ad ad

ग्लोबल


छत्तीसगढमा अन्तरजातीय प्रेमविवाह गरेको जोडीको भिडिओ भाइरल, भन्छन्- हाम्रो ज्यान खतरामा छ

छत्तीसगढमा अन्तरजातीय प्रेमविवाह गरेको जोडीको भिडिओ भाइरल, भन्छन्- हाम्रो ज्यान खतरामा छ

अन्तरजातीय प्रेमविवाह गरेको बताउने अञ्जली र अमन


नेपालखबर
मंसिर ३०, २०८० शनिबार २०:१७, काठमाडौँ

भारतको छत्तीसगढमा एक नवविवाहित जोडीको भिडिओ तीव्र गतिमा भाइरल भइरहेको छ। अन्तरजातीय विवाह गरेको दाबी गर्ने यो जोडीले भिडिओमा आफूहरू असुरक्षित रहेकाे बताएका छन्। 

बीबीसी हिन्दीका अनुसार कबिरधाम जिल्लाका प्रहरी उपरीक्षक डा अभिषेक पल्लभले यस विषयमा आफूहरूलाई अहिलेसम्म कसैले सम्पर्क नगरेको बताएका छन्। 

उनले भने, ‘केटी र केटा वयस्क छन्। यदि उनीहरू वा उनीहरूको परिवारका सदस्य वा भिडिओ बनाउने व्यक्तिले मलाई सम्पर्क गरे भने हामी नियमअनुसार एसडीएमसमक्ष उनीहरूको बयान गराइदिनेछौँ।’ 

भिडिओमा युवतीले आफूलाई अजय शर्मा र वन्दना शर्माकी छोरी अञ्जली शर्मा भएको बताएकी छन्। यस सम्बन्धमा अञ्जली शर्मा र उनका परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन नसकेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

भिडिओमा अञ्जलीले अमनकुमार कोस्लेसँग प्रेमविवाह गरेको बताएकी छन्। आफूहरू फरक जातका भएकाले परिवारले आफूलाई बिहेका लागि अनुमति नदिएको उल्लेख गरेकी छन्।

युवतीले भिडिओमा भनेकी छन्, ‘मलाई मेरो परिवारबाट धेरै धम्की आएको थियो- हामी तँलाई वा तेरो श्रीमान्‌को परिवारका सदस्यलाई मार्दिन्छौँ।’ 

अञ्जलीले आफू र पतिको परिवारलाई केही भयो भने आफूहरूको विवाहको विरोध गर्नेहरू जिम्मेवार हुने चेतावनी दिएकी छन्। 

उक्त भिडिओमा अञ्जलीले अगाडि भनेकी छन्, ‘म अमनसँग खुसी छु र भविष्यमा पनि खुसी रहनेछु। मेरो मानसिक अवस्था एकदम ठीक छ। यसअघि पनि हाम्रो सम्बन्धलाई बिगार्ने प्रयास गरिएको थियो। म वयस्क हुँ र आफ्नो निर्णय आफैँ गर्नसक्छु।’ 

अञ्जली शर्माले प्रशासन र परिवारका सदस्यहरूलाई अनुरोध गरेकी छन्, ‘मलाई दुःख नदिनुहोस्। मलाई शान्तिसँग बाँच्न दिनुहोस् र तपाईंहरू पनि शान्तिले बस्नुहोस्। म अब घर फर्किन चाहन्नँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .