सत्ता गठबन्धन र पार्टी केन्द्रको निर्णयविपरीत नेपाली कांग्रेस खोटाङले छुट्टै उम्मेदवारी दर्ता गराएको छ। केन्द्रले टिकट दिएका आफ्नै उम्मेदवारविरुद्ध पनि सभापति विष्णुकुमार राईको नेतृत्वमा जिल्लाले अर्का उम्मेदवार खडा गरेको छ।
गठबन्धनमा कांग्रेसले खोटाङमा एउटा मात्रै प्रदेश पाएको थियो। जसमा प्रदेश १ का महामन्त्री भूपेन्द्र राईलाई टिकट दिइएको थियो। तर उनीविरुद्ध कांग्रेसका पूर्व जिल्ला उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दिएका छन्। पोखरेल यसअघि स्थानीय तहको निर्वाचनमा प्रदेशबाट टिकट लिएर हेलिकोप्टरमा जिल्ला पुग्दा आफ्नै कार्यकर्ताबाट कुटिएका थिए। पछि केन्द्रले उनको टिकट खोसेर तीर्थराज भट्टराईलाई दिक्तेलको मेयर बनाएको थियो।
उनै पोखरेललाई अहिले जिल्ला नेतृत्वले महामन्त्री राईविरुद्ध अगाडि सारेको हो। यस्तै माओवादीको भागमा परेको संघमा कांग्रेसले पूर्व राज्यमन्त्री सर्वधन राईलाई अगाडि सारेको छ। एकीकृत समाजवादीको भागमा परेको प्रदेश क मा पूर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी दिएका छन्।
त्यसअघि गठबन्धनको निर्णय अनुसार संघमा माओवादीका रामकुमार राई र प्रदेशमा एकीकृत समाजवादीका बीरबलकाजी राईको उम्मेदवारी दर्ता भएको छ। जिल्लामा एक्लै चुनाव लड्न लागेका एमालेले भने संघमा विशाल भट्टराई र प्रदेश क मा पाँचकर्ण राई तथा ख मा रामप्रसाद दंगालको उम्मेदवारी दर्ता गरेको छ।
पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएपछि नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई हामीले किन आफ्नै नेतृत्वविरुद्ध उत्रिनुभएको भनेर सोधेका छौँः
आफ्नै प्रदेश महामन्त्रीविरुद्ध पनि उम्मेदवार उठाउनु भयो नि?
महामन्त्री प्रदेशमा सिफारिस भएको होइन। संघमा सिफारिस भएको हो। सिफारिस नभएको मान्छे आएपछि त्यस्तो भइहाल्छ नि।
अब तपाईंहरुलाई केन्द्रले कारबाही गर्ला नि त?
कारबाही भनेको के हो? साथीभाइको, कार्यकर्ताको, जनताको आवाज सुन्दैन त्यही हो कारबाही। तल्लो तहलाई आफ्नो अंग नसम्झिने त्यही हो कारबाही। तल्लो तहको आवाज नसुन्नु भनेको यो बुर्जुवा पार्टी जस्तो भयो क्या।
यसको मतलब अब जिल्लामा कांग्रेस विभाजित भएको हो?
कांग्रेस अब मजबुत भएर जान्छ। संगठन सुदृढ भएर जान्छ। अब यसले नयाँ इतिहास बनाउँछ।
यसअघि स्थानीय तहमा पनि तिनै दलहरुसँग मिलेर जानु भएको थियो। अहिले आएर एक्कासि गठबन्धन भत्काउनुपर्ने अवस्था कसरी आयो?
गठबन्धन भनेको के हो भने न्यायोचित सिट बाँडफाँट हुनुपर्छ। यहाँको मतभारलाई हेर्नु पर्यो। यहाँको वस्तुस्थितिलाई हेर्नु पर्यो। जसको ६ सय पनि मत छैन, त्यसलाई १३ हजार मत भएको पार्टीले बोक्नुपर्छ भन्ने छैन। गठबन्धन भनेको त्यहाँको वस्तुस्थिति अनुसार भए पो स्वीकार्न सकिन्छ त।
के भएको भए जिल्लामा गठबन्धन टुट्दैनथ्यो?
संघ कांग्रेसलाई दिएर दुवै प्रदेश अन्य दलले लिनु पर्थ्यो। कि संघ अन्य दलले लिए दुवै प्रदेश कांग्रेसलाई दिनु पर्थ्यो। त्यसो भएको भए व्यावहारिक हुन्थ्यो। सन्तुलित हुन्थ्यो। त्यसलाई हामीले न्यायोचित भन्थ्यौं।
आफ्नै प्रदेश महामन्त्रीविरुद्ध खडा गरेका उम्मेदवार पनि त अर्कै क्षेत्रका र जिल्लाबाट पहिले सिफारिस नभएका उम्मेदवार त हुन् नि होइन र?
त्यो हामीले गरेको निर्णय होइन, कार्यकर्ताले गरेको निर्णय हो। हामीले त्यसलाई कार्यान्वयन मात्रै गरेको हो। त्यो विष्णु राई सभापतिले मात्र गरेको निर्णय होइन। कार्यकर्ताले फ्लोरबाट पास गरेका हुन्।
कार्यकर्ताले त प्रदेश ख मा तपाईंलाई सिफारिस गरेका थिए। आफू चाहिँ किन पछि हट्नु भएको?
म पछि बिलकुल हटेको होइन। कार्यकर्ताले तिमी उठ भने उठ्नुपर्छ, कार्यकर्ताले तिमी उठ्ने होइन, सभापतिले कमाण्ड सम्हाल्नु पर्यो, आफैं उम्मेदवार भएर होइन अरु साथीहरुलाई मौका दिनु पर्यो भनेपछि मान्नुपर्छ।
प्रदेश महामन्त्रीसँग अब जिल्ला कार्यसमितिको सम्बन्ध सहकार्य टुट्यो?
प्रदेश महामन्त्रीसँग सम्बन्ध सहकार्य टुट्यो भन्ने कुरै छैन। केन्द्रीय सभापतिसँग सम्बन्ध टुट्यो, प्रदेश सभापतिसँग सम्बन्ध टुट्यो भन्ने कुरै छैन। यहाँको वस्तुस्थिति के हो भने कांग्रेसले भोट हाल्ने ठाउँ खोजे। भोट हाल्ने ठाउँ नपाउँदा सबै छटपटाए। त्यसकारण हामीले उनीहरुलाई मत हाल्ने अवसर दिएको हो।
तपाईंहरुको उम्मेदवारको पनि कांग्रेसको चुनाव चिन्ह रुख त रहँदैन नि?
चुनाव चिन्ह भएको भए किन यस्तो संघर्ष गर्नु पर्थ्यो। एउटा रुखलाई कसैले खल्तीमा हाल्यो के निजी सम्पत्ति बनाएर। त्यसकारण त्यो रुख सबै कांग्रेसको साझा चिन्ह हुनुपर्छ भन्ने लडाइँ हो यो। चुनाव चिन्ह रुख पाएको भए किन यस्तो बखेडा गर्नुपर्थ्यो।
अब केन्द्रको दबाब भोलिबाट थेग्न तयार हो कि फिर्ता लिने?
अब फिर्ता लिनुस् तपाईंहरुको माग संम्बोधन गर्न हामी तयार भयौं भन्यो भने लिन्छौं। यो इगोको लडाइँ होइन न्यायको लागि लडाइँ हो। कार्यकर्ताको शीर निहुरिन नदिनका लागि लडाइँ हो। केन्द्रको निर्णय अवज्ञा नै गरेर जान्छौं, हामीले जे गर्यौं ठिक गर्यौं त्यो होइन। कार्यकर्ताको माग अनुसार आफ्नो निर्णयलाई पुनर्विचार गर्छ, संशोधन गर्छ। यहाँको आवश्यकतालाई आत्मसात गर्यो भने हामी त छँदैछौं नि। हामीले कांग्रेस बिगार्न होइन मजबुत बनाउनका लागि गरेको हो।
तपाईंहरुका उम्मेदवार हेर्दा भूपेन्द्र राईलाई समर्थन गर्ने, अरु कायम राख्ने जस्तो पनि अनुमान गर्न सकिन्छ।
कसलाई समर्थन कसलाई नगर्ने भन्ने कुरै रहेन नि। यो त हामीले संगठन बचाउनका लागि हो। व्यक्तिको कुरा गौण हो। यो बागी भन्ने कुरा पनि होइन।
भोलि पार्टीले निर्णय सच्यायो भने पनि माओवादी र समाजवादीले सहयोग गरेनन् भने के गर्नुहुन्छ?
कसले सहयोग गर्छ कसले गर्दैन भन्ने कुरै होइन, हामीलाई जनताको सहयोग चाहिन्छ। हाम्रा कार्यकर्ताको साथ चाहिन्छ।
भनेको माओवादीको साथबिना पनि अगाडि बढ्न तयार हो?
सहयोग कहाँ गर्यो त हामीलाई। संघ पनि उनीहरुलाई दिनु पर्ने। प्रदेश पनि उनीहरुलाई दिनु पर्ने। २६ हजार मत प्राप्त गर्ने पार्टी एउटा प्रदेशमा खुम्चिनु पर्ने। त्यत्रो मत भएको पार्टीले अरुलाई सहयोग गर्दा कार्यकर्ता रोएनन्? हामीले कसका लागि राजनीति गरेको? कार्यकर्ताको बलमा न पार्टी उभिएको हो। कार्यकर्तालाई रुन बाध्य पारेर राजनीति गर्छ कोही?
भोलि केन्द्रले कारबाही गर्यो भने के गर्नुहुन्छ ?
कुन केन्द्र? जो केन्द्र फरियाबादमा चल्छ। शेरबहादुर देउवा आफ्नो परिवारलाई उठाउने। आफू पनि उठ्नु पर्ने। उनले त्याग देखाऊन् न। हामी पनि जस्तोसुकै त्याग गर्न तयार छौं। सत्ताको प्यास मेट्न मात्रै गरिएको गठबन्धनको रणनीतिबाट कार्यकर्ता सचेत हुनु परेको छ।
दुई प्रदेशमा उम्मेदवार पाए बाँकी फिर्ता गर्न तयार हुनुहुन्छ?
हामीले मागेकै त्यति हो। एउटा प्रदेश छ अर्को प्रदेश थपिदियोस्। किन फिर्ता नगर्नु? कार्यकर्ताले भोट हाल्ने ठाउँ पाएपछि हामीले लडिरहनु पर्छ र थोरै। विद्रोह नै गरिरहनु परेन नि।
त्यसोभए आफ्नै नेता भूपेन्द्र राईविरुद्ध किन उठाउनु भएको त?
भूपेन्द्र र ऊ भन्ने कुरै छैन। गठबन्धन पनि न्यायोचित हुनु पर्यो के। नेताको कुर्सी, नेताको सत्ता जोगाउन मात्रै गठबन्धनको नारा फुकेर गाउँगाउँका कार्यकर्तालाई बेबकुफ बनाउन हामी चाहँदैनौं। हामी त कांग्रेस जसरी पारदर्शी र लोकतान्त्रिक पार्टी हो त्यसैगरी हुनु पर्यो। नेताहरुले पनि त्याग देखाउनु पर्यो। कार्यकर्ताले मात्रै सधैं बलिको बोको बन्ने होइन, गठबन्धनको नाममा।
यसको असर त कांग्रेसले देशभर ब्यहोर्नु पर्ला नि त?
असरको कुरै होइन। संगठन बचाउनका लागि गरिएको हो। असर, प्रभाव भन्ने कुरै होइन। संगठन बचाउनका लागि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौं। भएको संगठन बचाउन र अझ बढाउन हाम्रो यो ऐतिहासिक लडाइँ हो। पूर्वदेखि पश्चिमसम्म जहाँ अन्यायमा परेका कांग्रेसहरु छन् उनीहरुले हाम्रो निर्णयलाई पछ्याउनेवाला छन्।
तपाईं त सभापति पनि हो, पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पनि होला नि?
पार्टीको जिम्मेवारी भनेको हामीले उठाएका उम्मेदवारलाई जिताउने जिम्मेवारी हो। केन्द्र भनेको हामीले शासक बनाउन खोजेको होइन। यसो नगरेको भए साथीहरु पलायन भएर जान्थे। कोही अर्को पार्टीमा जान्थे। कोही घरमा निदाएर बस्थे अहिले सबैमा उर्जा जागेको छ। अब हामीले भोट हाल्ने ठाउँ पायौं भनेर खुसी व्यक्त गरेका छन्। अब भोलिबाट हामी यी उम्मेदवारलाई जिताउन लाग्छौं। हसियाँ हथौडा र कलमलाई भोट माग्नु पर्ने अवस्थाबाट हामी मुक्त भयौं।
Shares
प्रतिक्रिया