नेकपा माओवादी केन्द्रले यसपटक काठमाडौं उपत्यकामा पाँच वटा निर्वाचन क्षेत्र पाएको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादीले पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। घर्ती दुई पटक समानुपातिक सांसद बनिसकेकी थिइन्। तर, यसपटक उनले प्रत्यक्षमा चुनाव लड्न काठमाडौं २ पाएकी छन्।
एमालेबाट २०७८ साउन ९ गते विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल आफूले जित्दै आएको यो क्षेत्र छाडेर रौतहट १ गएपछि काठमाडौं २ माओवादीले पाएको हो। २०६४ सालको पहिलो संविधान सभा चुनावमा सो क्षेत्रबाट माधव नेपाललाई हराएर माओवादीका तत्कालीन केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीले चुनाव जितेका थिए। तर, त्यसपछि माओवादी सो क्षेत्रमा कमजोर बन्दै गयो। रोल्पाकी स्थायी बासिन्दा घर्तीसँग कमजोर क्षेत्रमा उम्मेदवारी दिनुको कारण, त्यहाँको पछिल्लो सांगठनिक अवस्था लगायतका विषयमा नेपालखबरले गरेको वार्ता :
गठबन्धनका शीर्ष नेता नै उतारेर, सम्बोधन गराएर चुनावी माहोल बनाइ छाड्नुभयो होइन त?
यो खासमा हाम्रो निर्वाचन परिचालन घोषणा कार्यक्रम हो। हामी आज गठबन्धनमै भएको हुनाले गठबन्धनको मनोविज्ञान जे छ, त्यो सबै कार्यक्रम साझा गर्नुपर्छ। देशव्यापी साझा कार्यक्रमको घोषणा गर्न हिजोको कार्यक्रम भएको हो। मेरो आफ्नो निर्वाचन क्षेत्रमा पनि हामीबीचको साझा मनोविज्ञान बताउन कार्यक्रम गरेका हौं। उहाँहरुले गठबन्धनका मतदातालाई हामीबीचको सहकार्यबारे जानकारी दिनुभएको हो।
तर, माओवादी कमजोर भएको सो क्षेत्रमा आफ्नो चुनौती समाधान गर्न र माहोल बनाउन शीर्ष नेता गुहारेको पनि भन्छन् नि?
मेरो पार्टी, मेरो अध्यक्ष मात्र नभएर यो त गठबन्धनकै भएको हुनाले उहाँहरु तीनैजना शीर्ष नेताले निर्णय गरेर मलाई त्यहाँ पठाउनुभएको हो। उहाँहरुको जे निर्णय हो, त्यो लागू गर्न मात्र म गएको हुँ। त्यही भएर उहाँहरुले मेरो क्षेत्रमा आएर भन्नुभएको कुरालाई विविध अर्थ लगाउनु हुँदैन।
भिडिओ
२०६४ मा सो क्षेत्र माओवादीले जित्यो। तर, त्यसपछिका दुई वटा चुनाव हेर्दा सबैभन्दा कमजोर माओवादी नै देखिन्छ। पहिला जितेको, बलियो हुँदाहुँदै पनि समाजवादीले किन माओवादीलाई सो क्षेत्र छोडेको होला उसो भए?
यस्तो हो, अहिले त वाम–लोकतान्त्रिक गठबन्धन बनाएर हामी देशभर चुनावमा होमिएका छौँ। त्यो हुँदा साङ्गोपाङ्ग कहाँकहाँबाट कसको प्रतिनिधित्व बनाउँदा उपयुक्त हुन्छ भनेर छान्दै जाँदा काठमाडौं २ निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवारी दिनुपर्ने निर्णय हुन गयो। यसमा को जाँदा उपयुक्त हुन्छ भन्दा शीर्ष नेताहरुले मेरो नाम उपयुक्त हुने निष्कर्ष निकाल्नुभएछ।
काठमाडौं २ मा माओवादीको अवस्था कस्तो रहेछ?
यो क्षेत्रमा २०६४ मा माओवादीले नै जितेको हो। बीचमा कांग्रेसले जित्यो। फेरि २०७४ मा माधवकुमार नेपालले जित्नुभयो। अहिले हेर्दा वाम–लोकतान्त्रिक गठबन्धनकै नेताहरुले जित्दै आउनुभएको क्षेत्र हो। त्यही भएर स्वाभाविक रुपमा हाम्रो जीत सुनिश्चित रहेको दाबी गर्छौं।
तपाईंलाई मैले सोध्न खोजेको, माओवादीको मत कति छ? अनि गठबन्धनको समग्रमा कति छ?
मैले भनेँ कि मेरो आधार पहिलो वाम–लोकतान्त्रिक गठबन्धनकै मत हो। दोस्रो, तपाईंले जसरी विशिष्टिकृत गर्न खोज्नुभयो, अवश्य पनि ०६४ मा हामीले नै जितेको हुनाले यो क्षेत्रलाई माओवादीले आफ्नो ठान्छ।
मतको कुरा गर्दा स्थानीय तहको निर्वाचन पनि एउटा आधार हो। विशेष गरेर वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले र राप्रपा पार्टीको अस्तित्व त्यहाँ देखिन्छ। त्यसमा वाम–लोकतान्त्रिक गठबन्धनको मतभार निकै माथि छ।
तपाईं काठमाडौं २ को स्थायी बासिन्दा होइन, बाहिरबाट आएका ‘टुरिस्ट’ उम्मेदवारले राम्रो काम गरेनन् भन्ने गुनासो सुनिन्छन्। यस्तो आरोपले तपाईंलाई समस्या पार्ने देख्नुहुन्न?
मलाई त्यो हो भन्ने लाग्दैन। तर, मतदाताले के होला भन्ने आशंका गर्नसक्नुहुन्छ। त्यो स्वाभाविक हो। यसलाई मैले अनौठो मानेको छैन। म के कुरा विश्वस्त पार्न चाहन्छु भने, आज म ४४ वर्ष पुरा भएँ। राजनीतिक चेत आएदेखि यो उमेरसम्म आइपुग्दा म जुन क्षेत्रमा गएँ, सबैमा लगावका साथ काम गरेको छु।
२०६४ मा म मेरो पार्टीबाट ललितपुरको जिल्लाको इन्चार्ज थिएँ। तीन वटै निर्वाचन क्षेत्र हामीले जितेको हो। मैले आफ्नो कर्मक्षेत्र ललितपुरलाई मानेँ। ललितपुरको १ नम्बरमा म पैदल नै हिँडेर सबै ठाउँ पुगेको छु। तपाईंलाई दाबी गरेर भन्छु, १ नम्बर क्षेत्रको सबै ठाउँमा सडक बाटो पुगेको छ।
त्यहाँका जनतासँग प्रतिक्रिया लिए हुन्छ, त्यो क्षेत्रबाट माननीय वर्षमान पुन, २ बाट राजकाजी महर्जन र ३ बाट पम्फा भुसालले जित्नुभएको थियो। काम गर्नुभएको छ। मैले गरेको योगदानबारे जनसमुदायले भन्न सक्नुहुन्छ। म त रोल्पाकै नागरिक थिएँ नि त। तर, सबैभन्दा बढी योगदान दिएँ, त्यो कुरा ललितपुरबासीले अहिले पनि सम्झनुहुन्छ।
अहिले मलाई गठबन्धनले जसरी २ नम्बर क्षेत्रको जिम्मा दियो, अब त मेरो कर्मथलो यही हो नि। मैले इमान्दारपूर्वक जनताको सेवाको लागि खट्ने निर्णय लिइसकेको छु। हारजित भन्ने कुरा राजनीतिक प्रतिस्पर्धामा हुनसक्छ। लोकतान्त्रिक अभ्यासमा जे पनि हुनसक्छ। जे सुकै हात परोस्, प्रत्येक उम्मेदवार जित्ने आकांक्षा राखेरै उठेको हुन्छ। परिणाम जे सुकै आओस्, पाँच वर्ष २ नम्बर क्षेत्रका बासिन्दासँग खटिनेगरी मेरो पार्टीले मलाई पठाएको छ। म त्यहीँका जनतासँग हुन्छु। यो डिजिटल युग हो। फोन, मेसेजबाट पनि म जनतासँग प्रत्यक्ष रुपमा जोडिन्छु। २ नम्बर क्षेत्रका नागरिक र मेरो दुरी मात्र एक कल र एउटा मेसेजको हुनेछ। पुरै रेस्पोन्स गर्छु म।
क्षेत्र नम्बर २ मा तपाईंले पहिचान गरेका समस्या र सम्बोधन गर्नुपर्ने मुद्दा के–के रहेछ ?
विकास निर्माण नै मुख्य हो। सो क्षेत्रमा क र ख प्रदेश छ। खको सडक बनाउनुपर्ने छ। साँखु खण्डमा पर्ने सो बाटो बनाउनुपर्छ। जब त्यो खुल्छ, पर्यटन पनि खुल्छ। हामीसँग पर्यटनको एकदम राम्रो सम्भावना छ। यो ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सहर रहेको साखु बजार। शाली नदी। शंखरापुरलाई पर्यटन केन्द्रको रुपमा विकास गर्न सक्छौं। मलाई सुझाव दिइएको पनि छ, पुरै शंखरापुरलाई साइकल मार्गका रुपमा विकास गर्न सकिन्छ।
त्यो क्षेत्रमा उत्पादनको सम्भावना पनि उत्तिकै छ। मैले कृषि कलेजको अवधारणा अघि सारेको छु। यस्तै, सांस्कृतिक ग्रामको योजना बनाएको छु मैले। राज्यलाई धेरै फाइदा हुने सम्भावना त्यहाँ छ। त्यसमा म पुरासमय दिएर खट्छु भनेको छु।
काँठदेखि बजारसम्मको क्षेत्र रहेको काठमाडौँ २ का जनताले तपाईंको यो योजनालाई स्वीकारेर मत दिन्छन् भनेर विश्वास गर्न सकिन्छ?
चुनौतीहरु छन्। स्वीकार गर्छु।
तर, मलाई के लाग्छ भने, मैले जे कुराका लागि प्रतिबद्धता गरेको छु, त्यो पुरा गरेको छु। मेरो विगत इतिहास पल्टाएर हेर्दा पनि हुन्छ।
म त राज्यको प्रमुख तीन वटा अंगमध्ये एउटा अंग सम्हालिसकेको व्यक्ति हो नि। मैले आफैँले व्यक्तिगत रुपमा लिनुपर्ने राज्यबाट, पार्टीबाट, गठबन्धनबाट केही कुरा बाँकी छैन, सिर्फ म यो जीवन जनताका लागि समर्पण गरेको हुनाले जनताको सेवाबाहेक अरु चाहना छैन।
मैले गर्दै आएको कामबारे जनतालाई थोरबहुत जानकारी पनि छ। अहिले म भन्न चाहन्छु,– म तपाईंहरुको सेवाका लागि आएको हुँ। मेरो बारेमा उहाँहरुमा रहेको कुनै आशंका छ भने त्यो अन्त्य गर्न छलफल गरौँ। मेरो बारेमा विचारविमर्श होस्, धेरै जनासँग छलफल पनि होस् अनि आम मतदाताले निर्णय गर्नुहुनेछ। मलाई क्षेत्र नम्बर २ का जनताले विश्वास गर्नुहुन्छ।
अन्य नेताले पनि पार्टीमा योगदान गरेका छन्। उनीहरुले अवसर नपाउने अनि पटकपटक तपाईंहरुले अवसर पाउँदा पार्टीभित्रै पनि असन्तुष्टि छन् होइन र?
स्वाभाविक रुपमा पार्टीले निर्णय गर्नुभन्दा अगाडि कुनै पनि पार्टी सदस्यले आकांक्षा राख्नु जायज छ। केही संख्यामा अपेक्षा राख्ने साथीहरु हुनुहुन्थ्यो। मलाई पनि लाग्थ्यो, स्थानीय साथीहरुलाई लिएर जान पाएको भए राम्रो हुन्थ्यो, स्थायित्व पनि हुन्थ्यो। तर, आजको अवस्थामा त्यो स्थिति बनेन। र त्यो प्रकारको निर्णय हुन सकेन।
तर, म के प्रतिबद्धता गर्छु भने म आज जसरी यहाँ उपस्थित छु, म लिडरसिपका रुपमा छु। र, भोलि यो पाँच वर्षको बीचमा उत्तराधिकारी जन्माउँछु। मैले जहाँजहाँ विगतमा काम गरेँ सबै ठाउँमा त्यहाँको लोकल साथीलाई स्थान दिएर मात्र म अर्काे ठाउँमा गएको छु। आज यहाँ म पाँच वर्षका लागि आएँ, अब ममा स्थानीय कार्यकर्ता साथीहरुलाई स्तरोन्नति गर्ने, उहाँहरुलाई दक्ष बनाउने ठूलो कार्यभार छ। म त्यो पुरा गर्छु।
गठबन्धनका घटक कांग्रेस र एकीकृत समाजवादीभित्र पनि असन्तुष्टि छन्, त्यो हल कसरी हुन्छ?
असन्तुष्टि भन्ने कुरा हरेक पार्टीमा निर्णय नहुँदासम्म हुने हो। निर्णय भइसकेपछि अगाडि बढ्ने कुरामा अहिलेसम्म कसैले अवरोध गर्नुभएको छैन, एकदमै सपोर्ट गर्नुभएको छ। तीनै दलका नेता, कार्यकर्ता सबै खटिनुभएको छ।
Shares
प्रतिक्रिया