ग्लोबल


डुबेको सिलिकन भ्याली बैंकबारे प्रश्नले मञ्च छाडेर हिँडे राष्ट्रपति बाइडेन

डुबेको सिलिकन भ्याली बैंकबारे प्रश्नले मञ्च छाडेर हिँडे राष्ट्रपति बाइडेन

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १३:२९, काठमाडौँ

सिलिकन भ्याली बैंक डुबेबपछि अमेरिकी अधिकारीहरुमाथि एकपछि अर्को प्रश्न उठिरहेको छ।

एकपछि अर्को बैंकमा संकट आइरहँदा अमेरिकी सरकारलाई टाउको दुखाइ बनेको छ। 

बैंक डुबेको विषयले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि छोडेको छैन। राष्ट्रपति बाइडेनलाई अमेरिकामा निम्तिएको बैंक संकटबारे सोमबार पत्रकारहरुले घेरेका छन्। 

पत्रकारहरुले बैंक डुबेकोबारेमा प्रश्न गरेपछि बाइडेन संकटमा परे। उनले यसबारे मुख त खोलेनन् नै एक कार्यक्रमको मञ्च नै छाडेर हिँडे।

यस घटनाको भिडिओ अहिले भाइरल भइरहेको छ। तर अमेरिकी राष्ट्रपतिले पत्रकरको प्रश्न सामना गर्न नसकेर मञ्च छाडेको यो पहिलो पटक होइन। 

यसअघि चिनियाँ जासुसी बेलुनलाई लिएर सोधिएको प्रश्नको पनि जवाफ नदिइ बाइडेन हिँडेका थिए। त्यसबेला आफैंले राखेको पत्रकार सम्मेलनमा घटनाबारे बताएपछि पत्रकारले एकपछि अर्को प्रश्न उठाइदिँदा जवाफ नै नदिइ सम्मेलनकै बीचमा उनी हिँडेका थिए। 

राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा, 'लचिलो बैंकिङ व्यवस्था बनाइराख्न ऐतिहासिक आर्थिक सुधारको रक्षा'बारेमा बोलिरहेका थिए। 

त्यसपछि सोमबार बाइडेनलाई पत्रकारले सोधे, 'के तपाईं सिलिकन भ्याली बैंक जस्तै संकट नआउने ग्यारेन्टी गर्न सक्नु हुन्छ?'

तर जो बाइडेन यस प्रश्नको जवाफ नै नदिइ मञ्च छाडेर हिँडिदिए। 

गत वर्ष जनवरीमा अमेरिकी राष्ट्रपति बाइडेनले लाइभ माइक्रोफोनमै पत्रकार प्रति अभद्र भाषा प्रयोग गरेका थिए। 

त्यसबेला ह्वाइट हाउसमा फोटो सेशनका क्रममा राष्ट्रपति बाइडेनले फक्स न्यूजका पत्रकारलाई लाइभ माइक्रोफोनमै 'सन अफ बिच' भनेका थिए। 

सोमवार मात्रै राष्ट्रपति बाइडेनले देशको आर्थिक प्रणाली सुरक्षित रहेको भनेका थिए। 'हामी दाबीका साथ भन्न सक्छौँ, सिलिकन भ्याली बैंक डुबेर हुने क्षतिको भारी कुनै करदातामाथि थोपर्ने छैनौँ', उनले भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .