ad ad

विचार


भारतलाई निर्धक्क भनौँ– हाम्रो घरभित्र धर्म–राजनीति नखेल

भारतलाई निर्धक्क भनौँ– हाम्रो घरभित्र धर्म–राजनीति नखेल

धार्मिक विवाद धरानबाट मलंगवा हुँदै नेपालगञ्ज पुगेपछि बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘सेनालाई तम्तयार अवस्थामा रहन’ निर्देशन दिएको छ (रासस)


जेवी पुन मगर
असोज २०, २०८० शनिबार ६:३९, काठमाडौँ

नेपालगञ्जमा धर्मको नाममा वितण्डा उठेपछि व्यक्ति मात्र होइन, सामाजिक अभियन्ता, राजनीतिक दल, गैरसरकारी संस्था र सरकारका संयन्त्र सबै सामाजिक सद्भावको ‘कोरस गान’ मा लामबद्ध देखिन्छन्। भर्चुअल माध्यमबाट उठेको भए पनि यस्तो सदीक्षालाई सकारात्मक रुपमा लिन सकिन्छ। तर देशमा बढिरहेको धर्म–राजनीतिको विषाक्त हावा यतिले मात्र शुद्ध हुने अवस्थामा छैन भन्ने कुरा विकसित घटनाक्रम र सरकारका पछिल्ला निर्णयहरुले नै प्रष्ट देखाइरहेका छन्। 

धार्मिक विवादका कारण धरानमा ८ भदौ, सर्लाहीको मलंगवामा २३ भदौ (दोस्रोचोटि ४ असोज) र नेपालगञ्जमा ५ दिनदेखि कर्फ्यु लगाएर सामाजिक विग्रह रोक्ने प्रयत्न गरिएको छ। धार्मिक वितण्डा फैलँदै जान थालेपछि बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘सेनालाई तम्तयार अवस्थामा रहन’ निर्देशन दिएको बताइएको छ। 

यी घटनाक्रमहरुले मौलवी, पण्डित र पादरीकोे संयुक्त तस्बिर सामाजिक सञ्जालमा राख्दै सामाजिक सद्भावका ‘मालश्री’ गाउँदैमा मात्र धार्मिक सहिष्णुताको जग बलियो हुने अहिलेको समय होइन रहेछ भन्ने देखाउँदछ। 

के त्यसो भए बहुसांस्कृतिक समाजको मेरुदण्ड भाँचिनेगरी धर्मका नाममा जेजति आपराधिक क्रियाकलाप सतहमा देखिएका छन्, सरकार त्यसलाई रोक्न गम्भीर रुपमा लागिपरेको छ त?

व्यवहारले त्यस्तो देखाउँदैन। केही दृष्टान्तहरुको चर्चा गरौँ।

यो वितण्डाको प्रारम्भथलो धरानबाट सुरु गरौँ। गएको वैशाखमा विजयपुर डाँडोमा अवस्थित गोपाल मन्दिरको सम्मुख चर्च (होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च) खडा भएपछि उठेको विवाद निराकरणका नाममा विजयपुर धार्मिक संरक्षण समन्वय समितिले एकजना सन्तलाई मन्दिरमा डाकी प्रवचन गर्न लगायो। प्रवचनकर्ता थिए, आपराधिक क्रियाकलापमा मुछिएका चतरा आश्रम बनाइ बसेका बाराका दिनेश पण्डित उर्फ आचार्य श्रीनिवास। 

हिन्दू धर्म र गौरक्षाको नाममा ‘मारकाट’ भन्दा तल कुरा नगर्ने र धार्मिक आस्थावानहरुलाई हिंसाका निम्ति उक्साउन खप्पिस नाथुराम गोड्से (महात्मा गान्धीका हत्यारा) विचारबाट असाध्यै प्रभावित यी आचार्यले त्यहाँ पनि त्यस्तै उत्तेजक भाषण दिए। २०७४ साल चैतमा विराटनगरमा आफ्ना दुई चेलाबाट स्वंयलाई गोली हान्न लगाई त्यसको दोष जातीय संस्थाहरुको थाप्लोमा लगाउने प्रपञ्च रचेका यी सन्तको आपराधिक योजना प्रहरीको अनुसन्धानबाट उदांगो भएपछि उनलाई २४ वैशाख २०७५ मा पक्राउ गरिएको थियो। तर यिनलाई त्यतिबेला दण्डित नगरिकनै छाडिएको थियो। 

उनै सन्तले ५ वर्षपछि धरानमा उत्पन्न विवादको मौका छोपेर मेयर हर्क साम्पाङलाई इसाई मिसनरी भएको मिथ्या आरोप लगाउँदै चर्च भत्काउन र इसाईहरु विरुद्ध जाइलाग्न उर्दी नै जारी गरे। टिकटक र रिलबाट फैलाइएको उनको त्यस्तो ‘मर्ने–मार्ने’ भाषणको दुष्प्रभाव तत्काल देखियो। हिन्दू धर्म रक्षाका नाममा विभिन्न स्थानबाट धरानमा मान्छे ओइरिने घोषणा मात्र गरिएन, चर्च भत्काउने योजना समेत बनाईयो। स्थिति धार्मिक दंगाको तहसम्म पुग्न थालेपछि सर्वपक्षीय सहमतिपछि प्रशासनले धरानमा कर्फ्यु जारी गर्यो। 

प्रशासनको निर्णयबाट रिसाएका श्रीनिवासजस्ता उग्रपन्थीहरुले ‘हिन्दू धर्मका निम्ति खतरा’ देखेका राई–लिम्बूहरुमाथि पनि यही मौकामा प्रहार गरे। गोवधसँग जोडेर उनीहरुविरुद्ध जातीय उग्रताले भरिएका विषाक्त वक्तव्यबाजी जारी गरे। जनकपुरमा हिन्दू सम्राट नेपालले एउटा विरोधसभा नै आयोजना गरी ‘धरानका इसाई मेयर हर्क साम्पाङलाई कार्वाही गर! राई–लिम्बू मुर्दावाद’ जस्ता जातीय विद्वेषका नाराबाजी गरी त्यसको भिडिओ सञ्जालमा फैलायो।

हिन्दू समाजले एउटी शान्तिप्रिय समाजसेवीको रुपमा चिनेको झापाकी एकजना ‘माता’ ले भीडलाई सम्बोधन गर्दै धरानलाई निमेषमै ‘सिध्याउन सकिने’ सम्मको वक्तव्यवाजी गरिन्। धर्मगुरु भनी चिनिएकाहरुबाट निस्किएका यस्ता वक्तव्य स्वतस्फूर्त रुपमा आएको जस्तो देखिँदैनथ्यो।
 
तर भिन्न धर्म र जातजातिविरुद्ध विषवमन गर्दै हिँडेका यी ‘धर्मरक्षक’ हरुलाई प्रशासनले केही नगरी खुला साँढेलाई झैँ छाडिरहयो। न तिनको उग्रता रोकियो, न धरानबाट उठेको धार्मिक लफडा साम्य नै भयो। वितण्डाले झन् आकार लिँदै गयो। त्यसको पहिलो तारो मलंगवा हुनपुग्यो। मंगलवामा मुस्लिमविरुद्ध हिंसा भड्काउन अतिवादी र स्थानीय प्रशासनको विश्लेषणमा ‘कतैबाट परिचालित’ अतिवादी संस्था हिन्दू सम्राट नेपाल खुलेर लागेको थियो, जसको कनेक्सन श्रीनिवाससँग देखिएको थियो। मलंगवामा इसाईविरुद्धको धर्मान्धता इस्लामतर्फ सोझिँदा समेत गृहप्रशासनले उनलाई नियन्त्रणमा लिई ‘सम्झाउने–बुझाउने’ काम समेत गरेन।

गृहप्रशासनको खुकुलोपनाबाट हौसिएर श्रीनिवास र हिन्दू सम्राट नेपालजस्ता उग्र हिन्दूत्ववादी संस्थाको आयोजनामा नेपालगञ्जमा धार्मिक विवाद सल्कनु ठिक अगाडि (१२ असोजमा) जनकपुरमा फेरि एउटा कार्यक्रम आयोजना गरियो, जसमा अल्पसंख्यक धार्मिक समुदायलाई ललकार्दै भाषणबाजी गरियो। यो कार्यक्रममा आफ्ना सहयोगी सहित खुकुरी बोकेर गएका श्रीनिवासले कार्यक्रममै खुकुरी नचाउँदै धरान र पूर्वी पहाडमा गोवध बढेकोले त्यसरी ‘गोवध गर्नेहरुलाई खुकुरीले छप्काउन’ आह्वान गरे। त्यसो गर्दा ‘मारिएकाका सन्तानलाई आफूले पालनपोषण गर्ने’ उनको भनाइ थियो। यतिञ्जेल पनि गृहप्रशासन देखेकोनदेख्यै, सुनेकोनसुन्यै बसिरहयो। चौतर्फी दबाबपछि मात्र घृणाका यी दूतलाई चार दिनपछि (१६ असोज) नियन्त्रणमा लिइयो र त्यसको दुई दिन पछि पाँच सय रुपियाँ जरिवाना गराएर छाडियो।

सीडीओ ताक्ने अतिवादी जत्था 
मलंगवामा मुस्लिम समुदायको घर र मस्जिदमा तोडफोड र लुटपाटमा संलग्न हिन्दू सम्राट नेपालका उपाध्यक्ष सर्लाही खुटौनाका कृष्ण यादव सहित उनका केही सहयोगीलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। तिनलाई थुनामा पठाउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले त्यतिबेला नेपालखबरसँग कुरा गर्दै ‘हिन्दू सम्राट नेपाल कतैबाट परिचालित रहेको’ बताएका थिए।

त्यसको केही दिनपछि यो संस्थाका अध्यक्ष राजेश यादवले ‘ग्रुप म्यासेज’ मा आफ्ना साथीभाइहरुमाझ प्रवाह गरेको एउटा सन्देशमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ‘निसानामा लिन’ भनिएको थियो। इन्द्रदेवलाई धर्मकर्म नमान्ने भन्दै उनले बाहिरिएको त्यस अडियोमा भनेका छन्, ‘सर्लाहीको यो सीडीओले भगवा गम्छा भिर्दैन, टीका लगाउँदैन, जय सिया राम पनि बोल्दैन। त्यसैले यसको भिडिओ बनाऔँ र सर्लाहीका सबैलाई ट्याग गरौँ। यसलाई टार्गेट गर्न जरुरी छ।’

मलंगवा घटनालगत्तै (३१ भदौ २०८०) हिन्दू सम्राट नेपाल केन्द्रीय कार्यालयको नाममा त्यसका महासचिव राकेशकुमार यादवद्वारा हस्ताक्षरित एउटा पर्चा बाहिरिएको छ। जसमा ‘मुस्लिम, क्रिस्चियन र दलितहरुलाई देशबाट भगाउन नसके यो पवित्र भूमि शुद्ध नहुने’ लेखिएको छ। 

यसबारे हामीले जिल्ला प्रशासन प्रमुख इन्द्रदेव यादवसँग सोधेका थियौँ।

‘मलाई घेराबन्दी गरी ममाथि आक्रमण गर्ने योजनादेखि लिएर तिनले प्रसारित गरेका पर्चापम्फलेट बारेमा सबै थाहा छ। यसबारेमा गृह मन्त्रालयबाट पनि सोधनी भएको थियो,’ यादवको जवाफ थियो, ‘मैले त्यो संस्थाका नेताहरुलाई ल्याएर सोध्दा त्यो पर्चा हामीले फैलाएका होइनौँ भने। छाडिदियौँ। तर उनीहरु सबै हाम्रो निगरानीमा छन्।’

एकातर्फ उनी त्यस्तो भनिरहेका थिए भने अर्काेतर्फ हिन्दू सम्राट नेपालका बदमासी घट्नुको साटो बढिरहेको थियो। यी संस्थाका मान्छे बताउनेहरुले जनकपुरमा धरानबाट गएका क्रिस्चियन धर्मप्रचारक दम्पतीलाई कालोमोसो दलेर सहर घुमाए। त्यसलगत्तै यही संस्थाको नाममा रुपन्देहीको देवदह प्रगतिनगरमा स्थानीय विद्यालयका प्राचार्य बौद्ध अनुयायी वासुदेव थारुलाई कालोमोसो दली उल्टै धकधई प्रहरीचौकीमा लगी ‘कालोमोसो लगाउनेहरुको विरुद्ध उजुरी दिनेछैन’ भन्ने कागज बनाएर छाडिदिए। 

लगत्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ मा क्रिस्चियनहरुलाई कालोमोसो दलेर गाउँ परिक्रमा गराउने काममा पनि यही संस्थाको अग्रता थियो। अचम्म के थियो भने अघिअघि प्रहरी, बीचमा कालोमोसो दलिएका मान्छे र पछाडि नाराबाजी गरिरहेका अतिवादीहरुको भीड थियो। त्यसपछि कानुन हातमा लिई समाज खल्बल्याउने यो जत्थाको धर्म–राजनीति अहिले नेपालगञ्ज सम्म पुगेर भाँडभैलो मच्चाइरहेको छ। धरान–मलंगवा– कपिलवस्तु हुँदै नेपालगञ्जसम्म पुगेका उन्मादीहरुमाथि गृहप्रशासनको नियन्त्रण नै देखिँदैन। त्यसैले अल्पसंख्यक धार्मिक समुदाय त्राहिमाम् देखिन्छ। ती प्रधानमन्त्रीसँग भेटी जीवनरक्षाको माग गर्ने अवस्थामा पुगेकाछन्।

दक्षिणी विषाक्त हावा 
देशमा उठिरहेको धर्म–राजनीतिको यो विषाक्त हावा तत्काल उठेको होइन। यसको बहावले बहुसांस्कृतिक समाजलाई हल्लाउन थालेको धेरै भइसक्यो। घृणा पढाउने यस्तो विषाक्त राजनीति कताबाट र कसको स्वार्थद्वारा परिपोषित छ, त्यो पनि कसैबाट छिपेको छैन। यसबाट निम्तिने सम्भावित दुर्गतिबाट हाम्रा नेतृत्व बेखबर थिए र छन्, यस्तो पनि होइन। तर ती आँखा चिम्लेर बसिरहेका थिए।

तपाईंलाई स्मरण छ, २४ वैशाख २०७९ मा हिमाल मिडिया मेलामा म्याग्सेसे पुरस्कारबाट विभुषित भारतीय सञ्चारकर्मी रविशकुमारले हामीलाई चेताएको शब्द? बिर्सिएको भए म तपाईंलाई याद दिलाउँछु।

‘भारतीय समाज धर्म–राजनीतिले तहसनहस भइसकेको छ। त्यो यहाँ छिरेको छैन भनेर मख्ख नपर्नाेस्। यो बाजा बजाएर आउँदैन। रातारात आउँछ,’ उनले त्यतिबेला चेताउदै भनेका थिए, ‘तपाईं जाग्दानजाग्दै यसले बर्बाद पारिसकेको हुन्छ। हाम्रो अनुभवबाट पाठ सिक्नोस्।’ 

त्यसको एक वर्षपछि हिमाल मिडिया मेलामै संभाषण दिन आइपुगेका भारतीय वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनको खबरदारी पनि त्यस्तै थियो।

नेपालखबरका निम्ति मैले गरेको अन्र्तवार्तामा सिद्धार्थले भनेका थिए, ‘अहिलेको घडीसम्म नेपाल दक्षिण एसियाकै लोकतान्त्रिक अभ्यास भइरहेको देश हो। यसलाई बचाइराख्न भारतीय समाजलाई तहसनहस बनाइरहेको हिन्दूत्व राजनीतिबाट बच्नुहोला।’

दक्षिणबाट आरएसएस संरक्षित हिन्दूत्व राजनीति नेपाल उक्लिए त्यसले वित्यास पार्ने हुँदा सचेत रहन उनले नेपाली राजनीतिज्ञ, मीडिया र बौद्धिकवर्गलाई सुझाव दिएका थिए। 

माथि नै भनिसकेँ, खुला सिमाना भएको दक्षिणी छिमेकमा के भइरहेको थियो, हाम्रो नेतृत्वले थाहा नपाएको होइन। तर आरएसएसको बौद्धिक ब्याकअपमा चल्ने मोदीराज खुसी भए सत्तारोहणको यात्रामा बाधाबिघ्न उत्पन्न नहुने स्वार्थी विश्लेषणमा लागेको हाम्रो नेतृत्वले समाज भाँडिरहेको धर्म–राजनीतिमा प्रत्यक्ष/परोक्ष सहभागिता जनाउँदै गयो। प्रधानमन्त्री प्रचण्डको गेरुवा स्वरुप धारणको पछाडि पनि यही राजनीतिक अभीष्ट लुकेको थियो। यो दौडमा कोहीभन्दा कोही कम देखिँदैनन्। 

आधुनिक भारतीय राजनीतिसँग विशिष्ट सम्बन्ध राख्ने दल नेपाली काङ्ग्रेसभित्रै हेरौँ। संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा भाजपाको निमन्त्रणामा आफ्ना दूत (प्रकाशरण महतको नेतृत्वमा ३ जना) लाई दिल्ली पठाउँछन्, तर ती अन्य भाइचारा सम्बन्ध भएका दलका नेताहरुलाई हाइहल्लो नभनिकनै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग आशीर्वचन लिई स्वदेश फर्कन्छन्।

अर्काेतर्फ ‘काङ्ग्रेसभित्रको प्रतिपक्ष’ शेखर कोइरालाले संविधानमा धर्मनिरपेक्षता तत्कालीन संविधान सभा अध्यक्ष सुवास नेम्वाङ र आफ्नै सहकर्मी नेता कृष्ण सिटौलाले सुटुक्क घुसाएको भन्दै गैरजिम्मेवार अन्र्तवार्ता दिँदै हिँडिरहेका छन्। त्यतिमात्र नभई उनको छत्रछायामा गोलबद्ध युवा नेताहरुको झुण्ड राजनीतिक दलका कार्यकर्ताभन्दा धार्मिक पन्थका सन्तहरु जस्तो ‘फेसन’ गरी सार्वजनिक व्यक्तित्व प्रदर्शन गरिरहेका छन्। ती युवा नेताहरुले बीपी धर्मनिरपेक्षवादी थिएनन् भन्दै तर्क गर्न थालेका छन्।

हालसालै ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति’ किताब लेखेका राजनीतिशास्त्री कृष्ण खनाल भन्छन्, ‘अस्ति महोत्सव (बीपी साहित्य महोत्सव) मा गएको हाम्रा युवा नेताहरु पनि सबै टीका र माला लगाएर हिँडिरहेका छन्। त्यो देखेर मैले त त्यहीँ भनिदिएँ, हामी मध्ययुगमा छौँ जस्तो लाग्यो।’

भदौको अन्तिम साता नेपाल–भारत सम्बन्धका जानकार नेपालीसत्तासँग नजिक रही काम गरेका हरि शर्मासँग यही विषयमाथि लामो कुराकानी गरेको थिएँ। राजनीतिशास्त्री हरि शर्मा दक्षिणलाई खुसी तुल्याउन सबै धर्म–राजनीतितर्फ लहसिएको तर्क गर्छन्। संविधान जारी गर्दा नेपाललाई ‘हिन्दू राष्ट्र’ घोषणा गर्न भारतीय जनता पार्टी नेतृत्वको सरकारले दिएको दबाब नमानेपछि मोदी सरकारले अझैसम्म हाम्रो संविधानलाई मान्यता दिएको छैन। तिनको कुरा नमानेपछि हामीले नाकाबन्दीको समेत सामना गर्नुपर्यो। 

त्यसैले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को निर्देशनमा चल्ने मोदी सरकारका जासुसी संयन्त्र सहित आरएसएसका प्रचारकहरु हाम्रो नेतृत्व कमजोर भएको मौका छोपी नेपालभित्र भाँडभैलो मच्चाइ आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न खोजिरहेको दक्षिण एसियाली राजनीति बुझेका कनकमणि दीक्षितको विश्लेषण छ।

‘अहिले मोदी भारतमै कमजोर हुँदै गैरहेका छन्। २०२४ मा हुन गैरहेको विधानसभा चुनावमा फेरि आफैँ जित्न खोजेका मोदीले अनेकन तिकडम गरिरहेका छन्,’ दीक्षित भन्छन्, ‘तत्काल भारतमा हिन्दू राष्ट्र बनाउन नसकिने हुनाले नेपालमा त्यस्तो प्रयत्न भैरहेको छ र यहाँ भारतमा झैँ समाज तहसनहस बनाउने धर्म–राजनीतिको विष छर्न खोजिएको छ। त्यसैले खतरनाक यो राजनीतिको प्रतिरोध गर्न अत्यावश्यक छ।’ 

नेपालखबरले गरेको ‘हिन्दूत्व राजनीति’ विमर्शले प्रष्ट भन्न खोजेको सन्देश के हो भने धर्म–राजनीतिले हाम्रो बहुसांस्कृतिक समाजमा ‘गहिरो पैठ’ जमाइसकेकोले नागरिक समाज, बौद्धिकवर्ग र सञ्चारकर्मीले आफ्नो विवेक र कौशल दुवै प्रदर्शन गर्ने संवेदनशील समयकालमा प्रवेश गरिसकेका छौँ हामी। धरान–मलंगवा–कपिलवस्तु हुँदै नेपालगञ्जसम्म पुगेको धार्मिक उन्मादलाई शान्त दिमागले केलाउँदै चिन्तन गरेपछि देखिने डरलाग्दो तस्बिरबाट पनि जागृत नहुने हो भने यसले बहुसांस्कृतिक समाजलाई तहसनहस बनाउने निश्चित छ। त्यस्तो सन्निकट संकटमा छौँ हामी। 

तर न हाम्रो प्रबुद्ध समाज यस्तो संवेदनशील मुद्दामा गम्भीर चिन्तनमा देखिन्छ, न राजनीतिक नेतृत्वले सुनेजस्तो गरेको छ। लामो समय मौनधारण गरेर बसेका सञ्चारकर्मी र बौद्धिक वर्गले बल्ल मुख खोल्न थालेका छन्। यो राम्रो भएको छ। राजनीतिक नेतृत्वले गाउँस्तरसम्म संगठित आफ्ना कार्यकर्तालाई यस्तो विषाक्त राजनीतिबाट बच्न र बचाउन टड्कारो कदम चाल्न ढिला भइसकेको छ। 

यति गन्थन–मन्थन गरिसकेपछि निस्कने योगफल के हो भने सत्ता र भू–राजनीति राम्ररी बुझेका विश्लेषकहरुले अहिले देशभित्र चलिरहेको धर्म–राजनीतिको खेल दक्षिणी छिमेकबाट छिरेका संयन्त्रले खेलिरहेको खुलस्त भनिसकेको अवस्थामा राज्यले गम्भीर भएर आफ्नो रणनीति बनाउन जरुरी भइसकेको छ। अब हाम्रो नेतृत्वले दक्षिणी समकक्षीसँग कुरा नचपाइ निर्धक्कसँग ‘हाम्रो घरभित्र धर्म–राजनीति नखेल’ भन्ने आँट देखाउने बेला आइसकेको छ। के त्यस्तो आँट अहिलेको सत्ता–गठबन्धनको राजनीतिक नेतृत्वले गर्न सक्ला?

(यो आलेखको शीर्षक परिवर्तन गरिएको छ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .