ad ad

लुम्बिनी


रुपन्देही १ : घनश्यामलाई चिह्न चिनाउनै चुनौती, छविलाल छैनन् ढुक्क

रुपन्देही १ : घनश्यामलाई चिह्न चिनाउनै चुनौती, छविलाल छैनन् ढुक्क

सुदीप भण्डारी
कात्तिक २३, २०७९ बुधबार ८:५०, बुटवल

रुपन्देही क्षेत्र नम्बर १ का केही ठाउँमा प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनावी माहोल तातिसकेको छ। कतिपय ठाउँमा भने अझै उम्मेदवारहरु पुगिसकेका छैनन्। जिल्लाको पूर्वी भेगमा पर्ने देवदह नगरपालिका र रोहिणी गाउँपालिकाका सबै क्षेत्र तथा तिलोत्तमा र ओमसतिया गाउँपालिकाका केही वडा रुपन्देही १ मा पर्दछ। 

मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउन १२ दिन मात्र बाँकी छ। मौन अवधिलाई छोड्ने हो भने उम्मेदवारहरुले अब १० दिन मात्र प्रचारप्रसार गर्न पाउँछन्। त्यसैले उम्मेदवारहरुलाई यो अवधिभित्र सबै ठाउँमा पुग्न भ्याइ नभ्याइ छ। 

रुपन्देही १ मा एमालेबाट पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मा र एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल मुख्य प्रतिस्पर्धी हुन्। स्वतन्त्र उम्मेदवार भएपनि भुसाललाई कांग्रेस, माओवादी केन्द्र लगायत पाँचदलीय गठबन्धनको समर्थन छ।

सोमबार नेपालखबरले दुवै उम्मेदवारको चुनावी अभियानलाई केहीबेर पच्छ्याएको थियो। 

घनश्याम बाटोबाटै नमस्कार गर्छन्, थोरै घरमा पुग्छन्
बुटवलको चौराहबाट २ किलोमिटर जति पूर्व पुगेपछि राजमार्ग सामुन्ने बन्द भएको बुटवल धागो कारखाना देखिन्छ। धागो कारखानाबाट राजमार्ग छोडेर जंगल बीचको कालोपत्रे सडक हुँदै केही अघि बढेपछि एउटा बजार आइपुग्छ।

यही बजारमा सोमबार विहान सवा ८ बजे घनश्याम भुसाल आफ्नो गाडीबाट झरे। त्यसपछि प्रदेश सभा सदस्यका उम्मेदवार कांग्रेसका अब्दुल रज्जाकलाई साथ लिएर यो दिनको चुनावी यात्रा सुरु गरे। पैदल यात्राका क्रममा भुसाल केही सिमित घरमा मात्र पस्थे। बाँकी ठाउँमा देखेजतिलाई नमस्कार भन्थे। 

कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री लगायतका केही कार्यकर्ताहरु भने घर घर पुगेर सानो पर्चा बाँड्दै उम्मेदवार चिनाउँदै थिए। 

घनश्याम मत माग्दै परबाट आइरहँदा एक जना बृद्ध मान्छेले भन्दै थिए, ‘चुनावका बेला भोट माग्न आउने हुन् अरु बेला फर्केर आउँदैनन्।’

उनको नाम रामप्रसाद गौतम रहेछ। भुसालले गौतमको घरमा पनि आएर नमस्कार गरिहाले। तर उनले घनश्याम भुसाल भनेर चिनेनन्।

‘कहाँ हो र उहाँको घर, चुनाव चिह्न यही हो र?’ हात परेको सानो पर्चा देखाउँदै उनले भने, ‘बल्ल त आजबाट भोट माग्दै आएका छन्। को कस्तो छ विचार गरेर सबैको सल्लाह अनुसार भोट हाल्नु पर्ला।’

गौतमले चरंगेमा बाटोघाटो बनिसकेको भन्दै लालपूर्जा छिटो दिन आग्रह गरे।  

बुटवल नजिक देवदह नगरपालिका १० मा रहेको यो चरंगे बजार विगतमा निकै पिछडिएको ठाउँ थियो। अहिले बाटो घाटो र पूर्वाधार बनेकाले केही विकसित देखिन्छ। तर बजारका घरहरुको लालपूर्जा भने छैन। लालपुर्जा नै मुख्य समस्या भएको स्थानीय बताउँछन्। 

केहीबेरको घरदैलो पछि चरंगेको खनालचोकमा भएको कोणसभामा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार घनश्याम भुसालले सबैको थातथलो ग्यारेन्टी हुने गरि आफूहरुले काम गर्ने बताए। 

‘यहाँको बस्ती नयाँ हिसाबले विकास हुँदै गएको छ। तर अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या छ। यहाँका कतिपय लालपूर्जा तयार पनि भएको छ तर चुनावी आचारसंहिताको कारण रोकिएको छ’ उनले भने, ‘सबैको थात थलोको ग्यारेन्टी हुने गरि हामीले काम गर्ने छौं। यो क्षेत्रलाई नमुनाबस्तीको रुपमा विकास गर्ने प्रसस्त सम्भावना छन्। उपमहानगरको छेउमा पहाडको घेचमा रहेको यत्तीको बस्तीलाई हामीले धेरै सुन्दर बनाउन सक्छौं।’ 

चरंगेमै भेटिएका युवा पुस्ताका केही मतदातामा कसलाई भोट दिने भन्नेमा अलमल थियो। भुसालको घरदैलोका क्रममा भेटिएकी गितासिंह ठकुरीले ५ वर्षअघि र गत बैशाखमा गरेर २ पटक भोट दिइसकेकी छन्। तर राजनीतिबारे आफूलाई थाह नभएको सुनाइन्। 

‘राजनीतिबारे मलाई केही थाह छैन। तर आफूले पाएको हक हो भोट त दिनुपर्यो’ उनले भनिन् ‘मलाई यो पार्टी उ पार्टीले जितोस् भन्ने छैन। यो बेला भनेको हामीले साथीको लहैलहैमा भोट हाल्ने उमेर हो।’ 

घरदैलोको क्रममा भुसालसहित प्रचारमा खटिएका कार्यकर्ताले आफ्नो चुनाव चिह्न चिनाउन जोड गरेका थिए।

‘घनश्याम भुसालको त्रिभुज अब्दुल रज्जाकको रुख चिह्न हो है’ भनेर चुनाव चिह्न बुझाउन बढी भन्दा बढी सानो पर्चा बाँडिएको थियो। चुनावी प्रचारमा प्रयोग गरिएको झण्डामा पनि रुख र त्रिभुज एकै ठाउँमा राखिएको देखिन्थ्यो। 

चरंगेको बाँकी ठाउँमा घरदैलो गरेर भुसालको टोली तिलोत्तमा नगरपालिकातिर लाग्यो। तिलोत्तमा ८ नम्बर वडामा घरदैलो गरेर प्रचारटोली चार नम्बर बजार पुग्यो। बजारको एक पार्टी प्यालेसमा भुसालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरे। त्यहाँबाट भुसालको १२ नम्बर वडामा घरदैलो कार्यक्रम भयो। 

छविलाल विश्वकर्माको घरदैलो
घनश्याम भुसालले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गर्दा नजिकै एमाले उम्मेदवार छविलाल विश्वकर्माको घरदैलो चलिरहेको थियो। तिलोत्तमा वडा नम्बर ८ ज्योतिनगरबाट सुरु भएको सोमबारको घरदैलो शान्तिनगर लगायतका ठाउँ हुँदै चारनम्बर बजार आएको थियो। चार नम्बरबाट शिवपुर बजार हुँदै छविलालको घरदैलो दिउँसो दक्षिण बुधबारे, मक्रहरतर्फ लाग्यो। 

उनको घरदैलो घनश्यामको भन्दा केही फरक थियो। घनश्यामले सबै घरमा नपुगी सिमित घरमा जाने र देखे जतिकालाई बाटोबाटै नमस्कार गरेको देखिन्थ्यो। तर विश्वकर्मा आफू हिँडेको बाटोको दायाँबायाँका सबै घरमा पुगेर मत माग्थे। बुढो पाको देखे हातमा ढोगिदिन्थे। छविलालसँग प्रदेश सभा १ क का एमाले उम्मेदवार दधिराम न्यौपाने पनि सँगै थिए। 

मक्रहरमा डाक्टर प्रसाद रेग्मीको घरमा विश्वकर्मा पुगे। रेग्मी शारीरिक रुपमा केही अशक्त थिए। तर उनले आफ्नो कुरा नराखी गाउँको कुरा उम्मेदवारलाई भने, ‘यो ठाउँ पञ्चायत कालदेखि पिछडिएको ठाउँ हो। ‘अहिलेको अवस्थामा कृषि अथवा वन विज्ञानको क्याम्पस यहाँ चाहियो। हामी अलिकती अघि बढ्न पर्यो।’ 

त्यसपछि छविलाल नजिकै रहेको राधिका भण्डारीको घरमा मत माग्न पुगे। छविलाल यो क्षेत्रको निवर्तमान सांसद पनि हुन्। राधिकाले गुनासो सुनाउँदै भनिन् ‘जिताएर पठाएपछि हाम्रो घरदैलोमा आएनन् भन्ने यहाँको गुनासो छ। अब जितेपछि पनि आइरहनुहोला।’ 

राधिका एमालेकै कार्यकर्ता हुन्। नेपालखबरसँगको कुराकानीमा उनले आफ्नो पार्टी भित्रको विवादका कारण चुनाव जितिन्छ या हारिन्छ भन्न सक्ने अवस्था नभएको सुनाइन्। 

‘केन्द्रदेखि नै पार्टी आफैँ भताभुंग भएको छ। अहिले के हुन्छ भन्नै सकिन्न’ उनले भनिन्, ‘अघिल्लो पटकको चुनावको बेला एमालेको कति राम्रो माहोल थियो। अहिले कुर्शीको लागि आफू आफू लड्दा पहिलेजस्तो सजिलो देख्दिन मैले।’ 

विश्वकर्माको घरदैलो भइरहँदा नेपालखबरले ज्याला मजदुरी गर्ने फूलमाया कुम्हाललाई भेट्यो। फूलमायाले सोमबारबाटै गाउँमा चुनावी माहोल देखेको बताइन्।

‘आज बस्दा बस्दै ३ जना भोट माग्न आए’ उनले भनिन्। 

फूलमायाले गाउँका अगुवाले जसलाई भन्छन् उनैलाई भोट हाल्ने बताइन्। 

‘यहाँको मुख्य मान्छेले जसलाई भन्नुहुन्छ उसैलाई भोट हाल्नुपर्ला। तर जितेर उहाँहरुले काम गर्नुहोला भन्ने विश्वास छैन’ उनले भनिन् ‘हामी त दिनभर घर बनाउँदै हिड्छौं। साँझ ६ सय रुपैयाँ पाइन्छ। त्यो पैसाले किनेर खान र बच्चा पढाउन ठिक्क हुन्छ।’ 

केही हप्ता अघिसम्म छविलाल विश्वकर्मा र घनश्याम भुसाल एउटै पार्टीमा थिए। भुसाल पाँच वर्षअघि रुपन्देही ३ बाट चुनाव जितेर सांसद भएका थिए। यो पटक टिकट नपाएपछि भुसालले एमाले परित्याग गरी पाँचदलीय गठबन्धनको समर्थनमा क्षेत्र परिवर्तन गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन्। 

घरदैलो गर्दैगर्दा विश्वकर्मालाई हामीले विगतका सहयात्रीबीच प्रतिस्पर्धा हुँदा तपाइँको चुनावी अभियानमा असर पर्दैन र भनेर सोधेका थियौं।

विश्वकर्मा भने, ‘एमालेमा हुँदासम्म उहाँ एमालेको हो। पार्टीलाई धोका दिएपछि, आन्दोलनलाई गद्दारी गरेपछि सूर्य चिह्नलाई अपमान गरेपछि कसैको खैरियत छैन। हिजो को थियो थिएन भन्ने होइन। अहिले एमालेमा को छ, सूर्य चिह्न कसको छ भन्ने जनताले हेर्छन्।’

घरदैलोको अन्त्यमा अपरान्ह मक्रहरको बर्मेली चोकमा कोणसभा गरेर एमाले उम्मेदवार छविलाल विश्वकर्माले सोमबारको घरदैलो टुंग्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .