ad ad

राजनीति


बालेन्द्रले अवैध संरचनामा डोजर चलाए झैँ भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : लिङदेन

बालेन्द्रले अवैध संरचनामा डोजर चलाए झैँ भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : लिङदेन

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १८:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन्। 

शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताए।

उनलेएक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताए।

उनले भने – ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरुमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर।’

अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे। उनलेआफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे।

आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे।

‘आज म देशभर आम मतदातासँग यही कुरा भन्न आएको छु यो संसदमा मलाई साथीहरु चाहियो। म एक्लै भएँ। म साथी माग्न आएको छु। तपाईहरुले मलाई पाँच वर्ष हेर्नुभयो। मैले पाँच वर्ष गरेको काम, त्यहाँ मैले उठाएको आवाजहरु तपाईलाई ठिक लागेको छ कि छैन ? मैले ठिक गरेको छु भन्ने तपाईले ठान्नुभएको छ भने मैले देशलाई भनिराखेको छु, म एक्लो भएँ। म साथीहरु मागिरहेको छु साथीहरु दिनुस्’ लिङदेनले भने।

उनले आफूले चुनाव घाेषणा भएपछि तलबभत्ता नखाने उद्घोष गरेको स्मरण गरे। त्यसबाट राज्यकोषकाे दुई अर्ब रुपैयाँ बचेकाे उनले बताए।

उनले भने, ‘फागुनसम्म अस्तिका सबै सांसदहरुले तलबभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए। एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो। यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन। म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ। तर मलाई यो भत्ता, तलब खाने मन छैन। आजबाट यो सांसद पद पनि मैले त्यागे। आजबाट मेरो नाममा कुनै प्रकारको तलब, भत्ता नहाल्दिनु। मैले तपाइँहरुलाई एक्लो भएकाले रोक्न सक्दिनँ। चुनाव आउँदैछ। म जनताको बीचमा गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने तागतका साथ साथीहरु लिएर आउँछु भनेर हिँडेको छु। फिर्ता लिएछन् पछि। राज्यकोषको २ अर्ब पैसा बच्यो भनेर पत्रकार साथीहरुले भनिराख्नुभएको छ।’

अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरि पनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे। उनले कांग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे।

उनले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताए।

उनलेबाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे।

लिङदेन वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .