मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाउँदैछन्।
धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ।
भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ। शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रुपमा भक्तपुर नगरको गाईजात्रालाई लिइन्छ।
मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगरपरिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ।
भक्तपुरको गाईजात्रा हेर्न उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती र विदेशीसमेत हजारौँको सङ्ख्यामा हेर्न आउने गर्दछ। त्यसैले भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ।
भक्तपुरमा गाईजात्राको औपचारिक सुरुबाट जनैपूर्णिमाको साँझ गरिन्छ। जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ।
जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा भाद्रशुक्ल प्रतिपदाको दिन सापारु मनाइन्छ।
भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो। अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्ग जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास छ।
घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा गोलाकार काठको लट्ठी एकआपसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ। घिन्ताङघिसीमा बच्चादेखि वृद्धसमेत सहभागी हुन्छन्।
Shares
प्रतिक्रिया