ad ad

राजनीति


'कांग्रेस एक्लै बहुमत ल्याउँछ, अरु दलसँग मिलेर चुनाव लड्छु नभने हुन्छ'

'कांग्रेस एक्लै बहुमत ल्याउँछ, अरु दलसँग मिलेर चुनाव लड्छु नभने हुन्छ'

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १४:४३, काठमाडौँ

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा अरु कुनै दलसँग तालमेल या गठबन्धन नहुने बताएका छन्। 

सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यसो भनेका हुन्। 

'कुनै पनि कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्त मतदान गर्दैन। यो बेलामा पार्टी जोगाउने नजोगाउने हाम्रो हातमा छ', थापाले अगाडि भने, 'कतिपय ठाउँमा हामी चुकेका छौँ। विगतका निर्वाचनमा पनि हामी चितवनसहितका ठाउँमा तालमेल गरेर गल्ती गर्यौँ। यो पटक कांग्रेस एक्लै लडेर बहुमत ल्याउँछ। कसैसँग तालमेल हुँदैन।'

उनले आगामी वैशाखमा स्थानीय चुनाव र मंसिरमा आमचुनाव हुने बताए। 'अब वैशाखमा स्थानीय तहको चुनाव हुन्छ। मंसिरमा आम चुनाव हुन्छ। अदालतले नै अर्ली इलेक्सन रोकिसकेको छ', उनले भने, 'कांग्रेसका कोही नेताले अन्य कोही दलसँग मिलेर चुनाव लड्छु नभने हुन्छ। कांग्रेसको मतदाताले रुख चिन्हबाहेक अन्त मतदान गर्दैन।'

उनले कांग्रेसका हरेक कार्यकर्ताले रुख चिन्हमा मत हाल्दै गर्दा बहुमत ल्याउने गरी लाग्नुपर्ने बताए। 

'कांग्रेस आगामी निर्वाचनबाट पहिलो पार्टी बन्ने भन्ने हो भने हामीलाई ३१ लाख होइन ४२ लाख मतदाता चाहिन्छ', थापाले भने, 'त्यसका लागि हामीले पुराना मतदाता जोगाउनुपर्छ, नयाँलाई फकाउनुपर्छ। कांग्रेस भनेको विचार हो, विचार तलमाथि भएमा गडबड हुन्छ। त्यसैले आफ्नो विचार छाडेर कांग्रेसले अरु चुनाव चिन्हमा भोट हाल्दैन।'

२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताए। 

'चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो', उनले भने, 'चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए। हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन। अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउँछ।'

उनले अबको निर्वाचनमा ३० लाख नयाँ मतदाता थपिने बताउँदै तिनलाई पनि रुखमा भोट हाल्ने बनाउनुपर्नेमा जोड दिए। 

'अब ३० लाख नयाँ मतदाता थपिँदैछन्। ३० लाखबाट ठूलो संख्यामा कांग्रेसलाई मत हाल्ने बनाउनुपर्छ', उनले भने, 'हामीले हिजो कांग्रेस छाडेर गएका पुराना मतदाता र नौजवान मतदातालाई कांग्रेस नेतृत्वको अनुहार र फोटो देखाएर मत हाल्नुस् भन्नुछ। बजारमा टोलमा भन्न पाउनुपर्ने नेतृत्व नछाने गाह्रो छ। कांग्रेसले राम्रो नेतृत्व छानेमा १० लाख मतदाता थपिन्छन्।' 

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .