मार्च ३० मा रामनवमीको दिन भएको विवाद सेलाउन नपाउँदै बिहारमा फेरि हिंसा भड्किएको छ।
रामनवमीका दिन बिहारको सासाराममा देवी दुर्गाको प्रतीमा सेलाउन लाग्दा दुई पक्षबीच झगडा भएको थियो। शनिबार राति बिहारका दुई अलग-अलग भाग सासाराम र बिहार शरीफमा फेरि हिंसा भड्किएको छ।
सासाराममा हिंसाबीच बम विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ११२ जनालाई गिरफ्तार गरेको छ।
प्रहरीले झडप रोक्न १२ राउन्ड गोली चलाएको थियो।
घाइतेको स्थानीय सदर अस्पतलामा उपचार भइरहेको छ।
हिंसा नरोकिएपछि स्थानीय प्रशासनले कतिपय क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
राज्यको अवस्था बुझ्न गृहमन्त्री अमित शाहले राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसँग फोन संवाद गरेका छन्।
उता केन्द्रीय मन्त्री गिरिराज सिंहले मुख्यमन्त्री नितीश कुमारको राजीनामा मागेका छन्। नितीश कुमारले हिंसाबारे आफूलाई थाहा नभएको भन्दै अभिव्यक्ति दिएकोमा किन मुख्यमन्त्री पदमा बसेको भनी उनले प्रश्न गरेका छन्। उनले तत्काल मुख्यमन्त्री नितीश कुमारले राजीनामा दिनुपर्ने माग गरेका छन्।
Shares
प्रतिक्रिया