ad ad

छापा खबर


आजबाट एसइई : कता गए ८ लाख विद्यार्थी ?

आजबाट एसइई : कता गए ८ लाख विद्यार्थी ?

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार ७:११, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरि एकसाथ सञ्चालन गर्दैछ। देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ।

परीक्षाका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन्। यी विद्यार्थी १० वर्षअघि अर्थात् २०६९ क्षा १ मा भर्ना भई एसइईमा सहभागी हुन लागेका हुन्। तर २०६९ सालमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी विद्यार्थी कक्षा १० सम्म आइनपुगी विद्यालय शिक्षाबाट बाहिरिएका खबर आजको नागरिक दैनिकमा रुवी रौनियारले लेखेकी छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार २०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ मात्र छन्। कक्षा १ देखि १० सम्मको अवधि पार गर्दासम्म ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी बीचैमा हराएको सरकारी तथ्यांक छ।

नेपाल सरकारका पूर्वसचिव तथा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १ मा भर्ना भएका अधिकांश विद्यार्थी विभिन्न परीक्षा पास नभएका कारण कक्षा १० सम्म पुग्न नसकेको बताए। १० वर्षअघि कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये कतिपयले बीचैमा कक्षा छाड्ने, कतिपयले एउटै कक्षामा पटकपटक दोहोर्‍याउने र कतिपय विद्यार्थीहरू गरिबीका कारण बालश्रममा पुग्ने गर्दा ७ लाखभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुन नसकेको उनको बुझाइ छ।

‘पारिवारिक आर्थिक अवस्था कमजोर भएका विद्यार्थी कतिपयले १६ वर्ष पुग्नुअघि नै परिवारको जिम्मेवारी धान्न बालश्रममा लागे। कक्षा १० सम्म पढाइ पूरा गर्न सकेनन् अनि बीचैमा पढाइ छाडेको र कामतिर लागेको हुन सक्छ,’ परीक्षा बोर्डका अध्यक्ष शर्माले भने, ‘कतिपय पढाइमा असफल भए र भारत तथा खाडी मुलुकतिर श्रमबजारमा लागेकाले उनीहरू कक्षा १० सम्म पुग्न सकेनन् ।’ 

विद्यार्थीलाई कक्षामा टिकाइराख्न र बालश्रम न्यूनीकरण गर्न सरकारले आन्तरिक सक्षमता सुधार्नु जरुरी रहेको उनले सुझाए। कक्षा १ मा भर्ना भएका सबै विद्यार्थीलाई पास गराएर माथिल्लो कक्षामा लान विद्यालय जाने वातावरण बनाउन सरकारले शिक्षामा बजेट वृद्धि गर्नेदेखि शैक्षिक सुधारको काम गर्नेतर्फ ध्यान दिनु आवश्यक देखिएको उनको भनाइ छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले कक्षाकोठाभित्र अझै पनि शिक्षण सिकाइको वातावरण बालबालिका केन्द्रित बन्न नसकेकै कारण कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये धेरै संख्यामा विद्यार्थीहरू बीचैमा हराउने गरेको विश्लेषण गरे। 

उनले कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ७ लाख बढी बीचैमा हराउनु शिक्षा क्षेत्रमै ठुलो क्षति भएको औंल्याए।


उनले अझै पनि ३ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको र तिनीहरू बालश्रममा रहेको औंल्याए। २०८९ सम्म निकृष्ट, जोखिमयुक्त र शोषणयुक्त बालश्रम मुक्त गर्ने लक्ष्य गुरुयोजनाले तय गरेको छ। तर अझै २ लाख १८ हजार बालबालिका निकृष्ट र जोखिमपूर्ण काममा रहेको तथ्यांक छ। ‘२०७९ साल पूरा भएपछि मन्त्रालयमा निकृष्ट काममा रहेको बालश्रमको तथ्यांक आउँछ,’ सहसचिव डा। काफ्ले नागरिकसँग भने, ‘अनौपचारिक क्षेत्रमा बालश्रमिकको संख्या बढी छ। 

तर अभिलेख नभएकाले र तथ्यांक संकलन गर्ने पद्धति नभएकाले चुनौती छ ।’ श्रम परिषद्ले यी बालबालिकालाई सामाजिक सुरक्षाभित्र ल्याउने नीतिगत निर्णय गरी व्यवस्थापनमा लागेको उनले बताए। ‘आएको तथ्यांकलाई आधार मानेर मन्त्रालयले बालश्रम न्यूनीकरणको काम अघि बढाउँछ,’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .