ad ad

म्यागेजिन


मेनुका गिरीको मातृत्व अनुभव : बाल्यकालमा सन्तान टाढिएको सहन नसकिने रहेछ

मेनुका गिरीको मातृत्व अनुभव : बाल्यकालमा सन्तान टाढिएको सहन नसकिने रहेछ

राधिका अधिकारी
असोज २९, २०७९ शनिबार ९:५३, काठमाडौँ

अभाव थियो। पैसाको दुःख थियो। अहिलेजस्तो हरेक चोकमा पसल थिएनन्। तर पुरै गाउँ परिवारजस्तो लाग्थ्यो। एउटाको घरमा सकिएको चिज अर्कोको घरबाट पैँचो ल्याएर चलाइन्थ्यो। आत्मीयताका हिसाबले मानिसहरु धनी थिए। यस्तो वातावरणमा हुर्किएकी मेनुका पहिलेदेखि नै प्रेमिल स्वभावकी थिइन्।

दुई दाजुपछि जन्मिएकी मेनुका रहरकी छोरी थिइन्। दाजुहरुकी प्यारी बहिनी। बुबा सडक विभागको जागिरे, आमालाई घर व्यवहार र खेतगोठको धन्दाले फुर्सद नै मिल्दैनथ्यो। मेनुकाको बाल्यकालको धेरै समय आफ्ना दाजुहरुसँग बित्यो। उनी जन्मेको चार वर्षपछि बहिनीको जन्म भयो। 

घरमा सानी बहिनी, बुढ्यौलीले थला परेका हजुरबा–हजुरआमा, ठूलो कक्षमा पुगेका दाजुहरु, आमाको व्यस्त दैनिकी, बुबाको जागिर। बहिनी हेर्न मेनुकाले पढाई छोड्नु पर्यो। उनले पाँच कक्षामाथि उक्लिन पाइनन्। पढ्न नपाउँदा जीवनमा उनले थुप्रै असहजता बेहोरिन्। तर, गुनासो कहिल्यै पनि गरिनन्।

१६ वर्षमा विवाह 
मेनुकाको जन्म काठमाडौँको दहचोकमा भएको हो। त्यहीँ हुर्किएका हुन् अहिलेका चर्चित कलाकार दीपराज गिरी। एउटै गाउँको भएकाले दीपक र मेनुकाको भेट बारम्बार भइरहन्थ्यो। मेनुका दीपकलाई दाइ भनेर सम्बोधन गर्थिन्। दीपक त्यतिबेला चाडपर्वमा गाउँमा हुने नाटक तथा कार्यक्रमहरुमा अभिनय गर्थे। एकदिन उनै दीपकका लागि मेनुकाको हात माग्न दीपकका आफन्त घरमा आइपुगे। मेनुकालाई लाग्यो, ‘यो सम्भव हुने कुरै होइन। दाजुसँग कसरी बिहे गर्नु!’

दीपक गाउँका सक्रिय युवा, उनको राम्रै चर्चा थियो। पारिवारिक अवस्था पनि राम्रो थियो। मेनुकाका बुबाले दीपकलाई छोरी दिने निर्णय गरे। मेनुकाले दीपककी दुलही भएर माइतीको आँगन छोडिन्। त्यतिबेला उनी भर्खर १६ वर्ष पुगेकी थिइन्।

घर र माइतीको दुरी धेरै टाढा थिएन। माइतीमा बुबाले अलि ठूलो स्वरले बोल्दा उनको घरमा सुनिन्थ्यो। आँगनमा निस्किएर हेर्दा आमाले बाहिरभित्र गरेको स्पष्ट देखिन्थ्यो। दीपक घरबाट बेहुलो भएर अन्मिँदा बजेको नौमती बाजा मेनुकाको घरमा सुनिएको थियो। बाजा बजाउँदै दीपक घरबाट निस्किएको उनले बार्दलीमा निस्किएर हेरेकी थिइन्। अन्मिएर गएपछि दुलन फर्काउनुअघि हजार पटक घरको आँगनमा निस्किएर माइतीको बार्दली हेरिन्। आमाले ठूलो स्वरले बोल्लिन् र सुन्न पाइएला भनेर भित्तामा पनि कान राखेर बसिन्। भन्छिन्, ‘नजिकै भए पनि घर र माइतीको महत्व फरक हुने रहेछ।’

आफ्नै उमेरका नन्द र देवर थिए। उनीहरु मेनुकाका साथी भए। आफ्नै आँखा अगाडि हुर्किएकाले पनि होला, सासूससुराले बुहारी कम छोरी धेरै माने। पुरा गर्नु पर्ने जिम्मेवारी र सम्बोधन फरक भए पनि मायाका हिसाबले माइती र घरको वातावरण फरक भएन। उनले कठोर बुहार्तन सहनु परेन।   

अनि आमा...
आमा बनिहाल्ने योजना थिएन। तर, परिवार नियोजनको अस्थायी साधनमा सहज पहुँच थिएन्। उनी गर्भवती भइन्। गर्भवती भएकै कारण गरिरहेका नियमित कामबाट विश्राम पाउँदैनथे महिलाले। उनले पनि आफ्ना कामहरु गरिन्। नियमित रुपमा गर्भ जाँच्न भने थापाथली पुग्न्।ि दहचोकबाट एक्लै थापाथली अस्पताल आएकी मेनुका एकदिन पालो कुर्दाकुर्दै बेहोस भइन्। त्यसपछि भने दीपकले हरेक पटक दीपक साथ लागे। उनलाई धेरै असहज भएन्। मेनुका अहिले गर्भवती भएका महिलाका समस्या हेर्छिन्, सुन्छिन् अनि उनलाई लाग्छ, ‘हाम्रै समय ठिक रहेछ कि क्या हो!’

गर्भलाई लिए दीपक र मेनुका कुरा गरिरहन्थे। दीपकले भनेका थिए, ‘छोरी जन्मिन् भने तिम्रो नामबाट नाम राख्ने, छोरा जन्मिए मेरोबाट।’ मेनुकाले थापाथली अस्पतालमा पहिलो पटक छोरीलाई जन्म दिइन्। उनीहरुले छोरीको नाम मौसमी राखे। 

गर्भावस्थाको अन्त्यतिर सबैले मायाले दही चिउरा खुवाए। मेनुकालाई असहज भयो। उनी पाँच दिन अस्पताल भर्ना भएर बसिन्। डाक्टरले बच्चा जन्मने बेला भएको छैन भनेर घर पठाए। त्यसको ३ दिनपछि मेनुकालाई सुत्केरी व्यथा लाग्यो। त्यो बेलाको दहचोक अहिले जस्तो विकसित थिएन। गाउँमा एउटा मात्रै ट्याक्सी थियो। त्यो पनि कहाँ पुगेको हुन्थ्यो, थाहा हुन्थेन। धेरै बिरामी भए उलिनकाठमा बोकेर बिरामी अस्पताल ल्याउनु पथ्र्यो। मेनुकालाई सुत्केरी व्यथाले च्यापेपछि दीपक गाउँकै सुडेनीलाई बोलाउन गए। गाउँकै बुढापाकालाई बोलाए। झण्डै १० घण्टाको प्रसव व्यथापछि मेनुकाले मौसमीलाई जन्माएकी हुन्। छोरी जन्मिएपछि सबैभन्दा धेरै खुसी दीपक देखिएका थिए। 

बच्चा स्याहार्न गाह्रो 
मेनुका आफैैँ बच्चा जस्ति थिइन्। उनलाई सानी छोरी बोक्नै डर लाग्थ्यो। अहिले जस्तो बच्चाको लुगा पाइँदैनथ्यो। बच्चाहरुले आमाको फरियाको न्यानोमा हुर्किन पथ्र्यो। मेनुका कपडामा छोरीलाई राम्रोसँग बेर्न पनि जान्दिनथिन्। न्वारानको दिन भने बच्चालाई नयाँ लुगा दिने चलन थियो। आफैँले नजाने पनि मेनुकालाई छोरी हुर्काउन त्यति गाह्रो भएन। घरमा बुढीसासू, सासू, माइतीमा आमाले सबथोक सिकाए, बच्चा स्याहारे।

मेनुकाको मन आत्तिरहन्थ्यो। उनकी छोरी चिसोका कारण बिरामी भइरहन्थिन्। ९ महिनाकी मौसमी अंगुर मिठोगरी खान्थिन्। सबैले खान दिए। उनलाई निमोनिया भयो।

मौसमी ८/९ महिनाकी हुँदै मेनुका पुनः गर्भवती भइन्। गर्भको बच्चा र काखकी छोरी एकै पटक ख्याल गर्न मेनुकालाई गाह्रो भयो। उनले १५ महिनाकी छोरी माइतीमा छोडिन्। मेनुकाले टुकुटुकु हिँड्ने बेला छोरीको हात समातेर हिँड्न सिकाउन पाइनन्। छोरीले मामा र हजुरआमाको हात समातेर हिँड्न सिकिन्। उनको मन रुन्थ्यो। भन्छिन्, ‘आफ्ना सन्तानले आफ्नै हात समातेर हिँडेको जस्तो न्यानो भएन।’

छोरा होस् भनेर भाकल
छोरा नजन्माई महिलालाई पूर्ण मानिँदैनथ्यो। पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तान छोरी होस् भन्ने भित्री रहर मेनुकामा पनि थियो। हँसाइरहने दीपकराज मेनुकालाई जिस्काउँदै भन्थे, ‘फेरि छोरी पाइस् भने तँलाई पाटीमा राख्नी हो।’ दीपकराज मेनुकालाई जिस्काइरहन्थे। मेनुकालाई खुसी लाग्थ्यो। उनका बुढाससुराले सपनामा पनाति जन्मिएको देखेको सपना सुनाउँथे। 

आमाजुहरुले प्रश्न गर्थे, ‘तिम्रो बच्चा कता चलेको?’ बच्चा कता चलेको छ भन्ने छामेर छोराछोरी अनुमान गरिन्थ्यो। मेनुकाले मेरो छोरा जन्मियोस् भनेर मनकामना भाकिन्। छोरी १८ महिनाकी हुँदा दोस्रो सन्तान जन्माइन् र छोराकी आमा बनिन्। छोरो डेढ वर्षको हुँदा मेनुका श्रीमानको साथ लागेर मनकामनामा भाकल पुरा गर्न गइन्। 

मेनुका १० दिनकी सुत्केरी थिइन्। माइतीबाट आमा आएर बच्चालाई नुहाइदिने परम्परा थियो। आमाले छोरीलाई लिएर आएकी थिइन्। १८ महिनाकी मौसमी उनको अघिपछि गरिरहन्थिन्। मेनुकाका आँखाबाट आँसुका धारा बग्थे। उनलाई लाग्थ्यो, ‘यो सानी छोरीको काख खोसियो। छोरीमाथि अन्याय गरियो।’  

उस्तै उमेरका दुई सन्तान हुर्काउन गाह्रो थियो। मौसमी र उनका भाइको स्वभाव फरक थियो। मौसमी छुच्ची थिइन्, भाइ शान्त स्वभावका थिएन। उनी हत्तपत्त रिसाउँदैनथे। रिसाएपछि भयंकर रिसाउथे। मैसमी बिगार गर्थिन्। ममी देखेपछि भाग्थिन्। कुटाइ भाइले खान्थे। मायाले हानेको सानो थप्पडले मेनुकालाई ठूलो घाउ दिन्थ्यो। उनी निकैबेर दुख्थिन्। मौसमी ४ वर्षकी भएपछि स्कुल गइन्। छोरालाई भने स्कलु भर्ना गर्न ढिलो भयो। उनका हजुरबाले ‘मेरो बाबु सानै छ अहिले कहाँ स्कुल पठाउने?’ भनेर दिएनन्। छोरो ५ वर्षको भएपछि पनि उनलाई लामो समयसम्म हजुरबुबाको काखबाट खोसेर पठाउनु पथ्र्यो। 

नचाहेरै तेस्रो पटक आमा
छोरो जन्मिएपछि दीपकराजले भनेका थिए, ‘दुई सन्तान भैहाले, अब अर्को नजन्माउने है बुढी।’ समय पनि अलि बाठो भैसकेको थियो। मानिसहरु परिवार नियोजनका अस्थायी साधनका बारेका खुलेर कुरा गर्ने भइसकेका थिए। मेनुकाले पनि तीन महिने सुइ लगाइन्। 

तर, छोरो पाँच वर्षको भएपछि मेनुकाले तेस्रो सन्तानका रुपमा अर्को छोरो जन्माइन्। त्यही बेला बुढा ससुराको देहान्त भयो। घरमा केटाकेटी हेर्ने मान्छे भएनन्। त्यसपछि मेनुकाले खेतिपातीको काम गर्न छोडिन्। 

सानो छोरो मेनुकाको कोखमा आएपछि दीपकराज औपचारिक रुपमा कलाकारितामा लागेका हुन्। रेडियो नेपालबाट कलायात्रा सुरु गरेका दीपकले रेडियो नेपालमा खेलेको नाटकवापत आएको पहिलो तलबले छोराछोरीलाई हाफ प्यान्ट र टिसर्ट ल्याइदिए। त्यसपछि दीपकराजले करिअर हुर्काए। मेनुकाले सन्तान हुर्काइन्। 

सुरुमा दीपकराजको आम्दानी राम्रो थिएन। ३ छोराछोरी पढाउनु पर्ने जिम्मेवारी। मेनुकाले छोराछोरी हुर्कने क्रममा उनीहरुका थुप्रै रहरसँग सम्झौता गर्नु पर्यो। बजारमा आएका सीमित लुगा पनि छोराछोरीलाई किनिदिन सक्दिनथिन्। मेनुकाको मन थुप्रै पटक भारी भएको छ। भन्छिन्, ‘अहिले पैसा छ, रहर छैन। त्यो बेला रहर थियो, पैसा थिएन।’ 

बच्चा होस्टेल राख्दाको पीडा 
मेनुकाले सानो छोरालाई होस्टेलमा राखेर पढाइन्। सुरुसुरुमा त ठिकै थियो। तर समय बित्दै जाँदा छोरा उनीसँग बिस्तारै टाढा हुँदै गए। साथी र गुरुहरुलाई नजिकको ठान्ने, आमा र बुबालाई टाढाको सम्झिने भए। मेनुकालाई कहिले शनिबार आउँछ र छोरासँग भेट हुन्छ भन्ने छटपटी हुन्थ्यो। तर, छोरा आमाबुबासँग रमाउन सकेनन्। उनका छोरालाई साथी छोडेर घर आउनु पर्दा पीडा हुन्थ्यो। मेनुका भन्छिन्, ‘आफ्नाप्रति धारणा बनाउने उमेरमा कुनै बाबुआमाले झुक्किएर पनि आफ्ना बच्चालाई होस्टलमा नराखून्।’

हरेक छाक घरमा पाकेको खाना हेर्दै होस्टलमा बसेको छोरो सम्झिएर उनका आँखा रसाउँथे। भन्छिन्, ‘अहिले बुढा भैसके र त खाना पाकेपछि आइपुगे पनि हुन्थ्यो भन्ने हुन्छ। त्यो बेला सानै थियो, मन कति रुन्थ्यो कति।’

छोरीको पहिलो महिनावारी
एकदिन मेनुकाकी बहिनीकी छोरीले मौसमीको महिनावारी भएको खबर बोकेर आइन्। लाजका कारण उनकी छोरीले आफैँले रजस्वला भएको खबर आमालाई सुनाउन सकिनन्। मौसमीकी सानीमाकी छोरीले मेनुकालाई भनिन् ‘ठूलोममी मौसमी पर सरिछ।’ पहिलो पटक रजस्वला हुँदा छोरीलाई अरुको घरमा लुकाउने चलन थियो। मेनुका भने १३ वर्षकी छोरी लिएर अरुको घरमा जान सकिनन्। उनले आफ्नै घरको एउटा कोठामा राखिन्। १० दिनसम्म मौसमीसँग उनकी सानीमाकी छोरी बसिन्। 

मौसमीका सानो भाइ दिदीलाई हेर्न नपाएको रिस पोखिरहन्थे। उनी भन्थे, ‘पख्नु न भोलिपर्सि म पनि नछुने भएपछि तपाईं र दिदीलाई हेर्न दिन्नँ।’ मेनुका दिदीप्रति भाइको माया देखेर मुस्कुराउँथिन्। 

मेनुकाको सपना छोरीलाई डाक्टर बनाउने थियो। बुबाको कलाकारिता हेर्दै हुर्किएकी मौसमी भने कलाकार बन्ने सपना देख्थिन्। उनले ‘तितो सत्य’का केही अंकमा अभिनय पनि गरिन। उमेर बढ्दै जाँदा छोरीको रहर पनि फेरियो। मौसमीको पढाइ राम्रो थियो। १२ को परीक्षा सकेको वर्ष उनका अंकलको सवारी दुर्घटनामा देहान्त भयो। त्यसपछि घरको अवस्था पीडादायी भयो। घरमा कसैको मन शान्त भएन। त्यही समय मौसमीका साथी पढ्नका लागि बेंग्लोर जाने भए। छोरीले पनि जान्छु भनिन्। 

भदौको बेला मुसलधारे पानी परको थियो। यसैपनि दुर्घटनाले दुखाएको मन, छोरी घरबाट निस्कदा मेनुकाको मुटु पनि छोरीसँगै बाहिर निस्किएको थियो। साँझको समय छोरी बेंग्लोरका लागि घरबाट निस्किन्। त्यो रातभरि मेनुका निदाउन सकिनन्। दीपक सम्झाउँथे, ‘बुढी हाम्री छोरी पढ्न गएकी हुन्। पीर नगर। हामीले राम्रो सोच्नु पर्छ।’ तर मेनुकाको मन मान्दैनथ्यो। छोरीले पुगेँ भनेर खबर नगरुञ्जेल रोकिएनन् मेनुकाका आँखा। मैसमी डेढ वर्षपछि नेपाल फर्किन्। 

अहिले मौसमीको विवाह भयो। मेनुका हजुरआमा भैसकिन्। मैसमी बीएस्सी नर्सिङलाई पढाउँछिन्। उनले केही समय अस्पतालमा पनि काम गरिन्। जेठा छोराबुहारी विदेशमा छन्। कान्छा छोरा फिल्म नै पढ्दै छन्। मेनुका छोराछोरीलाई लिएर खुसी छिन्। भन्छिन्, ‘म भाग्यमानी आमा हुँ।’ 

हजुरआमा हुँदाको खुसी
दुई वर्षअघि मेनुकाको जन्मदिन थियो। मौसमी र उनका श्रीमानले मेनुकालाई लड्डु खान दिए। मेनुकालाई लाग्यो, ‘मेरो जन्मदिनको अवसरमा मिठाइ दिएका होलान्।’ मेनुकाले भनिन् ‘जन्मदिन पनि लड्डुमा टारेको?’ त्यसपछि मौसमीले भनिन् ‘तपाईंलाई बधाई छ।’ मेनुका छक्क परिन्। भनिन्, ‘बधाई केको हो?’ छोरीले थपिन् ‘तपाईं हजुरआमा बन्दै हुनुहुन्छ।’ उनले छोरीलाई अंगालो मारेर भनिन्, ‘मसँगै तिमीलाई पनि बधाई छ। राम्रो होस्।’

मेनुकाले मौसमीलाई गर्भमा बोकेर जति सहजताका साथ समय गुजारिन्, मौसमीले सकिनन्। गर्भावस्थामा छोरीलाई भएको गाह्रो भएर देखेर मेनुकालाई दुख्थ्यो। छोरीलाई के गर्दा गर्भावस्थाको समय गुजार्न सजिलो हुन्थ्यो, त्यही गरिन्। हरेक पटक चेकअपको समय आफू पनि सँगै जान्थिन्। मौसमी नर्मल रुपमा सुत्केरी हुन सकिनन्। उनको अप्रेसन गर्नु पर्ने भयो। मेनुकालाई जिन्दगीमा सबैभन्दा गाह्रो छोरीलाई अप्रेसन थिएटरमा लगेको दिन भयो। मौसमीलाई अप्रेसन थिएटरमा लगेपछि उनी बाहिर भगवान पुकारेर बसिन्। 

मेनुका हजुरआमा भइन्। मौसमी आमा। ज्वाइँ र बुहारीकी सासू भइन। समय अनुसार मेनुकालाई सम्बोधन गर्ने साइनोहरु बदलिँदै गए। तर छोराछोरीप्रति कहिले बदलिन सक्दो रहेनछ आमाको मन। मेनुका हरेक साँझ बिहान छोराछोरीको खुसीके कामना गरिरहेकी हुन्छिन्। भन्छिन्, ‘अबको मेरो खुसी भनेकै छोराछोरी, ज्वाइँ र बुहारीको खुसी हो। उनीहरु खुसी भएभने हामी बुढाबुढी यत्तिकै खुसी हुन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .