पानामा नहरमा तीन वटा पुल छन्। विश्वको सबैभन्दा महत्वपूर्ण जहाजी मार्गमध्ये एक यो नहरमा चौथो पुलको योजना पनि तयार गरिएको छ।
नहरमा पहिलो पुल अमेरिकी इन्जिनियरिङको चमत्कार थियो। दोस्रो र तेस्रो पुल युरोपेली कम्पनीहरुले बनाएका थिए। चौथो चाहिँ चीनले बनाउने भएको थियो। तर, विवाद निस्किएपछि कयौँ वर्षदेखि त्यो योजना रोकिएको छ।
पुलहरुको यो कथाले पानामाको भूराजनीतिक हावा कता बहँदैछ भन्ने राम्ररी देखाउँछ। आन्ध्र र प्रशान्त महासागर जोडिएको स्थान र उत्तर र दक्षिण अमेरिकाको बीचमा अवस्थित यो मुलुक रणनीतिक रुपले अति महत्वपूर्ण मानिन्छ।
यो मुलुक पहिले स्पेनको उपनिवेश थियो। अहिले पानामा पुरानो विश्व व्यवस्थाको रक्षक अमेरिका र उदाउँदो शक्ति चीनबीचको खिचातानीमा परेको छ।
पानामाप्रति अमेरिका २०१७ देखि सशंकित हुन थालेको हो। त्यतिबेला अचानक पानामाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेर चीनसँग सम्बन्ध स्थापना ग¥यो।
त्यही बेलातिर चिनियाँ लगानीका थुप्रै परियोजना घोषणा गरियो। जसमा क्रुज जहाजको एउटा टर्मिनल, एउटा कोस्टारिकासम्मको तीव्र गतिको रेलमार्ग, एउटा विशाल सम्मेलन केन्द्र, पानामा नहरमा चौथो पुल र नहरनजिकै नयाँ चिनियाँ दूतावास थिए।
तर, २०१९ मा पानामाको राष्ट्रपति फेरिए। साथै, सरकारी अधिकारीहरुले गोप्य रुपमा बताएअनुसार अमेरिकाले पनि चर्को लबिइङ ग¥यो। जसका कारण हाल चिनियाँ परियोजनाहरुको संख्या घटेको छ।
क्रुज जहाजको टर्मिनल त निर्माण सम्पन्न हुन लागिसकेको छ। सम्मेलन केन्द्र पनि उद्घाटन भइसकेको छ। तर, अरु परियोजनाहरु या त ढिलाइ भएको छ, या त बन्द गरिएको छ।
पानामाका लागि चिनियाँ राजदूत वेइ चियाङ आक्रोशित छन्। ‘विश्वको एक मात्र महाशक्ति मुलुकलाई यति साह्रो त्रास किन हुन्छ, म बुझ्दििनँ,’ अमेरिकाले चिनियाँ परियोजनाहरुको विरोध गरेकोप्रद्धि क्रुद्ध हुँदै उनले भने, ‘यस्तो उन्माद र हिंस्रक भावना त शीतयुद्धमा हुन्थ्यो। यो नयाँ मेकार्थीवाद हो।’
आधिकारिक हिसाबले त अमेरिकाले कुनै कूटनीतिक बलप्रयोग गरेको छैन। ‘फिटिक्कै छैन। अमेरिकाले कुनै पनि खालको दबाब दिएको छैन। छँदैछैन,’ पानामाका राष्ट्रपति लाउरेन्टिनो कोर्टिजो भन्छन्।
तर, ला प्रेन्सा नामक पत्रिकाकी म्यानेजिङ एडिटर रिटा भास्क्वेज फरक धारणा राख्छिन्। ‘यो सरकारले चीनसँग सम्बन्धविच्छेद गरेको जस्तो देखिन्छ,’ उनी भन्छिन्, ‘यो सरकार बन्नेबित्तिकै कोस्टारिकासम्मको तीव्रगतिको रेल परियोजना बन्द गरियो।’
२० औँ शताब्दीभर पानामा अमेरिकाको प्रमुख प्राथमिकतामा थियो। अमेरिकीहरुले पानामालाई कोलम्बियाबाट अलग हुन सहयोग गरे। बदलामा अमेरिकाले पानामालाई नहर बनाउने जमिनको एउटा टुक्राको स्वामित्व दियो। यहाँ ठूला हवाई र नौसैनिक शिविरहरु बनाइए। साथै अमेरिकी सेनाको साउदर्न कमान्डको मुख्यालय पनि यहीँ राखियो। अमेरिकी सेनाको त्यो उपस्थिति १९९९ सम्म रह्यो।
अर्कोतिर पानामा भने दशकौँदेखि चीनसँग सम्बन्ध निर्माण गर्ने कोसिसमा थियो। पानामाका तत्कालीन राष्ट्रपति एरिस्टाइड्स रोयोले चीनसँग कूटनीतिक सम्बन्धका लागि १९७९ मा कुराकानी सुरु गरेपछि अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले नै फोन गरेको पानामाका पूर्वविदेशमन्त्री जर्ज रिटर सम्झिन्छन्।
‘कार्टरले पानामाको नहर क्षेत्रको स्वामित्व हस्तान्तरण गर्ने सन्धि संसदबाट निकै कठिन तरिकाले पास गराइएको बताए,’ रिटर भन्छन्, ‘उनले रोयोसँग बिन्ती नै गरे, ‘मलाई यस्तो अप्ठेरोमा नपार्दिनुस्।’ त्यसपछि रोयोले (चीनसँग सम्बन्ध स्थापना) यसलाई सदाका लागि बिसाइदिए।’
तर, यो शताब्दीमा अमेरिका अन्य विश्वव्यापी घटनाक्रमहरुमा केन्द्रित भयो र पानामा पछाडि छुट्यो। ‘यस्तो भयो, मानौँ हामी अमेरिकाको एजेन्डामै थिएनौँ,’ पानामाका एक पूर्वराष्ट्रपतिले बिलौना गरे, ‘चार वर्ष त अमेरिकाले हामीकहाँ राजदूत समेत पठाएन। मानौँ, यो क्षेत्रप्रति उनीहरुको कुनै चासो नै छैन।’
अमेरिकाकै सहयोगी राष्ट्रपति कोर्टिजोसमेत ठुल्ठूला विकास परियोजना सम्पन्न गर्ने अमेरिकाको वाचा पुरा नभएको देख्दा निराश छन्। उनी एक वर्षअघि ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ को नारा लगाउँदै बाइडेन प्रशासनको एक प्रतिनिधिमण्डलले पानामा भ्रमण गरेको सम्झिन्छन्।
‘तर, अहिलेसम्म केही पनि उपलब्धि हासिल भएको छैन,’ उनले सुस्केरा छाडे।
अर्कोतिर चीन तीव्र गतिमा अघि बढिरहेको छ। यो वर्ष चीनले पानामाको व्यापार मेलामा कम्पनीहरुको सबैभन्दा ठूलो प्रतिनिधिमण्डल पठायो। केही महिनाभित्रै उसले नयाँ दूतावास भवन निर्माणको काम थाल्ने भएको छ। चौथो पुल निर्माणको काम पनि अघि बढ्ने तरखरमा छ।
थप लगानी आउँदा पानामाका नागरिकहरु खुसी त छन्। तर, आफ्नो अत्यन्त मूल्यवान तटस्थता कायम राख्न कठिन हुँदै गएकोमा उनीहरु चिन्तत छन्।
‘हाम्रोजस्तो नाजुक र सानो मुलुकका लागि तटस्थता आवश्यक मात्र छैन। हामीले लिनसक्ने एउटै पोजिसन भनेकै तटस्थता हो,’ रिटर भन्छिन्।
हुन त पानामाका लागि अमेरिकी राजदूत म्यारी कारमेन अपोन्ट पनि भन्छिन्, ‘पानामालाई अमेरिका र चीनमध्ये एउटा रोज भन्न म आएकी होइन।’
तर, पानामाबासीहरुलाई प्रायः यस्तै दबाब महसुस हुन्छ।
(फाइनान्सियल टाइम्सबाट)
Shares
प्रतिक्रिया