ad ad

राजनीति


सीपीसी र भाजपाको तानातानमा प्रचण्ड

सीपीसी र भाजपाको तानातानमा प्रचण्ड

सन्तोष घिमिरे
साउन २, २०७९ सोमबार ८:३६, काठमाडौँ

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तीनदिने भारत भ्रमण सकेर आइतबार (१ साउन) साँझ स्वदेश फर्किंदा विमानस्थलमा प्रफुल्ल मुद्रामा देखिए। 

उनले आफूले सीमा समस्या देखि डुबानसम्मका द्विपक्षीय मुद्दा भारतीय अधिकारीहरुसँग उठाएको र ती समस्या समाधानमा प्रगति हुन्छ भन्नेमा आशावादी रहेको बताए। 

भ्रमण सोचेअनुसार नै सफल भएको दाबी समेत गरेका प्रचण्डले ‘भारतले आफूलाई प्रधानमन्त्री भएर नयाँ दिल्ली जाँदा जस्तै सम्मान दिएको’ समेत भन्न भ्याए। 

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको आतिथ्य ग्रहण गरेर फर्केका प्रचण्डको भ्रमणबारे समीक्षा शुरु भएको छ। 

वैचारिक रुपमा निकट चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग संवाद गरेको पाँच दिनपछि दिल्ली पुगेका प्रचण्डले  भाजपा मुख्यालयमा पुगेर अध्यक्ष नड्डासँग कुराकानी गरेका छन् । नड्डा र प्रचण्डबीच ‘संयुक्त कार्यक्रम’ सञ्चालन गर्ने सहमति पनि भएको बताइएको छ । 

यसअघि नेपाली कम्युनिष्टहरुको यसखालका संयुक्त कार्यक्रम भाइचारा सम्बन्ध रहेका चिनियाँ कम्युनिष्ट पार्टी वा विश्वका अन्य कम्युनिष्ट पार्टीसँग मात्र हुने गरेको थियो । तर यसपटक प्रचण्डले भाजपासँग पनि त्यस्तै खालको संयुक्त कार्यक्रमका लागि सहमति जनाएर फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले ‘नेपालमा पनि भाजपाका नेतालाई बोलाइयोस्’ भन्ने प्रस्ताव बोकेर आफू आएको बताएका छन् ।  

भ्रमणपछि भारतीय जनता पार्टीले प्रकासित गरेको विज्ञप्तिमा ‘अध्यक्ष प्रचण्डको भ्रमण भाजपा र माओवादी केन्द्रबीचको संबन्ध विस्तारका लागि कोशेढुंगा हुने’ विश्वास लिइएको छ। त्यसबाट पनि भाजपाले माओवादी केन्द्रलाई महत्व दिंदै अबका दिनमा ‘इंगेज’ गराइरहन चाहेको बुझ्न सकिन्छ। 

यसरी बेइजिङसँग विचारका हिसाबले निकट रहेको माओवादीलाई दिल्लीले पनि सँगसँगै डोहोर्याउन चाहेको सन्देश दिएको छ। 

जयशंकरसँग सम्बन्ध सुधार  
भारत गएको दोस्रो दिन विदेशमन्त्री एस जयशंकरसँग प्रचण्डको भेट भयो। प्रचण्डका अनुसार उनीसँगको भेटघाटपनि राजनीतिक भेटवार्ता नै थियो । 

२०७२ मा नेपालको संविधान निर्माणअघि काठमाडौँ आएर संविधान जारी नगर्न दबाब दिएर फर्केका तत्कालिन विदेश सचिव जयशंकरसँग प्रचण्डले राष्ट्रिय हितका मुद्दा खुलेर राख्न सके वा सकेनन्, त्यसबारे विस्तृत विवरण आएको छैन। तर सार्वजनिक भएको तस्बिरमा प्रचण्ड र जयशंकरबीचको कुराकानीको ‘बडिल्याङ्ग्वेज’ हेर्दा प्रचण्ड निकै सतर्क र एकाग्र भएर जयशंकरका कुरा सुनिरहेको देखिन्छ।

प्रचण्ड ‘टाइ–सुट’ सहित औपचारिक पोशाकमा देखिँदा जयशंकर भने अनौपचारिक पहिरनमा छन्। प्रचण्डले नेपालको संविधान घोषणाका बेला त्यति राम्रो सम्बन्ध नरहे पनि अहिले भेट्दा ‘ठीकै ठीकै’ कुरा भएको आशय व्यक्त गरेका छन् ।   

संविधान जारी हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश दूतका रुपमा आएका तत्कालीन विदेश सचिव जयशंकरले आफूलाई ‘ह्युमिलियट’ गरेको प्रचण्डले सार्वजनिक रुपमै बताएका थिए । अहिलेको भेटमा केही सम्बन्ध सुधार भएको उनको विश्वास छ। 

तर नेपालमा भारतीय स्वार्थ अनुकूलको संविधान जारी नभएको झोंकस्वरुप नेपालमाथि नाकाबन्दी लगाउन निर्णायक भूमिका खेलेका जयशंकरले अबका दिनमा प्रचण्डलाई ‘गुड बुक’ मा राख्लान् वा नराख्लान् ? यो चाहिँ प्रतीक्षाकै विषय छ। 

भ्रमणको दोश्रो दिन प्रचण्डले भाजपाले गरेको एक कार्यक्रममा इतिहासदेखि जकडिएर रहेका सन् १९५० को मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनको कार्यान्वयन र सीमा समस्या वार्ताबाट समाधान हुनुपर्ने बताए। 

एकजना नेपाली नेताले राष्ट्रियतासँग जोडिएका यी मुद्दा भारतका प्रबुद्ध व्यक्ति सहभागी सार्वजनिक मञ्चमा राख्नु जायज थियो। तर यो प्रश्नपनि सँगसँगै उठ्छ– उनले सार्वजनिक मञ्चमा व्यक्त गरेझैँ जयशंकर वा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगका अन्तरंग कुराकानीमा ती कुरा स्पष्टसँग राख्न सके वा सकेनन् ?  

डोभालसँगको भेटबाटै दंग 
भारत भ्रमणमा प्रचण्डले दुई घण्टा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग बिताए । तर डोभालसँग उनले के विषयमा कुराकानी गरे, त्यो सार्वजनिक भएको छैन । प्रचण्डको मर्यादा र हैसियतको तुलना गर्दा डोभाललाई मोदीका ‘आसेपासे’ भन्दा फरक पर्दैन। तर तिनै डोभालसँग प्रचण्डले सबैभन्दा बढी समय बिताए ।

प्रचण्डलाई भ्रमणको सबैभन्दा नमज्जाको विषय भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट रद्द हुनु रह्यो। नेपालबाट प्रस्थान गर्नुअघि नै प्रधानमन्त्री मोदीसँग आइतबार बिहान ‘ब्रेकफास्ट’ बैठक   चाँजोपाँजो भाजपाका तर्फबाट मिलाइसकिएको आश्वासन उनले पाएका थिए । 
तर, नयाँदिल्लीबाट फर्किने अन्तिम बेलासम्म पनि मोदीसँग भेट गर्न पाएनन्। आन्तरिक व्यस्तता देखाउँदै ‘साउथ ब्लक’ ले अन्तिममा समय नमिलाएपछि उनी घर फर्किनुपर्यो। माओवादी केन्द्रका एक शीर्ष नेताका भनाइमा, दिल्लीले प्रचण्डलाई अपमानित गरेर पठाएको छ । 

‘तय भइसकेको भेट अस्वीकार गर्नु दिल्लीले प्रचण्डलाई मात्रै होइन, नेपालका नेता र एक किसिमले जनताकै अपमान हो भनेर बुझ्नुपर्छ’ ती नेताले भने । 

अन्तिम समयमा मोदीसँग भेट नहुने जानकारी पाए पनि आफूले कारण जानकारी नपाएको र मोदीलाई नभेटे पनि ‘टेन्सन नरहेको’ प्रतिक्रिया प्रचण्डले दिएका छन्। 

डोभालसँगको भेटबाटै प्रचण्ड सन्तुष्ट रहे पनि प्रचण्डको भ्रमणबाट नयाँदिल्लीको नियत समेत प्रस्टसँग झल्किएको छ। ‘डोभालसँग दुई– दुई घण्टा भेटेपछि किन मोदीसँग पनि भेट्नुपर्यो ?’ सन्देश नयाँदिल्लीले दिन खोजेको छ । यो नेपालका नेताहरुका लागि राम्रो सन्देश होइन।

किनकी डोभाल मोदीका मुख्य सल्लाहकार भएकाले उनी शक्तिशाली अवस्य छन् । तर, प्रोटोकलका दृष्टिले नेपालका पूर्व प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षका समकक्षी होइनन्। 

सार्वभौम रुपमा समान र निकट छिमेकका हिसाबले नेपालका पूर्व प्रधानमन्त्री जाँदा मर्यादा र सम्मानका हिसाबले कुराकानी हुनुपर्ने मोदीसँगै थियो । 

प्रचण्डको यसपटकको भारत भ्रमणले अन्य शीर्ष नेताहरुलाई  ‘आफ्नो पदीय कद मिल्ने भारतीय नेतासँगको भेट्ने निश्चित भएपछि मात्रै दिल्ली उड्ने थिति बसाउनुपर्छ’ भन्ने सन्देशपनि दिएको छ ।    

प्रचण्डका सबै भेटवार्ता भाजपाको विदेश विभागले सहजिकरण गरेको थियो। पूर्व प्रधानमन्त्री र सत्तारुढ पार्टीका एक मुख्य नेताका लागि नेपालको कुनै कुटनीतिक संयन्त्रको यो भेटघाटमा सहभागिता थिएन। नयाँदिल्ली, लैनचौर र खुमलटारबीचको ‘डिरेक्ट कम्युनिकेशन’ पछि प्रचण्डको भ्रमण तय भएको थियो। 

पूर्व प्रधानमन्त्री प्रचण्ड दिल्ली पुग्ने जानकारी बाह्रखम्बा रोडस्थित नेपाली दूतावासले एक दिन अघि मात्रै पाएको थियो। त्यसै अनुसार नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भूमिका केवल प्रचण्डलाई दिल्ली विमानस्थलको भिआइपी कक्ष उपलब्ध गराउन भारतीय विदेश मन्त्रालयलाई पत्राचार गर्नुमै सीमित रह्यो ।   

दिल्ली दूतावासको भूमिका 
प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालाई कुनै पनि भेटवार्तामा सहभागी गराएनन्। शर्मालाई उनले केवल ‘देउवाका मान्छे’ का रुपमा लिए।  राजदूत शर्मा र दूतावासका कर्मचारी प्रचण्डलाई लिन र विदाई गर्न इन्दिरा गान्धी विमानस्थल पुगे। 

राजदूत शर्माको अनुरोधमा दूतावास पुगेका प्रचण्ड प्रधानमन्त्री पत्नी आरजुसँगै बिहानको ‘ब्रेकफास्ट’ मा सहभागी भएका थिए ।

प्रचण्डको यो भ्रमणले कुनै राजनीतिक वा भूराजनीतिक तरंग ल्याउला वा नल्याउला, त्यसको अनुमान अहिले नै गरिहाल्न हतारो हुन्छ। तर उनको भ्रमणबाट थप प्रस्ट भएको कुरा के हो भने, भारत कांग्रेसलाई मात्रै होइन, नेपालका कम्युनिष्ट पार्टीलाई पनि उत्तिकै ‘इंगेज’ गरिरहन चाहन्छ। 

उत्तरको छिमेकी चीनससँग मात्रै झुकाव रहेको भनेरै भारतले नेपालका कम्युनिष्टलाई पनि इंगेज गराउन खोजेको हो । नेपालमा कम्युनिष्ट शक्तिको सत्तामा वर्चस्व हुँदा चीनको प्रभाव तुलनात्मक रुपमा बढेको बुझाइ भारतीय संस्थापनले गर्दै आएको छ ।  

प्रचण्ड अबको चुनावअघि वा पछि हुने सत्ता बाँडफाँटमा निर्णायक खेलाडी हुनेछन्। पहिलो उनी आफैं प्रधानमन्त्री बन्न कसरत गर्नेछन्, यदि सम्भव भएन भने आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नेछन्। 

त्यसकारण प्रचण्डको निर्णायक भूमिकाबारे जानकार भारत, चीन र अमेरिका तीनै शक्तिराष्ट्र यतिबेला उनीसँग निरन्तर सम्पर्कमा छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .