लुम्बिनी


भारत भ्रमणको उडान भैरहवाबाट गर्न प्रधानमन्त्रीसँग व्यवसायीको आग्रह

भारत भ्रमणको उडान भैरहवाबाट गर्न प्रधानमन्त्रीसँग व्यवसायीको आग्रह

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:५४, काठमाडौँ

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

२५६७ औं बुद्ध जयन्ती समारोहमा आएका प्रधानमन्त्रीलाई भेटर ज्ञापनपत्र बुझाउँदै व्यवसायीले नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय उडान सुरु गर्न माग गरे।

राष्ट्रिय ध्वजाबाहकको उडान नहुँदासम्म भैरहवामा अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने उनीहरुको भनाइ छ। निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने संघको माग छ।

संघले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नसमेत आग्रह गरेको छ। विश्वका सबै बौद्धिष्ट मुलुकहरुलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग सिद्धार्थ उद्योग वाणिज्य संघले आग्रह गरेको छ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने अन्तर्राष्ट्रिय उडान मध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।

 सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ‘२०७९ जेठ २ गते विमानस्थल उद्घाटन हुँदा आफूहरु खुशी भएको भन्दै उद्योग, व्यापार, कृषि, पर्यटन फस्टाउँछ भन्ने आशा लागेको तर आशा निराशामा परिणत भएको गुनासो गरे।

विमानस्थल उद्घाटनपश्चात जजिरा एअरवेजको उडान मात्र सञ्चालनमा रहेकोमा हाल उक्त उडानसमेत नियमित हुन नसकेको अध्यक्ष श्रेष्ठले बताए।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले संघको मागप्रति आफू सकारात्मक रहेको र छलफल गरी आवश्यक कदम अगाडि बढाउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .