ad ad

राजनीति


काभ्रे २ मा हुमागाईं र बाँस्कोटाबीच कडा प्रतिस्पर्धा

काभ्रे २ मा हुमागाईं र बाँस्कोटाबीच कडा प्रतिस्पर्धा

फाइल।


राजकुमार पराजुली
कात्तिक २६, २०७९ शनिबार १३:४६, काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ। चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार बढ्दै गएको छ। 

यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईं र नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ। दुवै प्रतिस्पर्धी आआफ्नै शैलीमा प्रचारप्रसारमा होमिएका छन्। दुवै पक्षले मतदाता आकर्षित गर्न मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन्। 

बाँस्कोटा एमालेमा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री  समेत भएका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ। 

उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाईं २०५६ मा प्रतिनिधिसभा सदस्य भएका थिए भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा हारेका थिए। साथै, अघिल्लो निर्वाचनमा विश्राम लिएका थिए। 

हुमागाईं र बाँस्कोटालाई दुवै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ। हुमागाईं र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ। 

२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईं पार्टीका विभिन्न भ्रातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए। 

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीका विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्युरो सदस्य छन्। २०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई हराई मन्त्रीसमेत भएका थिए।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको विरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ। हुमागाईंलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .