थुप्रै हिट गीत दिइसकेका गायक सुजन चापागाईँ फिल्म बलिदानमा जोडिएका छन्।
सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि ‘बलिदान’ मा अनुबन्धित भएका हुन्।
यस फिल्मका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ। हर्कले फिल्मका गीत रचना गर्नेछन्। सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन्।
नेपालमा सम्भवतः पहिलो पटक यसरी एक टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो। यसअघि सुजनले केही चलचित्रको लागि फुटकर गीतहरूमा आवाज दिएता पनि पहिलो पटक सबै जिम्मेवारी लिएका हुन्।
लोकप्रिय गायक तथा सङ्गीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए। टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ।
निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने सुनाए। सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको 'बलिदान' को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ।
आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मका कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए।
आसुसेन प्रा.ली तथा सन्तोष सेनको प्रस्तुति रहेको चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन्।
Shares
प्रतिक्रिया