ad ad

राजनीति


कञ्चनपुर २ : एनपीलाई गठबन्धनको बल, नरबहादुरलाई विरासत जोगाउने चुनौती

गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
कञ्चनपुर २ : एनपीलाई गठबन्धनको बल, नरबहादुरलाई विरासत जोगाउने चुनौती

फाइल तस्बिर


गोकुल जोशी
कात्तिक ४, २०७९ शुक्रबार ७:३०, कञ्चनपुर

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा अघिल्लो पटक भिडेका दुई प्रतिस्पर्धी यो पटक पनि आमनेसामने छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद र नेकपा एमालेका नेता नरबहादुर धामीबीच क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने भएको हो।

उनीहरु ०७४ को चुनावमा पनि क्षेत्र नं. २ मा भिडेका थिए। त्यसबेला नेकपा माओवादी केन्द्रको समर्थनमा एमालेका धामी ३३ हजार २२० मतसहित विजयी भएका थिए।

कांग्रेसका साउदले त्यसबेला २४ हजार ८९३ मत ल्याएका थिए। आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा राजनीतिक समिकरण उल्टिएको छ।

एमालेको सारथि माओवादी यसपटक कांग्रेससँग तालमेल गर्न पुगेको छ। ०७४ जितेका धामी दोहोरिने दाउसहित चुनावी मैदान छन्। साउद विगतको हारको बदला लिने योजनामा छन्।

कांग्रेस–माओवादी गठबन्धनबाट प्रदेश सभा (१) मा माओवादीका  ओमविक्रम भाट (सरल) र प्रदेश सभा (२) मा संविधानसभा सदस्य बहादुरसिंह थापा उम्मेदवार छन्। 

यस्तै, नेकपा एमालेले प्रदेश सभा क्षेत्र नम्बर २(१) मा युवा संघका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र प्रदेश सभा २(२) मा संविधानसभा सदस्य कृपाराम रानालाई उतारको छ। 

कांग्रेस उम्मेदवार एनपी साउद

तेस्रो जितको दाउमा एनपी
कांग्रेस नेता साउदले यसअघि कञ्चनपुरमा ५ वटा निर्वाचन लडिसकेका छन्। नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका साउद कांग्रेसको मूल राजनीतिमा अहिले सभापति शेरबहादुर देउवानिकट छन्।  

प्रधानमन्त्री देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्, उनी। कांग्रेसको केन्द्रीय राजनीतिमा उनले बलियो पकड राखेका छन्। 

छैटौँ पटक संसदीय चुनावमा उठेका साउद ०७४ को हारको बदला लिँदै तेस्रो पटक जितेर संसद पस्ने प्रयासमा छन्। 

उनी पहिलो पटक ०५१ को चुनावमा साविक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका थिए।

०५६ मा साविक क्षेत्र नम्बर १ मा उठेका साउदले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गर्दै संसद पुगेका थिए।

०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका देवीलाल चौधरीसँग साउद साविक क्षेत्र नम्बर २ मा पराजित भए।

त्यसपछि ०७० को दोस्रो संविधानसभा चुनावमा साउदले एमालेका तारालामा तामाङलाई हराए। 

०७४ मा साउद वाम गठबन्धनका साझा उम्मेदवार एमालेका धामीसँग पराजित भए। अहिलेसम्मका ५ निर्वाचनमध्ये साउदले ३ मा हार र २ मा जित निकालेका छन्।

‘क्षेत्र नम्बर २ मा एमालेले जनताको पक्षमा काम गर्न सकेको छैन, त्यसैले विकास र समृद्धिका लागि यसपटक जनताले गठबन्धनलाई जिताउँछन्,’ कांग्रेस क्षेत्र नं. २ सभापति लालबहादुर सिंहले भने, ‘यहाँ हामी त्यसै पनि बलियो छौँ, त्यसमाथि माओवादी पनि हामीसँग छ, हामी भारी मतान्तरले जित्छौँ।’

एमाले उम्मेदवारनरबहादुर धामी

एमालेलाई चुनौती
पार्टी विभाजनबाट गुज्रिरहेको एमालेलाई गठबन्धनविरुद्ध जित्न चुनौती छ। त्यसमाथि टिकटमा असन्तुष्टि जनाउँदै क्षेत्र नम्बर २ का कतिपय नेताले पार्टी छोडेका छन्।

प्रदेश सभा १ (१) मा टिकट नपाएपछि एमालेबाट विद्रोह गर्दै टेकबहादुर हमालले बागी उम्मेदवारी दिएका छन्।

नरबहादुर धामी कञ्चनपुरमा तेस्रो पटक संसदीय चुनाव लड्दैछन्। अहिलेसम्मका दुई चुनावमध्ये उनले एकमा जित निकालेका छन्, अर्को हार।

पहिलो पटक ०७० मा संसदीय चुनाव फेस गरेका धामी तत्कालीन क्षेत्र नम्बर ३ मा कांग्रेसका बहादुरसिंह थापासँग पराजित भए। 

त्यसपछि ०७४ मा पनि मौका पाएका धामीले क्षेत्र नम्बर २ मा माओवादीको समर्थनमा कांग्रेसका एनपी साउदलाई पराजित गरे।

यो पटक पनि उनैलाई ठूलो रस्साकस्सीपछि एमालेले क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। ०७४ को विरासत कायम राख्दै फेरि संसद पस्ने दाउमा छन्, उनी।

‘जनताबाट राम्रो प्रतिक्रिया पाएका छौँ, एमालेको सरकारका पाला थुप्रै विकास निर्माणका काम भएका छन्,’ एमालेबाट प्रदेश सभा (२) का उम्मेदवार रहेका कृपाराम रानाले भने, ‘जति ठूलो गठबन्धन बनाए पनि एमालेको जितलाई रोक्ने तागत कसैसंग छैन, जनताले काम गर्नेलाई मत दिन्छन्।’

जोड घटाउ
क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो देखिन्छ। यो क्षेत्रमा बेदकोट नगरपालिका (८ नम्बरबाहेक), शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्। 

स्थानीय तहमध्ये बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर–उपमेयर दुवै जितेको छ। शुक्लाफाँटा नगरपालिकामा उपमेयर मात्रै कांग्रेसले जितेको छ भने मेयर एमालेले जितेको छ।

यहाँ स्थानीय चुनावमा एमाले, कांग्रेस एक्लाएक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर लडेका थिए।

यहाँ कांग्रेस र माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनसँग करिब ३० हजार मत छ।

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्। 

एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।

माओवादीको समर्थनमा बेदकोट नगरपालिकामा मेयरका उम्मेदवार एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र शुक्लाफाँटामा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादीका नवराज ऐरले ५ हजार २२५ मत ल्याएका थिए।

यस्तै, एक्लै लडेको कृष्णपुर नगरपालिकामा माओवादीका उम्मेदवार जोगराज चौधरीले ८ हजार २०० र एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलले ६७५ मत ल्याएका थिए। 

समाजवादीका रेग्मी र बम अहिले एमालेमै फर्किएका छन्। एमालेसँग क्षेत्र नम्बर २ मा १७ हजार बढी मत छ। एमालेका प्रमुखका उम्मेदवारले तीनै स्थानीय तहमा १७ हजार ९८७ मत बटुलेका छन्।

३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ।

कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७,  शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ।

माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ। 

एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ।

०७४ को हिसाब
अघिल्लो चुनावमा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। प्रतिनिधि सभामा एमालेका धामीले जित निकाल्दा प्रदेश सभामा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका थिए।

प्रदेश सभा २(१) मा माओवादी केन्द्रका महेशदत्त जोशी १७ हजार ६७२ मत सहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत ल्याएका थिए।

यस्तै, प्रदेश सभा २(२) मा एमालेका तत्कालीन नेता लालबहादुर खड्का १६ हजार ३८५ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत ल्याएका थिए।

सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्का एमाले विभाजनमा समाजवादीतिर लागेका थिए। उनी यसपटक पनि  प्रदेश सभा २(२) मासमाजवादीबाटै उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .