ad ad

राजनीति


चुनावको मुखमा पार्टी फेरेका रवीन्द्र मिश्र राप्रपामा कति टिक्लान्?

पार्टीले निर्णय नगर्दै काठमाडौं-१ बाट उम्मेवारी घोषणा तयारी
चुनावको मुखमा पार्टी फेरेका रवीन्द्र मिश्र राप्रपामा कति टिक्लान्?

राप्रपा प्रवेशका क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनसँग रवीन्द्र मिश्र। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज १३, २०७९ बिहिबार १५:१८, काठमाडौँ

रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्षका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका छन्। 

‘विवेकशील साझा पार्टी’ का पूर्वअध्यक्ष  मिश्रलाई राप्रपामा पाँचौँ वरीयता मिलेको छ। उनलाई राप्रपाले ‘वरिष्ठ उपाध्यक्ष’ पद दिएको छ। 

सहअध्यक्षका रुपमा राप्रपासँग एकता गर्न खोजे पनि वरिष्ठ नेताहरुले आपत्ति जनाएपछि मिश्रलाई ‘वरिष्ठ उपाध्यक्ष’ को हैसियतमा बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका छन्। 

पहिलो नम्बरको वरिष्ठ उपाध्यक्ष दिन राप्रपाका अन्य नेता तयार नभएपछि वरीयता नम्बर उल्लेख नगरी मिश्रलाई उक्त पद दिने सहमतिसहित बुधबार एकता घोषणा गरियो।   

एकताका लागि राप्रपा र मिश्र समूहबीच भएको चार बुँदे सहमतिपत्रको पहिलो बुँदामा ‘विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरुमा सामेल हुनेछन्’, मात्रै लेखिएको छ।

राप्रपामा अरु नेताहरु पनि वरिष्ठ उपाध्यक्ष छन्। तर,  यस्तोमा मिश्र कुन वरीयतामा रहन्छन्, सहमति पत्रमा उल्लेख छैन। 

मिश्र समाहित हुनुअघि राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की र ध्रुवबहादुर प्रधानसहित चारजना उपाध्यक्ष थिए। 

चारमध्ये तामाङ र पाण्डे ‘वरिष्ठ उपाध्यक्ष’ थिए भने कार्की र प्रधान उपाध्यक्षको भूमिकामा छन्। 

तर, दुई जना ‘वरिष्ठ उपाध्यक्ष’ मध्ये पनि तामाङ र पाण्डेबीच वरीयतामा विवाद थियो। दुवैले वरीयतामा आफू अगाडि रहेको दाबी गर्दै आएका छन्। 

वरीयतामा आफू अघि रहेको देखाउन उनीहरुले पार्टी निर्णयका माइन्युटमा हस्ताक्षरसमेत गर्दैनथे।  

तामाङ र पाण्डेबीच वरीयता विवाद रहेकै बेला ‘वरिष्ठ उपाध्यक्ष’ भन्दा अझमाथि रहने गरी सह–अध्यक्षका रुपमा मिश्र राप्रपामा समाहित हुन खोजेपछि तामाङ र पाण्डेले असहमति जनाएका थिए। 

तामाङ र पाण्डेको असहमतिकै कारण मिश्रको राप्रपा प्रवेश कार्यक्रम लम्बिएको थियो।

चुनाव नजिकिँदै गर्दा वरीयता विवादका कारण राप्रपामा समावेश हुने प्रवेश कार्यक्रममा विलम्ब हुने देखिएपछि ‘वरिष्ठ उपाध्यक्ष’ पद स्वीकार गरेर राप्रपामा समावेश हुन मिश्र बाध्य भए।  

सहमति पत्रमा मिश्रलाई ‘वरिष्ठ उपाध्यक्ष’ दिने भनिएकाले अध्यक्ष लिङ्देनपछि पार्टीभित्रको वरीयतामा मिश्र नै रहनेछन् भनेजस्तो देखिन्छ।

तर, नाम उल्लेख गर्न नचाहने राप्रपा नेताहरुका भनाइमा, उपाध्यक्षहरुमध्ये वरीयतामा सबैभन्दा पुच्छरमा मात्रै मिश्र रहनेछन्। 

‘राप्रपाका उपाध्यक्षमध्ये वरीयतामा बुद्धिमान तामाङ अगाडि छन्, त्यसपछि विक्रम पाण्डेको नाम आउँछ। त्यसपछि रोशन कार्की र ध्रुवबहादुर प्रधान छन्’ राप्रपा स्रोतले भन्यो, ‘अब उपाध्यक्षद्वय कार्की र प्रधानपछि वरीयतामा रवीन्द्र मिश्र रहनेछन्।’

वरिष्ठ उपाध्यक्षद्वय तामाङ र पाण्डेमात्रै होइन, वरीयतामा आफूभन्दा माथि रहने गरी मिश्रलाई राप्रपामा भित्र्याउन कार्की र प्रधान पनि तयार थिएनन्। 

त्यसैले, यसबीचमा कार्की र प्रधानलाई पनि ‘वरिष्ठ उपाध्यक्ष’ मा पदोन्नति गर्ने समझदारी बनिसकेको छ।   

‘यो समझदारीपछि मात्रै मिश्रलाई पनि ‘वरिष्ठ उपाध्यक्ष’ बनाएर राप्रपामा समावेश गराउने समझदारी बनेको हो, तर वरीयताको हकमा भने तामाङ,  पाण्डे, कार्की र प्रधानपछि मात्रै मिश्र रहनेछन्’, राप्रपा स्रोतले भन्यो, ‘मिश्र त पहिलेदेखि राप्रपामा आउन खुट्टा उचालेर बसिरहेका थिए। काठमाडौँ–१ मा चुनाव जित्न सक्छन् कि भनेर अध्यक्ष लिङ्देन पनि मिश्रलाई ल्याउन हतारिए। राप्रपामा आउने भएपछि अप्ठेरो नपरोस् भनेर ‘वरिष्ठ उपाध्यक्ष’ दिने सहमतिसाथ उनको समूहलाई पार्टीमा समाहित गरिएको हो।’  

पार्टीमा मिश्रको प्रवेशले निकै चर्चा पाए पनि पार्टीका अधिकांश नेताहरु उनी लामो समय राप्रपामा अडिएलान् भन्ने विश्वस्त छैनन्।  

उनको अस्थिर स्वभावका कारण राप्रपाका नेताहरु मिश्र लामो समय पार्टीमा रहने कुरामा राप्रपाका नेताहरु विश्वस्त नदेखिएका हुन्।   

‘अवसरवाद र अवसरका लागि अस्थिरता मिश्रको प्रवृत्ति नै बनिसकेको छ। उनले आफैँ संस्थापक अध्यक्ष रहेको पार्टी त्यागे, त्यो पार्टीका लागि आफैँले तय गरेको सिद्धान्तसमेत त्याग्न उनलाई अप्ठेरो भएन’, ती नेताले भने, ‘५–७ वर्ष बीचमा यति धेरै अस्थिर उनी राप्रपामा रहलान् भन्ने विश्वास खासमा राप्रपाका धेरै नेताहरुलाई छैन।’ 

ती नेताको भनाइमा, चुनावमा एमाले र राप्रपाबीच चुनाव तालमेल हुने सम्भावना देखेपछि उनी राप्रपातिर लहसिन थालेका हुन्।   ‘काठमाडौँ–१ बाट चुनाव जितेनन् भने उनी राप्रपामा पनि लामो समय रहलान् भन्ने विश्वास छैन,’ ती नेताले थपे, ‘खासमा काठमाडौं–१ बाट जित्छन् कि भनेर मात्रै उनलाई राप्रपाले स्वागत गरेको हो।’  

चुनावकै लागि उनी राप्रपामा गएका हुन् भन्ने कुरा उनले गर्न लागेको उम्मेदवारी घोषणा कार्यक्रमले पनि बताउँछ। 

राप्रपाले कुन नेता कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने आधिकारिक टुङ्गो लगाइसकेको छैन। तर, मिश्रले भने शुक्रबार (१४ असोज) मा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा गर्दैछन्। 

यसैगरी रेखा थापा र ज्ञानेन्द्र शाहीले पनि क्रमशः मोरङ–३ र जुम्लाबाट उम्मेदवार हुने घोषणा गरिसकेका छन्। जबकि, उनीहरुको उम्मेदवारीबारे राप्रपाले आधिकारिक निर्णय गरिसकेको छैन।

राप्रपामा प्रवेश गरेको दुई दिन नबित्दै मिश्रले रेखा थापा र ज्ञानेन्द्र शाहीलाई पछ्याउँदै काठमाडौं १ बाट उठ्ने घोषणा गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .