ad ad

राजनीति


एकीकृत समाजवादीबाट २० सिट : कस-कसले गर्लान् संसदको यात्रा?

एकीकृत समाजवादीबाट २० सिट : कस-कसले गर्लान् संसदको यात्रा?

नेपालखबर
असोज २७, २०७९ बिहिबार १४:५९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टी सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका २० सिट लिएर चुनावी मैदानमा छ। 

गठबन्धनले संघीय संसदका १ सय ६५ सिट बाँडफाँट गरेसँगै समाजवादीका उम्मेदवारहरु जिल्ला जिल्ला पुगिसकेका छन्। 

तर समाजवादीले पाएको रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज हुँदा घाटा लागेको छ।

समाजवादीले प्रदेश १ मा इलाम १ र उदयपुर क्षेत्र नम्बर २ क्षेत्र पाएकाे छ। इलाम १ मा एमालेबाट जितेका झलनाथ खनाल मैदानमा छन्। 

यस्तै उदयपुर २ मा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उम्मेदवार छन्। उदयपुर २ मा २०७४ मा जितेका माओवादीका सुरेशकुमार राईलाई विस्थापित गर्दै खतिवडा मैदानमा उत्रिएका हुन्। 

मधेश प्रदेशमा रौतहट १, बारा ४ र सिरहा ४ समाजवादीले पाएको छ।

रौतहटमा अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार छन्। यस्तै बारा ४ मा तनहुँ १ बाट बसाइँ सरेका कृष्णकुमार श्रेष्ठ 'किसान', सिरहा ४ मा धर्मनाथ प्रसाद साहलाई उम्मेदवार बनाएको छ।

यसैगरी बागमती प्रदेशमा त्यस पार्टीले धादिङ १, काठमाडौं ८, मकवानपुर २ र ललितपुर २ गरी चार क्षेत्रबाट उम्मेदवारी दिएको छ।

जसअन्तर्गत धादिङ १ मा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।

यस्तै, काठमाडौं ८ मा जीवनराम श्रेष्ठ, मकवानपुर २ मा विरोध खतिवडा र ललितपुर २ मा कृष्णलाल महर्जन उम्मेदवार छन्।

श्रेष्ठ, खतिवडा र महर्जन तीनैजना २०७४ को चुनावमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

गण्डकी प्रदेश अन्तर्गत समाजवादीले कास्की २ पाएको छ। जुन क्षेत्रबाट श्रीनाथ बराल उम्मेदवार छन्। 

यस्तै पाल्पा २ मा सोमप्रसाद पाण्डेय प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।

यसैगरी लुम्बिनी प्रदेशमा दाङ १ बाट मेटमणि चौधरी उम्मेदवार छन्। उनी २०७४ को चुनावमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर, त्यसबेला उनी एमालेमा थिए।

गुल्मी २ मा पार्टी सचिव रामकुमारी झाक्री उम्मेदवार छिन्।

लुम्बिनीमै पर्ने रुपन्देही २ बाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी उजुरी परेपछि निर्वाचन आयोगले खारेज गरिदिएको छ। 

तर, उनी बिहीबार सर्वोच्च गएर रिट हालेका छन्। उनको उम्मेदवारी के हुन्छ ? अहिले निश्चित छैन।

कर्णाली प्रदेशमा पर्ने सल्यानबाट पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, डोल्पाबाट धनबहादुर बुढा, अम्मरबहादुर थापा उम्मेदवार छन्।

सुदूरपश्चिम प्रदेशमा अछाम १ बाट शेरबहादुर कुँवर उम्मेदवार छन्। 

बझाङ १ बाट भानुभक्त जोशी उम्मेदवार छन् भने डोटी १ बाट प्रेमबहादुर आले उम्मेदवार छन्। 

को को पुग्लान संसद? 
पाँच दलीय गठबन्धनमा भएकोले समाजवादीका धेरै नेताहरु चुनाव जित्ने विश्वासमा छन्।

तर, तीव्र प्रतिस्पर्धा, केही ठाउँमा उम्मेदवार विरुद्ध परेको बागीले चुनावमा सोचेजस्तो परिणाम आउन गाह्रो हुने नेताहरु स्वीकार गर्छन्।

समाजवादीका एक उच्च नेताले नेपालखबरलाई बताए अनुसार सिरहा ४, गुल्मी २ र दैलेख १ मा तीव्र प्रतिस्पर्धा हुन्छ। यी ठाउँमा गठबन्धनबाट इमान्दारी मत नखसे जित्ने सम्भावना कम छ। 

ललितपुर २, मकवानपुर २, दाङ १, धादिङ १ र उदयपुर २ मा पनि बढी मिहेनत गर्नुपर्छ।

एकीकृत समाजवादीले सजिलै जित्न सकिने क्षेत्रहरुमा सल्यान, रौतहट १, बारा ४, डोल्पा, डोटी १, अछाम १, काठमाडौं ८, इलाम १, बझाङ र डोल्पालाई राखेको छ। 

गठबन्धनबाट थोरै साथ पाएपनि यी क्षेत्र जितिने सो पार्टीको विश्वास छ।

पार्टी उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार गठबन्धनमा इमान्दारीता भएमा सबै क्षेत्र जित्न कठिनाई नहुने बताउँछन्।

‘हामी केही निर्वाचन क्षेत्रमा एकल जित्न सक्ने अवस्थामा छौँ,’ उनले भने, ‘केही क्षेत्रमा कम्पिटिशन बढी छ, केहीमा राम्रै प्रतिस्पर्धा गरेर विजयी हुन सक्छौं।’

उम्मेदवार टुंगो लागेसँगै चुनाव प्रचारमा खटिन सुरु गरेको उनले बताए।

प्रचार विभाग प्रमुख तथा उदयपुर २ बाट उम्मेदवार बनेका जगन्नाथ खतिवडाले घोषणापत्र लेख्न सुरु गरेको बताए।

‘केही दिनबाट प्रचार सुरु गर्न निर्वाचन क्षेत्र खटिन्छु,’ उनले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .