ad ad

राजनीति


जगन्नाथले दिनेशलाई छाड्न नमान्दा चितवन–३ मा जोगियो ‘भुइँकटहर’ समूह

जगन्नाथले दिनेशलाई छाड्न नमान्दा चितवन–३ मा जोगियो ‘भुइँकटहर’ समूह

नेपालखबर
असोज २७, २०७९ बिहिबार ९:३२, काठमाडौँ

रौतहट– ३ मा आफ्नै पार्टीलाई चक्मा दिँदै स्वतन्त्र उम्मेदवार बन्न एमाले स्थायी कमिटी सदस्य प्रभु साहले जुन ‘स्टाइल’ अपनाएका थिए, सत्ता गठबन्धनविरुद्ध चितवन– ३ का ‘बागी’ उम्मेदवार दिनेश कोइरालाले उस्तै स्टाइल अपनाउन खोजे पनि उनी असफल भएका छन् ।

साहले जस्तै ‘भुइँकटहर समूह’ को तर्फबाट चितवन– ३ मा कोइराला सर्वसम्मत उम्मेदवार बन्न खोजेका थिए । तर, स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनकी उम्मेदवार रेणु दाहालविरुद्ध उम्मेदवारी दिए १४ हजार मत प्राप्त गरेका जगन्नाथ पौडेल कोइरालालाई छाड्न राजी भएनन् ।

‘दिनेशजीले एमालेलाई सहज हुने गरी बागी उम्मेदवारी दिन खोजिरहनु भएको थियो’ एमाले अध्यक्ष केपी शर्मा ओलीले कोइरालाका लागि आफ्नै पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गराएपछि पौडेलले नेपालखबरसँग भने, ‘भित्री खेल के रहेछ, देखिहाल्नुभयो ।’

यदि भुइँकटहर समूहभित्रको दबाब झेल्दै पौडेलले उम्मेदवारी नदिएको भए चितवन– ३ मा बागी समूह उम्मेदवारविहीन हुने रहेछ ।   

पौडेलका अनुसार, पछिल्लो समय कोइरालाले भित्रभित्रै अध्यक्ष ओलीसँग सम्पर्क बढाएका थिए । स्थानीह तह निर्वाचनमा सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएर सम्मानजनक मत प्राप्त गरेका र असन्तुष्ट कांग्रेस समूहका अगुवा भएकाले ओलीले पौडेलसँग पनि सम्पर्क गरिरहेका थिए ।

‘एमाले अध्यक्ष ओलीजीले मसँग सम्पर्क र कुराकानी गरिरहनु हुन्थ्यो, यसैआधारमा दिनेशजीले एमाले ‘ज्वाइन’ गर्ने गरी कुरा अघि बढाएको संकेत मैले पाइसकेको थिएँ’ पौडेलले भने, ‘मेरो विद्रोह कांग्रेसभित्रको बिकृति–विसंगतिविरुद्ध हो, अर्काे पार्टी ‘ज्वाइन’ गर्नका लागि होइन । त्यसैले, एमाले प्रवेश गर्नेगरी स्वतन्त्र उम्मेदवारी दिन चाहेका दिनेशजीलाई मैले छाड्न चाहिनँ ।’

‘दिनेशजीको खेल के थियो, त्यो अब प्रष्ट भइसक्यो’ पौडेलले थपे, ‘अब त हाम्रै साथीहरुले बोकेको ‘भ्रमको टालो’ पनि च्यातियो होला, दिनेशजीलाई एमालेले किन समर्थन गरेको हो भन्ने कुरा हाम्रा साथीहरुले पनि बुझे होलान् ।’  

पौडेलले ‘साथीहरुले बोकेको भ्रमको टालो’ शब्दावलीको प्रयोग गर्नुको कारण हो, स्थानीय तह निर्वाचनताकाको ‘भुइँकटहर समूह’ बाट चितवन–३ बाट कसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा देखिएको विवाद ।

त्यही विवादका कारण चितवन– ३ बाट पौडेल र कोइराला गरी दुईजनाको उम्मेदवारी परेको थियो ।

स्थानीय तह निर्वाचनमा मेयरमा प्रतिस्पर्धा गरेर पौडेलले १४ हजार मत प्राप्त गरेका थिए । त्यसैले, प्रतिनिधि सभामापनि पौडेललाई नै उम्मेदवार बनाउनुपर्ने एउटा समूहको मत थियो ।

अर्काे समूहले चाहिँ २०७४ को स्थानीय तह निर्वाचनमा जबर्जस्ती उम्मेदवारी फिर्ता गराइएका कोइरालालाई उठाउन चाहन्थ्यो ।

‘भीमबहादुर श्रेष्ठ लगायतका साथीहरु दिनेश कोइरालालाई उठाउनुपर्छ भन्नुहुन्थ्यो’ पौडेलले भने, ‘तर, दिनेशजीबारे जानकारी भएकाले मैले उहाँ (दिनेश) लाई छाड्न सकिनँ ।’

‘अब त श्रेष्ठ ( भीमबहादुर) लगायतका साथीहरुको पनि आँखा खुल्यो होला’ उनले भने, ‘दिनेशजीप्रतिको भ्रमको टालो अब पक्कै पनि च्यातियो होला ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिस्पर्धाका लागि गोर्खा– २ छनोट गरेपछि चितवन– ३ चर्चाविहीन बन्न पुगेको थियो । तर, कांग्रेसबाट बागी उम्मेदवारी दिएका कोइरालाको साथ पाउने भएपछि यो निर्वाचन क्षेत्र फेरि चर्चित बन्न पुगेको छ ।

कोइरालाले एमालेको साथ पाउने भएपछि सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राप्रपा बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, एमाले समर्थित स्वतन्त्र उम्मेदवार कोइराला र भुइँकटर समूहका जगन्नाथ पौडेलबीच चौपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .