ad ad

ग्लोबल


अमेरिकी सीईओहरुलाई सीले भने : चीन अमेरिकाको साझेदार र साथी बन्न चाहन्छ

अमेरिकी सीईओहरुलाई सीले भने : चीन अमेरिकाको साझेदार र साथी बन्न चाहन्छ

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १५:४९,

बुधबार साँझ। सान फ्रान्सिस्कोस्थित ह्यात रिजेन्सी होटल। चिनियाँ राष्ट्रपति सी चिनफिङ सम्बोधन गर्दैछन्। भाषणमा उनको सन्देश थियो– चीन ठूलो बजार र एक मित्र हो। अमेरिकी सीईओ र व्यवसायीहरूले  उभिएर तालीको गडगडाहटका साथ स्वागत गर्छन्।

सीको भाषण सुन्न भेला भएकाहरूमा थिए, टेस्लाका इलोन मस्क, एप्पलका टिम कुक, फाइजरका अलबर्ट बर्ला। सबै विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा अझ धेरै विद्युतीय कार, आईफोन र औषधि बेच्न इच्छुक छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहुप्रतीक्षित शिखर बैठकमा दिन बिताएपछि आफ्नो सामु भेला भएका करिब तीन सय व्यवसाय प्रमुखहरूसँग भने, ‘चीन अति ठूलो अर्थतन्त्र र अति ठूलो बजार दुवै हो। १.४ अर्ब चिनियाँहरूको आधुनिकीकरण चीनले विश्वलाई दिएको ठूलो अवसर हो।’

‘चीन र अमेरिकाले राम्रो भविष्यका लागि मिलेर काम गर्न जरुरी छ,’ उनले थपे, ‘चीन अमेरिकाको साझेदार र साथी बन्न तयार छ।’

यस्तै भावना अमेरिकी व्यवसायीहरूमा पनि देखियो।

‘चीनमा रहेका शीर्ष २० अमेरिकी कम्पनीका प्रमुखहरू सबै त्यहाँ उपस्थित थिए,’ एक व्यवसायीले भने। 

तर, अमेरिका–चीन तनाव, महामारीपछि चीनको शिथिल अर्थतन्त्र र चीनको बढ्दो घरेलु सुरक्षा दबाबका कारण अमेरिकी लगानीकर्ताहरूले चिनियाँ बजारमा लगानी बढाउन सकेका छैनन्। 

यूएस–चाइना बिजनेस काउन्सिल र नेसनल कमिटी अन यूएस–चाइना रिलेसन्सले आयोजना गरेको सो भेलामा सी अमेरिकाप्रति नरम रूपमा प्रस्तुत भए।

‘अमेरिकाको हारको पक्षमा चीनले कहिल्यै बाजी लगाएको छैन, अमेरिकाको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन र अमेरिकालाई चुनौती दिने वा विस्थापित गर्ने उदेश्य राख्दैन। चीन विश्वस्त, खुला र समृद्ध अमेरिका देख्न चाहन्छ,’ सीले भने, ‘अमेरिकाले पनि शान्तिपूर्ण, स्थिर र समृद्ध चीनलाई स्वागत गर्नुपर्छ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .