदो राजनीतिक परिवेशमा केही तत्त्व पनि थपिएका छन्। जस्तो : अघिल्लो गदरमा हिन्दुस्तानी हिरो पाकिस्तानमा गई उपद्रव मच्याउँथ्यो भने यसपालिको गदरमा हिन्दु हिन्दुस्तानी मुस्लिम पाकिस्तानमा गई आफ्नो सौर्य प्रदर्शन गर्दछ। 

उमेरका कारण तरोताजा नदेखिए पनि नब्बेको दशकको हाम्रो पुस्तालाई सनी र अमिशाले पुरानो दिन ताजा गराइदिन्छन्। प्रभावकारिताका दृष्टिले पाकिस्तानी जर्नेलको रोलमा मनीष बाधवा दमदार देखिएका छन् भने पाकिस्तानी मुस्लिम प्रेमिकाको रोलमा सिमरत कौर रन्धावा आकर्षक देखिएकी छन्। उत्कर्ष आशलाग्दा छन्। पहिलो भागमा रहेका अमरिश पुरीलगायत केही कलाकार बितिसकेकाले त्यहीबमोजिम पटकथा लेखिएका छन्। 

तत्कालीन समयका एक्सन हिरो धर्मेन्द्रलाई लिई राष्ट्रवादी सिनेमा हुकुमत (१९८७) , ऐलान–ए–जंग (१९८९) , फरिस्ते (१९९१) तहलका (१९९२) र पुलिसवाला गुण्डा (१९९५) बनाएका यसका निर्माता तथा निर्देशक शर्माले त्यसपछिको राष्ट्रवादी प्लट गदर– एक प्रेम कथा (सन् २००१) मा धर्मेन्द्रका जेठा छोरा सन्नी देवललाई केन्द्रिय भूमिका दिएका थिए, जुन सिनेमाले त्यतिबेला राम्रो व्यापार गरेको थियो। 

त्यसयता शर्माले सन्नीको साथ छाडेका छैनन्। गदरपछि भारत–पाकिस्तान द्वन्द्वका विषयमा सन् २००३ मा बनेको ‘दि हिरो : लबस्टोरी अफ स्पाई’ मा पनि उनले  सनीलाई नै पाकिस्तानबाट भारत छिर्ने आतकंवादी समात्ने जासुस बनाएर पेस गरेका थिए। यो राष्ट्रवादी मसला त्यति नबिकेपछि उनले सनीका भाई बबी देवलमा आँखा लगाए। बबी अभिनित ‘अब तुम्हारे हवाले वतन साथियों’ (सन २००४० र ‘अपने’ (सन् २००७) मा लगानी गरे। यी दुवै सिनेमा त्यति नजमेपछि अनिल फेरि सनीतिरै फर्किए र सन् २०१३ मा ‘सिंह साब दि ग्रेट’ बनाए। यो पनि खासै चलेन। त्यसपछि शर्माले गदर–एक प्रेमकथामा सनीको छोराको रोलमा देखिएका आफ्ना छोरा उत्कर्ष शर्मालाई नायक बनाई सन् २०१८ मा ‘जिनियस’ सिनेमा लिएर आए। समीक्षकहरुले राम्रो रेटिङ दिएका यो सिनेमाले पनि त्यति राम्रो व्यापार गरेन। पाँच वर्ष चुपचाप देखिएका शर्मा फेरि सनी देवलका साथ २२ वर्षपछि गदर सिक्वेलसहित हाजिर भए, जसले धूमधाम व्यापार गरिरहेको छ। 

रिमिक्स गरिएका पुराना गीत सामाजिक सञ्जालमा भाइरल भइसकेका छन्। नयाँ थपिएको कब्बाली पनि कर्णप्रिय छ। सिनेमा अन्तरधार्मिक र अन्तर्देशीय प्रेमकथामा आधारित भए पनि कथाप्लट मैले माथि भनेझैँ घृणा र राष्ट्रवादको लेपन छ। कथा भारतीय बहुसंख्यक हिन्दु आस्थावान्‌हरुलाई ध्यानमा राखेर लेखिएकाले नायकलाई भाग–१ मा झैँ यसमा पनि अर्काको देशमा गई सबैलाई सखाप पारेको अतिरञ्जना चित्रण गरिएको छ। आफ्नो देशमा मुसलमान युवाहरुले हिन्दु युवतीलाई ‘डेट’ गरेको निहुँमा ढुंगाले हानीहानी हत्या गर्ने ‘हत्यारा’हरुलाई संरक्षण दिने र लव जेहाडका नाममा मुसलमान युवाहरुविरुद्ध आक्रमण गर्न उक्साउने  उत्तरप्रदेशका अतिवादी मुख्यमन्त्री जस्ताहरुको घृणाबाट ध्यान मोड्न बनाइएको राजनीतिक सिनेमा हो यो।  

सामाजिक सञ्जालबाट जोडिएकी पकिस्तानी महिला आफ्नो भारतीय प्रेमीसँग घरजम गर्न लालाबालासहित आएको प्रकरणलाई उत्सवका रुपमा ‘सेलिब्रेट’ गरिरहेको समयमा गदर–२ रिलिज गरिएको छ। आउँदो सालको चुनावलाई केन्द्रमा राखी बनाइएको गदर–२ राष्ट्रवाद भजाउन माहिर शर्माले स्वतन्त्रता दिवसको दिन रिलिज गरेका छन्। केही समययता बलिउडका केही सिनेमेकर सरकारको प्रचारतन्त्रजस्तो भएको र सरकारको गल्ती ढाकछोप गर्न प्रोपोगान्डा सिनेमा तयार पारिरहेको आरोप खेपिरहेका बेला गदर–२ पनि थपिएको छ। 

यो भयो भारतीय दर्शकका कुरा। तपाईंले चाहिँ यो सिनेमा हेरेपछि के सोच्नुभयो? हेर्नु भएको छैन भने भारतीय सिनेमेकरले तथाकथित प्रेमको नाममा आफ्नो ‘दुश्मन देश’ मा गई प्रेमिका प्राप्त गर्न त्यो देशको सार्वभौमसत्तामा ‘चढेर‘ जे पनि गर्ने वाहियात तर्क ठीक लाग्छ भने यो सिनेमा हेर्न गए हुन्छ। तपाईंलाई हाम्रो मित्रराष्ट्र पाकिस्तानलाई निकृष्ट तहमा उडाइएको भारतीय फिल्ममेकरको प्रेमकथाको नाममा घृणा पस्कने तीन घण्टा लामो राष्ट्रवादी दृश्यचित्र हेर्न मन छ भने पनि यो सिनेमा तपाईंको छनोटमा पर्नसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .