ad ad

राजनीति


डडेल्धुरामा देउवा : माओवादीको मत फकाउँदै, आफ्ना गुमाउँदै

विगतका प्रतिस्पर्धी सारथि, सहयोगी प्रतिस्पर्धी
डडेल्धुरामा देउवा : माओवादीको मत फकाउँदै, आफ्ना गुमाउँदै

फाइल तस्बिर


गोकुल जोशी
असोज २८, २०७९ शुक्रबार ६:५६, कञ्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट सातौँ पटक चुनाव लड्दै छन्। 

वि.सं. २०४८ सालदेखि अपराजित नेपाली कांग्रेसका सभापति देउवा विगतको मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रको साथ पाएपछि सुरक्षित देखिन्छन्।

यसपटकको चुनावमा डडेल्धुरा चुनावी समिकरण रोचक छ। सत्ता गठबन्धनका कारण ०६४ देखि देउवासँग प्रतिस्पर्धा गर्दै आएका माओवादी सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट चुनावी मोर्चामा एउटै कित्तामा छन्।

डडेल्धुरामा सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले संघ र एउटा प्रदेश सभा क्षेत्र आफूसँग राखेको छ। तीन पटक देउवासँग चुनाव हारेका माओवादीका भट्ट प्रदेश सभा ‘१’ मा गठबन्धनका उम्मेदवार छन्।

विगतका चुनावमा प्रतिस्पर्धी भट्ट यसपटकको चुनावमा देउवाका सारथि छन्। उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने दाउसहित प्रदेश झरेका हुन्।

गठबन्धनका कारण पुराना प्रतिस्पर्धी भट्टले यसपटक देउवाका लागि डडेल्धुरामा मत माग्ने छन्। 

सहयोगी प्रतिस्पर्धी
प्रधानमन्त्री देउवाले आसन्न चुनावमा डडेल्धुरामा माओवादी केन्द्रको मत पाइरहँदा कांग्रेसकै मत भने गुमाउने छन्। त्यसको कारण हुन्–कर्णबहादुर मल्ल।

विगतका चुनावमा देउवाका सहयोगी मल्ल अहिले उनको साथमा छैनन्। नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति मल्ल डडेल्धुरामा देउवाविरुद्ध प्रतिनिधि सभा चुनाव लड्दै छन्।

नेपाल विद्यार्थी संघको राजनीतिमा रहँदा मल्लले वि.सं. २०४८ सालदेखि देउवाको सामिप्यता पाएका थिए। त्यसकै कारण मल्लले राजनीतिमा अवसर पाएर डडेल्धुरा कांग्रेसमा स्थापित भए।

०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा सहयोगीका रुपमा देउवासँगै बसेका मल्लले दुई कार्यकाल डडेल्धुरा कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाले। 

०७४ सालको चुनावमा डडेल्धुराबाट १ (२) बाट जितेर प्रदेश सांसद बनेका मल्ल कांग्रेसको अधिवेशन बेला आफूनिकट क्रियाशील सदस्यताको नाम काटिएपछि देउवासँग रुष्ट बने।

देउवाले माग सम्बोधन नगरी सभापति समेत रहेका मल्ललाई पेलेरै डडेल्धुरामा अधिवेशन गराएर आफूनिकटलाई सभापति बनाएपछि मल्ल विद्रोहमै उत्रिए। 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनले एमालेसँग मिलेर देउवालाई चुनौती दिए।

एमालेसँग मिलेपछि मल्ललाई दोस्रो पटक देउवाले साधारण सदस्य नरहने गरी कारबाही गरेका थिए। 

मल्लसँगै विगतका कांग्रेसमा सक्रिय नेता कार्यकर्ताहरु पनि कांग्रेस बीपीमा छन्। प्रधानमन्त्री देउवाले यसपटक उनीहरुको मत पाउने छैनन्।

तालमेलले एमालेमा बेमेल
नेकपा एमालेले कांग्रेस बीपीसँग डडेल्धुरामा चुनावी तालमेल गरेको छ। कांग्रेसमा विद्रोह गरेर कांग्रेस बीपीबाट देउवाविरुद्ध उम्मेदवारी दिएका मल्ललाई एमालेले समर्थन गरेको छ।

एमालेमा तालमेलले बेमेल देखिएको छ। प्रतिनिधि सभा कांग्रेस बीपीलाई छोड्ने सहमतिविपरीत एमालेबाट चक्र स्नेही र विक्रम बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका थिए।

तालमेल सहमतिबमोजिम स्नेहीले उम्मेदवारी फिर्ता लिए पनि शाहीको उम्मेदवारी कायमै छ। उनले देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

‘डडेल्धुरामा अरुका लागि ठाउँ खाली छोड्न सकिँदैन, सधैँ अरुलाई बोकेर कति हिँड्ने? यस्तो भयो भने एमालेको अस्तित्व सकिन्छ,’ शाहीले भने, ‘अरुलाई मत हाल्नु भन्दा आफैँलाई मत हाल्ने गरेर उम्मेदवारी दिएको छु।’

देउवाका ७ प्रतिस्पर्धी
डडेल्धुरामा प्रतिनिधि सभातर्फ देउवासँग चुनाव लड्न ७ जना मैदानमा छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभामा मल्ल, शाहीसँगै राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत चुनावी मैदानमा छन्।

डडेल्धुरामा प्रतिनिधि सभातर्फ चुनाव लड्न देउवासँगै ११ जनाको उम्मेदवारी परेको थियो। 

एमालेका स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले पछि उम्मेदवारी फिर्ता लिएका थिए।

सत्ता गठबन्धन दलबाट डडेल्धुरा प्रदेशसभा (१) मा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज  खगराज भट्ट र प्रदेशसभा (२) मा कांग्रेस नेता एवम् सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा मैदानमा छन्।

प्रदेशसभा (१) मा नेकपा एमालेबाट पठानसिंह बोहरा र प्रदेशसभा (२) मा गजेन्द्र शाही उम्मेदवार छन्। प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशी स्वतन्त्र हैसियतमा चुनावी मैदानमा छन्।

यसअघि ०७४ सालको चुनावमा एमालेबाट उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .