ad ad

राजनीति


चुनावी घोषणापत्रमा कांग्रेसले सरकारका उत्कृष्ट कामहरु समेट्ने

पाँच वर्ष स्थायी सरकार चलाउने प्रतिवद्धता
चुनावी घोषणापत्रमा कांग्रेसले सरकारका उत्कृष्ट कामहरु समेट्ने

कांग्रेस बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेताहरु। तस्बिर : नेपालखबर


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरी बनाउन लागेको चुनावी घोषणापत्रमा आफू नेतृत्वको अहिलेसम्मका सरकारले प्रारम्भ गरेका महत्वपूर्ण विषय समेट्ने भएको छ। 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री जीवन परियारले कांग्रेस नेतृत्वका सरकारका पालामा प्रारम्भ भएका महत्वपूर्ण विषयहरु घोषणापत्रमा समेटिने बताए। 

‘२०४८ देखि अहिलेसम्म हाम्रो नेतृत्वको सरकारले प्रारम्भ गरेका महत्वपूर्ण विषयहरु घोषणापत्रमा संक्षिप्तमा राख्ने छौँ,’ उनले भने। 

सहमहामन्त्री परियारले घोषणापत्रमा कांग्रेसले संविधानको व्यवस्थाअनुसार ५ वर्षका लागि सरकार चलाउने गरी अगाडि बढ्ने प्रतिवद्धता पनि घोषणापत्रमा गरिने बताए। 

‘आगामी निर्वाचनमा कांग्रेसले  विजय हासिल गरेपछि हामीले हाम्रो सरकार ५ वर्षका लागि संविधानको व्यवस्थाअनुसार अगाडि बढ्छ भन्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरेर जनताको बीचमा सार्वजनिक गर्नेछौँ,’ उनले भने। 

कांग्रेसले आफ्नो नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने नेतृत्व पनि आफैँ लिने विषयलाई चुनावी घोषणापत्रमा प्रतिवद्धताका रुपमा समेट्ने भएको छ।  

‘२०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको सरकारले संसदीय लोकतान्त्रिक शासन  प्रणालीकै विरुद्धमा विभिन्न गतिविधिहरु सञ्चालन गर्यो। नेपाली कांग्रेसको नेतृत्वमा हामी २०७२ मा संविधान जारी गर्न सफल भएका थियौँ संविधानसभाबाट,’ परियारले भने, ‘त्यो संविधानको रक्षा गर्ने मुल नेतृत्व पनि हामी नेपाली कांग्रेसले लिन्छौं भनेर प्रतिवद्धता घोषणापत्रमा पहिलो रुपमा आउँछ।’ 

बैठकपछि सानेपामा सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ। 
समितिको पहिलो बैठकबाट डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो। उक्त उपसमितिले घोषणापत्रको मस्यौदा तयार गरिरहेको छ।  

परियारका अनुसार शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री शर्मा र डा. वाग्लेले घोषणापत्रबारे ‘ब्रिफिङ’ गरेका छन्। 

‘केन्द्रीय कार्यससम्पादन समिति बैठकमा महामन्त्रीज्यूले संक्षिप्त रुपमा घोषणपत्रको संद्धान्तिक पक्षका बारेमा र नेता डा. स्वर्णिम वाग्लेले घोषणापत्रको संक्षिप्त सार कार्यसमितिमा राख्नुभयो,’ सहमहामन्त्री परियारले भने, ‘सभापति, पदाधिकारी र पूर्वपदाधिकारीले महत्वपूर्ण सुझाव दिनुभएको छ। सुझावसहित मस्यौदा समितिले घोषणापत्रलाई अन्तिम रुप दिएर छिटोभन्दा छिटो साार्वजनिक गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .