रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ।
बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
माओवादी केन्द्रका प्रदेश सभा 'ख' का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोको थियो।
त्यसमाथि छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वलीको उम्मेदवारी खारेज गरेको हो। उम्मेदवारी खारेजीमा परेका वली रुकुम पश्चिम काग्रेसका सभापति पनि हुन्।
कांग्रेस नेता वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको थियो। तर उनले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको थियो।
रुकुम पश्चिममा अन्य कुनै उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताए।
वलीको उम्मेदवारी खारेज हुने अनुमानसहित कांग्रेसले यसअघि नै स्वतन्त्रबाट अर्को उम्मेदवारी दिएको थियो।
कांग्रेसले स्वतन्त्रबाट पार्टीकै नेता खड्क डाँगीलाई मैदानमा उतारिसकेको छ।
Shares
प्रतिक्रिया