ad ad

ग्लोबल


उत्तर प्रदेशका पूर्वसांसद अतिक र उनका भाइको प्रहरीकै घेराभित्र गोली हानी हत्या

दुई दिनअघि प्रहरीको आक्रमणमा मारिएका थिए छोरा
उत्तर प्रदेशका पूर्वसांसद अतिक र उनका भाइको प्रहरीकै घेराभित्र गोली हानी हत्या

नेपालखबर
बैशाख ३, २०८० आइतबार १०:२७, काठमाडौँ

उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको शनिबार राति प्रयागराजमा गोली हानी हत्या भएको छ।

प्रहरीले उनीहरूलाईलाई मेडिकल चेकअपका लागि अस्पताल लैजाँदै गर्दा तीन जनाले गोली प्रहार गरेका हुन्।

अतिक अहमद र अशरफ पूर्वविधायक राजु पालको हत्याको आरोपमा जेलमा थिए।

राजु पाल हत्याका साक्षी उमेश पाल हत्या प्रकरणमा सोधपुछका लागि उनलाई साबरमती कारागारबाट प्रयागराज ल्याइएको थियो। दुई दिनअघि (बिहीबार) उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले झाँसीमा भएको भिडन्तमा अतिक अहमदका छोरा असद अहमद र उनका सहयोगी गुलाम मोहम्मदलाई गोली हानी मारेको थियो।

शनिबार अतिक र उनका भाइ अशरफलाई चेकजाँचका लागि प्रहरीले प्रयागराजस्थित मोतीलिल नेहरू डिभिजनल अस्पताल लैजाँदै थियो। अस्पतालबाहिर जिप रोकेर प्रहरीले उनीहरूलाई बाहिर निकालेपछि सञ्चारकर्मीको भिड लागेको थियो। सञ्चारकर्मीले अतिक र उनका भाइलाई छोराको अन्तिम संस्कारमा नजानुको कारण सोधिरहेका थिए।

अतिकले भने, 'नलगेपछि कसरी जाने?' 

त्यसपछि असरफ भन्दै थिए, 'मुख्य कुरा यो हो कि गुड्डु मुस्लिम...' तर कुरा पूरा गर्न नपाउँदै एक आक्रमणकारीले उनको कन्चटमा पेस्तोल ताकेर गोली चलायो।

त्यसपछि आक्रमणकारीले अतिकलाई पनि निशाना बनाइ गोली चलाएको सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ। आक्रमण हुँदा दुवै भाइलाई  हतकडी लगाएको देख्न सकिन्छ।

हत्यापछि आक्रमणकारीले आत्मसमर्पण गरेका छन्।

प्रहरीको घेराभित्रै असरफ र अतिक मारिएपछि हत्यामा प्रहरीको पनि हात रहेको हुनसक्ने भन्दै आलोचना भइरहेको छ। प्रहरीसँगको मिलेमतोमै हत्या भएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .