ad ad

विचार


मोदीले बुझेको, विश्वका अरू नेताले चाल नपाएको चुनाव जित्ने सूत्र

मोदीले बुझेको, विश्वका अरू नेताले चाल नपाएको चुनाव जित्ने सूत्र

मिहिर शर्मा
चैत ६, २०८० मंगलबार १९:१४,

भारतमा आम चुनावसँग जहिले पनि उत्साह र अनिश्चितता गाँसिएको हुन्थ्यो। सर्वेक्षणहरूमा पार्टीहरू अघिपछि भइरहन्थे। गठबन्धन बन्थे, भत्किन्थे। विश्लेषकहरूले नीतिगत विषयमा मिहिन चर्चा गर्थे र सयौँ उम्मेदवारहरूको जितको सम्भावना तौलिन्थे। 

तर, आज भारत १८ औँ आम चुनावको प्रक्रियामा प्रवेश गर्दैगर्दा वातावरणमा कुनै उर्जा, कुनै तनाव छैन। तेस्रो कार्यकालका लागि चुनावमा उत्रिन लागेका प्रधानमन्त्री नरेन्द्र मोदी हार्लान् भनेर विश्वास गर्ने व्यक्ति फेला पार्न मुस्किल छ।

यतिबेला मोदीले आफू विश्वको सबैभन्दा लोकप्रिय राजनीतिक नेता भएको दाबी गर्न सक्छन्। जनमत सर्वेक्षणहरूमा देखिन्छ– हरेक चारमध्ये तीन भारतीय उनको कार्यसम्पादनको अनुमोदन गर्छन्। उनीसँग तुलना गर्न मिल्नेगरी रेटिङ पाउने एक मात्र अर्का नेता मेक्सिकोका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर हुन्। 

अन्यत्र पपुलिस्ट बाहुबली नेताहरू यतिसाह्रो लोकप्रिय छैनन्। ब्राजिलका जायर बोल्सोनारोले चुनाव हारे र सत्ताच्युत भए। टर्कीका रेसेप तैयप एर्दोगानले मुस्किलले चुनाव जिते। त्यसविपरीत मोदी भने कुनैबेला प्रतिस्पर्धात्मक हुने चुनावमा यसपटक जितमा विश्वस्त भएर होमिन सक्छन्।

एक दशक सत्तामा बसिसकेपछि पनि मोदीले कसरी आफ्नो राजनीतिक प्रभुत्व कायम राखे त? उनको सफलताका केही तत्वहरू निराशाजनक रुपले अनुदार छन्। यो सबैलाई थाहा छ। भिक्टर अर्बानको हंगेरीमा जस्तै सत्तामा रहेको संस्थापन पक्षीय शक्तिले प्राज्ञिक जगत, नागरिक समाज र मिडियाका तर्फबाट हुने आलोचनालाई विधिपूवर्क अवैध वा अप्रासंगिक बनाइदिएको छ। 

अनि भ्लादिमिर पुटिनको रुसमा जस्तै विपक्षी नेताहरूलाई वित्तीय सहायताबाट बञ्चित पारिएको छ। उनीहरूमाथि सन्दिग्ध रुपमा नियमित अनुसन्धान हुने गरेको छ। र, उनीहरूलाई पुनर्संगठित हुने कुनै मौका दिइएको छैन। भारतको चुनाव अझैसम्म स्वतन्त्र त छ तर अब पूरै निष्पक्ष भने नहुन सक्छ।

यस्ता रणनीतिले राजनीतिक खेल सत्ताधारीको पक्षमा ढल्काउन सक्छ। तथापि, त्यसले भारतजस्तो विशाल र विविधतापूर्ण मुलुकमा जितको ग्यारेन्टी भने दिँदैन। मोदी सत्तामा हुँदा पनि उनको भारतीय जनता पार्टीले समग्र मतको ४० प्रतिशतभन्दा ज्यादा कहिल्यै पाएको छैन। 

मोदीको लोकप्रियताको असली रहस्य यस्तो छ– अमेरिकाका डोनाल्ड ट्रम्पसहित विश्वका लगभग सबै बाहुबली नेताहरूको विपरीत र उनकै भाजपाविपरीत अहिले मोदी आफ्ना समर्थकहरूको आक्रोश भड्काउनमा ध्यान केन्द्रित गर्नुको सट्टा मतदातालाई अन्य उपायबाट आकर्षित गर्छन्।

ट्रम्प र उनका अधिनायकवादी साथीहरूलाई यकिन छ– समाजको विभाजनलाई जति चर्कायो, त्यति त्यसबाट फाइदा उठाउन सकिन्छ र सफल हुन सकिन्छ। यो उपाय ती मुलुकका हकमा सफल हुन्छ, जहाँ नेताको समर्थकमा रहेको उत्साह अलिकति घटबढ हुँदा पनि चुनावमा जित वा हार हुनसक्छ।

तर, भारत धेरै मत खस्ने मुलुक हो। गत आम निर्वाचनमा ६७ प्रतिशत मतदान भएको थियो। खासगरी मोदी आफ्ना समर्थकहरूले मत दिइहाल्छन् भन्नेमा यति ढुक्क छन् कि अहिले उनी अरुलाई आफू गैरराजनीतिक नेता भएको विश्वास दिलाउनमा राजनीतिक पुँजी खर्च गरिरहेका छन्।

थुप्रै भारतीयका लागि, यहाँसम्म कि जो भाजपालाई भोट दिँदैनन्, तिनका लागि पनि मोदी एक हिस्सा राजा र एक हिस्सा धर्मगुरु हुन् भने अर्को हिस्सा दयाका प्रतिमूर्ति। मोदी विद्यार्थीहरूलाई परीक्षाका लागि कडा तयारी नगर्न चेतावनी दिन्छन्। उनले बारम्बार मन्दिरमा पूजा गरिरहेको वा हिमालयमा तपस्या गरिरहेको तस्बिर सार्वजनिक हुन्छन्। 

मोदीको चेहरा हाम्रो सहर, बजार जहाँसुकै छ। खासगरी ती ठाउँमा जहाँ भारतीयहरूले कल्याणकारी राज्यका संयन्त्रसँग अन्तर्क्रिया गर्छन्। यहाँसम्म कि महामारीको क्रममा खोप लगाएको प्रमाणपत्रमा समेत।

यसले उनीविरुद्ध चुनाव लड्न असम्भव बनाइदिन्छ। उनको राजनीतिक अडान वा नीतिगत निर्णयको आलोचनाले उनलाई छुँदैन। किनकि उनी यस्ता सांसारिक विचारहरूबाट बाँधिएका छैनन्।  मोदी आफूलाई बायाँतर्फका मान्छेहरूभन्दा ज्यादा लोक कल्याणकारी, दायाँपट्टिकाहरूभन्दा ज्यादा राष्ट्रवादी र उदार–मध्यपन्थीहरूभन्दा ज्यादा विश्वव्यापीकरण पक्षधरका रुपमा प्रस्तुत गर्छन्।

प्रधानमन्त्री मोदी यस्ता राजनीतिक विरोधाभासहरूलाई बेच्न माहिर छन्। पहिचानको राजनीतिबाट थकित उच्च जातिका मतदातालाई आकर्षित गर्न एक दिन उनी भन्छन्– भारतीयहरूले जातीयताभन्दा माथि उठेर निर्णय गर्न जरुरी छ। अर्को दिन उनको पार्टी कुनै जातीय समूहले मागेबमोजिमको पहिचान र आरक्षण दिने निर्णय गर्छ। यस्तो विसंगति र बेमेलबाट मतदाता प्रभावित भएको देखिँदैन।

विपक्षी नेताहरू बिल्कुल निहत्था र पराजित भएका छन्। अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, जलवायु परिवर्तन, रोजगारी, भ्रष्टाचार, जनसेवाजस्ता सम्भव हुनेजति सबैखाले मुद्दा सत्तारुढ दलले कब्जा गरिसकेको छ। विपक्षीसँग सत्तारुढलाई आक्रमण गर्ने कुनै हतियार बाँकी छैन। 

मोदीको यस्तो प्रभुत्व रातारात वा सजिलै गरी हासिल भएको होइन। मोदी र भाजपा यसका लागि वर्षौंवर्ष चौबीसै घण्टा खटेका छन्। उनीहरू हरेक चुनाव सम्पूर्ण बल लगाएर लड्छन्। जित्ने चुनाव पनि हारियो भने सबैथोक गुम्छ भन्ने ठानेर लड्छन्। यसबाट थाहा हुन्छ, महत्वहीन विपक्षी नेताहरूलाई पनि किन लोभ्याएर पार्टीमा ल्याइन्छ वा नआउनेलाई किन धम्क्याइन्छ। 

चुनावका बीचको महिनामा पार्टीको उच्च नेतृत्वले खासखास मतदाता समूहलाई ध्यानमा राखेर आफ्ना संकथनहरूलाई गोडमेल र काँटछाँट गर्छ। उनीहरूको प्रचार संयन्त्रलाई निरन्तर नयाँ नीतिगत प्रस्ताव, नारा र विवादका विषय दिइन्छ, ताकि मतदाता व्यस्त भइराखून्। 

भारतका उदार संस्थाहरूको क्षयीकरणका लागि निश्चय नै मोदीलाई उनको हिस्साको दोष दिनुपर्छ। तर, भारतको चुनावी राजनीतिप्रति उनी निस्सन्देह उत्साहित छन्। यसपालिको चुनाव भारतीयहरूमा जोस जगाउन विफल देखिन्छ। मलाई लाग्छ, चुनावप्रति सबैभन्दा उत्साहित व्यक्ति मोदी नै हुन्।

(ब्लुमबर्गबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .