राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमन पक्षधरले चुनाव जिते जनआन्दोलनका उपलब्धिहरु गुम्ने बताएका छन्।
बिहीबार पाँचदलीय गठबन्धनद्वारा बागलुङ नगरपालिका–१३ पैयुँपाटामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केसीले आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिगामी पक्षधर विजयी भए भने ७५–८० वर्षदेखि नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु उल्टिने दाबी गरे।
‘आगामी चुनावमा प्रतिगमनको विजय भयो भने नेपाली जनताले आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू समाप्त हुनेछ’ नेता केसीले भने, ‘त्यसकार प्रतिगमनलाई पराजित गर्न अहिलेको राष्ट्रिय आवश्यकता हो।’
उनले प्रतिगमनका कारणले देशमा गम्भीर खतरा उत्पन्न भएको पनि बताए।
प्रतिनिधि सभा बागलुङ क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका केसीले आगामी चुनावको मुख्य उद्देश्य नेपाली जनताको लामो संघर्ष गरेर प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षतासमेतको रक्षाको लागि आफूहरु चुनावमा भगा लिनुपरेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसमा केन्द्रीय सदस्य चम्पा खड्का, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण केसी, जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारी, नेपाल समाजवादीका चित्र सापकोटा लगायतले बोलेका थिए।
बागलुङ–१ बाट गठबन्धनको उम्मेदवार बनेका केसी निर्वाचन क्षेत्रमा भेटघाटमा व्यस्त छन्।
Shares
प्रतिक्रिया