ad ad

ग्लोबल


राजस्थान प्रवेश गर्‍यो बिपरजोय चक्रवात, मरुभूमिमा बाढी आयो

राजस्थान प्रवेश गर्‍यो बिपरजोय चक्रवात, मरुभूमिमा बाढी आयो

नेपालखबर
असार ३, २०८० आइतबार ११:१३, काठमाडौँ

बिपरजोय चक्रवात राजस्थान प्रवेश गरेको छ। 

पछिल्लो २४ घण्टामा बारमेर जिल्लाको चौहान क्षेत्रमा सबैभन्दा बढी पानी परेको छ। लगातारको वर्षाका कारण राजस्थानको मरुभूमिमा बाढी देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ड्याम, नदी र तलाउ भरिएका छन्।

अरब सागरमा आएको चक्रवात ‘बिपरजोय’को प्रभावका कारण आइतबार पनि राजस्थानका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ।

राजस्थानको बारमेर जिल्लाको चौहानमा अहिलेसम्म सबैभन्दा बढी १० इन्चसम्म वर्षा भएको छ। यसैगरी जालोरको रानीवाडामा ४ दशमलव ३ इन्च पानी परेको छ। जालोर, बारमेर र सिरोहीमा सबैभन्दा बढी वर्षा भइरहेको छ। यहाँ पानी जम्ने, बाढी आउने जस्ता अवस्था देखिएका छन्। एनडीआरएफ टोली सिवानमा तैनाथ छ। जालोरको रानीवाडामा सेनाको सहयोग लिइएको छ।

तीनवटै जिल्ला गुजरातसँग जोडिएका छन्।

लगातारको वर्षाका कारण चौहान शहर वरपरका पोखरी भरिएका छन्। चौहान सहरमा चारदेखि पाँच फिट पानी बगेको अवस्था छ। अर्कोतर्फ सुकुम्बासी बस्तीको अवस्था थप दयनीय छ। चौहानमा विगत १०–१२ घण्टादेखि परेको अविरल वर्षाका कारण घरघरमा पानी पसेको स्थानीयले बताएका छन्। घरमा राखिएका सामान भिजेका छन्, भाँडाकुँडा पानीमा तैरिरहेका छन्। यस्तो अवस्थामा मानिसहरु घरको माथिल्लो तला र छतमा शरण लिन बाध्य छन्।

मौसम विभागका अनुसार शनिबार साँझ ५ः३० बजेसम्म सिरोहीमा ३७ दशमलव ५ मिलिमिटर, जालोरमा ३६ मिलिमिटर, बारमेरमा ३३ दशमलव ६ मिलिमिटर, बिकानेरमा २६ दशमलव ६ मिलिमिटर, दाबोकमा १३ मिलिमिटर, डुङ्गारपुरमा १२ दशमलव ५ मिलिमिटर र जोधपुरमा १० दशमलव ५ मिलिमिटर वर्षा भएको छ। यस अवधिमा अन्य धेरै स्थानहरूमा पनि वर्षा भएको छ। विभागले बारमेर, जालोर र सिरोही जिल्लामा भारी वर्षाको चेतावनी (रेड अलर्ट) जारी गरेको छ।

प्रकोप व्यवस्थापन तथा राहत विभागका सचिव पीसी किशनले मौसम सम्बन्धी चेतावनी (रेड अलर्ट) लाई ध्यानमा राख्दै सम्बन्धित जिल्लामा तत्कालका लागि डियरनेस राहत शिविर स्थगित गरिएको बताए। चक्रवातका कारण १४ वटा रेल रद्द भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .