पछिल्लो एक दिनमा बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ निक्षेप रकम थपिएको छ।
पुस २८ गते बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ४ अर्ब निक्षेप थियो। जुन पुस २९ गते २६ अर्ब थपिएरसँगै बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३० अर्ब पुगेको छ।
यस्तै समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ।
पुस २८ गतेसम्म कूल ५० खर्ब ५९ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले पुस २९ गते नै २७ अर्ब रुपैयाँले कर्जा लगानी विस्तार गरेका हुन्।
कूल लगानीमध्ये ४४ खर्ब ९९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले लगानी गरेका छन् भने बाँकी ५ खर्ब ८७ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन्।
पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८०.२६ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका छन्। मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९० प्रतिशतको सीमा दिएको छ।
तथ्यांक हेर्दा अझैँ बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको देखिन्छ।
Shares
प्रतिक्रिया