ad ad

राजनीति


लमजुङमा देव गुरुङलाई दुई उम्मेदवारको समर्थन, आफ्नो उम्मेदवारी बनाए निष्क्रिय

लमजुङमा देव गुरुङलाई दुई उम्मेदवारको समर्थन, आफ्नो उम्मेदवारी बनाए निष्क्रिय

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ११:१७, लमजुङ

सत्ता गठबन्धनका तर्फबाट लमजुङमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई समर्थन गर्दै दुई उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन्। 

नेपाली कांग्रेस (बीपी) का तर्फबाट उम्मेदवार बनेका डा. लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नरेन्द्रबहादुर गुरुङले महासचिव गुरुङको समर्थनमा उम्मेदवारी निष्क्रिय बनाएका हुन्।

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिनुपर्ने र द्वन्द्वकालका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागको सुनुवाइ नभएपछि आफूले नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवारी दिएको, तर राष्ट्रिय राजनीतिको मुख्य चुनौती प्रतिगमन रहेको उल्लेख गर्दै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको उनले विज्ञप्तिमार्फत बताएका छन्। 

उम्मेदवारीलाई निष्क्रिय पारेका जसपा उम्मेदवार गुरुङले पनि प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनका उम्मेदवार गुरुङ सदासर्वदा राष्ट्रियताप्रति अडिग रहेकाले उनलाई समर्थन गरेको उल्लेख गरेका छन्। 

महासचिव गुरुङलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेको जानकारी दिन डा. पौडेल र गुरुङले आइतबार बिहान लमजुङमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महासचिव गुरुङ, प्रदेश सभामा सत्ता गठबन्धनका तर्फबाट लमजुङ ‘क’ का उम्मेदवार डा. टकराज गुरुङ उपस्थित थिए। 

नेपाली कांग्रेसबाट असन्तुष्ट समर्थकहरूको मत आकर्षित गर्ने ठानिएका डा. पौडेल र जसपा उम्मेदवार गुरुङको समर्थन हासिल गरेपछि महासचिव गुरुङ लमजुङमा थप बलियो बनेका छन्। २०७४ को निर्वाचनमा पनि उनी लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .