ad ad

राजनीति


त्यो ‘जेरिम्यान्डरिङ’, जसले नेमकिपाको हातबाट भक्तपुर २ खोसिदियो

त्यो ‘जेरिम्यान्डरिङ’, जसले नेमकिपाको हातबाट भक्तपुर २ खोसिदियो

नारायणमान बिजुक्छे


सीताराम बराल
कात्तिक २७, २०७९ आइतबार १०:५८, काठमाडौँ

विसं २०५० वा २०६० को दशकमा जन्मेको पुस्तालाई नारायणमान बिजुक्छे (रोहित) नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभामा ४ सिट हात पारेको थियो भन्ने सुन्दा आश्चर्य लाग्नसक्छ। 

विजय हासिल गरेकामध्ये दुईजना हालको कर्णाली प्रदेश अन्तर्गतका जुम्ला र दैलेखबाट निर्वाचित भएका थिए। जुम्लाबाट सो पार्टीका भक्तबहादुर रोकाया ६ हजार ५ सय ९१ र दैलेख–२ बाट विनोदकुमार शाह १३ हजार ६ सय ४० मत प्राप्त गरी प्रतिनिधि सभामा चुनिएका थिए।

बाँकी दुई सिट उसको परम्परागत किल्ला मानिने भक्तपुरका दुई निर्वाचन क्षेत्रबाट प्राप्त भएको थियो। भक्तपुर–१ मा अध्यक्ष बिजुक्छे र भक्तपुर–२ मा आशाकाजी बासुकला विजयी भएका थिए। 

तर, यही निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनमा नेमकिपा उम्मेदवार अनुराधा थापामगर ५ हजार ४ सय ७१ मतमा खुम्चिन बाध्य भइन्। ‘वाम गठबन्धन’ को तर्फबाट एमालेका महेश बस्नेत ३६ हजार ४ सय १२ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका दमननाथ ढुङ्गानालाई १८ हजार ६ सय ७५ मत प्राप्त भएको थियो। 

२०७४ मा पराजित नेमकिपाकी अनुराधा थापामगर, जो यसपटक पनि उम्मेदवार छिन्

भक्तपुर–२ मा २०७४ को निर्वाचनमा नेमकिपाको खराब प्रदर्शनको कारण त्यो क्षेत्रमा उपत्यकाबाहिरका जिल्लाबाट भएको बसाइँसराइ हो भन्नेहरू धेरै छन्।

हुन पनि भक्तपुर– २ का सूर्यविनायक नगरपालिका र मध्यपुर–थिमी नगरपालिकामा बसाइँसराइ गरी आएका मतदाताको संख्या उल्लेख्य छ। त्यहीकारण भक्तपुर–२ मा कांग्रेस र एमालेको तुलनामा नेमकिपा कमजोर देखिन थालेको हो भन्ने कथनमा आपत्ति जनाउनुपर्ने कारण छैन। 

तर, दुई–दुई पटक विजय हासिल गरेको यो क्षेत्रमा २०७४ मा नेमकिपाको त्यति खराब प्रदर्शनको कारण त्यहाँ बढ्दो बसाइँसराइ मात्रै भने होइन। 

२०७४ को निर्वाचनमा यो क्षेत्रमा नेमकिपा कमजोर देखिनुको मुख्य कारण त्यसअघि भएको निर्वाचन क्षेत्र पुनर्निर्धारण हो।

भक्तपुर २ मा एमालेका उम्मेदवार महेश बस्नेत

२०७० को निर्वाचनमा भक्तपुर–२ का माओवादी प्रत्यासी डीपी ढकालका भनाइमा २०७४ मा निर्वाचन क्षेत्र पुनर्निर्धारण गरिनुअघिसम्म भक्तपुर नगरपालिकाका आधाभन्दा बढी वडाहरु भक्तपुर–२ मा पर्थे। भक्तपुर नगरपालिकाका १, ३, ५, ७, ९, ११, १३, १५ र १७ वडा सो क्षेत्रमा थिए। 

अहिले १० वडामा विभाजित यो नगरपालिका उतिबेला १७ वटा वडामा विभाजित थियो। २०७४ र ०७९ का दुवै स्थानीय तह निर्वाचन मात्र होइन, त्यसअघिका निर्वाचनमा यो नगरपालिकामा नेमकिपाकै वर्चस्व रहन्थ्यो। 

पछिल्ला दुई स्थानीय तह निर्वाचनमा नगरपालिका र वडाका सबै सिट ‘क्लिन स्विप’ गरेबाटै भक्तपुर नगरपालिकामा नेमकिपा कति शक्तिशाली रहेछ भन्ने अनुमान गर्न सकिन्छ। 

नेमकिपा यति धेरै शक्तिशाली रहेको भक्तपुर नगरपालिकाका आधाभन्दा बढी वडा रहेकाले २०४८–०७० सम्मका पाँच आम निर्वाचनमा भक्तपुर–२ मा नेमकिपा मुख्य प्रतिस्पर्धी दलको रुपमा थियो। पाँचमध्ये २०५१ र ०६४ को आमनिर्वाचनमा उसले पाँच हजार मतान्तरले यो क्षेत्रबाट विजय हासिल गरेको थियो। 

२०५१ मा नेमकिपाबाट भक्तपुर २ मा निर्वाचित सांसद आशाकाजी बाशुकला

भक्तपुर– १ मा त सधैँ नेमकिपाले बाजी मार्थ्यो। यो निर्वाचन क्षेत्रमा पनि भक्तपुर नगरपालिकाका आधाजसो वडा थिए। अहिले चाँगुनारायण नगरपालिकामा पर्ने गाविसहरु यही क्षेत्रमा परे पनि भक्तपुर नगरकै मत निर्णायक हुने भएकाले बिजुक्छे सहज रुपमा विजयी हुन्थे। 

भक्तपुर नगरपालिकाको मतका कारण २०४८–२०७० सम्मका पाँच निर्वाचनमा अध्यक्ष विजुक्छे निर्वाचित हुने यो क्षेत्रमा २०७४ मा सचिव प्रेम सुवाल विजयी भए।

तर, भक्तपुर नगरपालिकालाई २०७४ को निर्वाचन क्षेत्र पुनर्निर्धारणका क्रममा भक्तपुर–१ मा मात्र सीमित गरियो। 

‘भक्तपुर–१ मा त हामीलाई कसैले हराउन सक्दैनथे। भक्तपुर–२ मा भने तीव्र प्रतिस्पर्धा हुन्थ्यो। कहिले हामी जित्थ्यौँ, कहिले कांग्रेसले जित्थ्यो,’ नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले भने, ‘सधैँका लागि नेमकिपालाई हराउने नियत राखेर निर्वाचन क्षेत्र पुनर्निर्धारणका क्रममा भक्तपुर नगरपालिकालाई भक्तपुर–२ बाट अलग गरियो।’ 

अर्थात्, २०७४ अघि भक्तपुर–१ र २ निर्वाचन क्षेत्रमा विभाजित भक्तपुर नगरपालिका २०७४ पछि भक्तपुर–१ को मात्र अंग बन्न पुग्यो। 

भक्तपुर–१ मा पक्का, २ मा धक्का
भक्तपुर नगरपालिकालाई भक्तपुर–१ मा मात्र राखेर गरिएको पुनर्निर्धारणका कारण भक्तपुरका दुवै निर्वाचनलाई असर गर्यो। 

२०७० सम्म भक्तपुर नगरपालिकाका वडाहरु दुवै निर्वाचन क्षेत्रमा विभाजित हुँदासमेत भक्तपुर–१ मा नेमकिपा अपराजित नै थियो। पुरै भक्तपुर नगरपालिका भक्तपुर–१ मा समेटिएपछि त यो क्षेत्रमा नेमकिपा थप मजबुत बन्यो। पहिले कम मतअन्तरले विजय हासिल गर्ने नेमकिपा निर्वाचन क्षेत्र पुनर्निर्धारणपछि अब भक्तपुर–१ मा प्रतिद्वन्द्वीहरुलाई झण्डै दोब्बर मतअन्तरले पराजित गर्न सक्ने भयो। 

२०४८–२०७० को आमनिर्वाचनका परिणामसँग २०७४ को निर्वाचन परिणाम तुलना गर्ने हो भने यो कुरा देख्न सकिन्छ।

यो तथ्याङ्कले देखाउँछ– २०७४ अघिसम्म भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा नेमकिपाको मत स्थिर थियो

तर, जब २०७४ मा भक्तपुर नगरपालिकालाई भक्तपुर–१ मा मात्र सीमित गरियो, त्यसपछि दुवै निर्वाचन क्षेत्रको परिणाममा फरक देखिन थाल्यो।

सूर्यविनायक नगरपालिका–५ कटुन्जे घर भएका नेमकिपा कार्यकर्ता रामकृष्ण बखुन्छेका भनाइमा २०७४ अघिसम्म क्षेत्र नं २ मा रहेका भक्तपुर नगरपालिकाका वडाहरुमा नेमकिपाको मत १२–१३ हजार थियो। ती वडाका १२–१३ हजार मत प्राप्त हुँदा नेमकिपा उम्मेदवारहरु भक्तपुर–२ का मुख्य प्रतिस्पर्धी हुन्थे। दुई निर्वाचन (२०५१ र २०६४) मा जितको आधार त्यही मत थियोर

बखुन्छेको दाबीलाई २०७४ को निर्वाचनमा भक्तपुर–१ र भक्तपुर–२ मा नेमकिपाका उम्मेदवारहरुले प्राप्त गरेको मतले पनि पुष्टि गर्छ।

जस्तोः २०७४ अघि भक्तपुर–१ मा नेमकिपाको मत १६–२० हजारको बीचमा रहन्थ्यो भने भक्तपुर–२ मा उसले १३–१८ हजार बीचको मत प्राप्त गर्थ्यो। बखुन्छेले भनेजस्तै भक्तपुर नगरपालिकाका आधाजसो वडाबाट उसलाई प्राप्त हुने १२–१३ हजार मतको योगदान थियो। 

अर्थात्, भक्तपुर–२ मा परेका भक्तपुर नगरपालिकाका ९ वटा वडाका १२–१३ हजार मत र सूर्यविनायक एवं मध्यपुर–थिमीबाट प्राप्त हुने ४–६ हजार मतका कारण उसको मत १८ हजारसम्म पुग्थ्यो।  

तर, जब भक्तपुर नगरपालिकाका ९ वटा वडा भक्तपुर–२ बाट अलग गरी भक्तपुर–१ मा पारियो, त्यसपछि नेमकिपाले सूर्यविनायक नगरपालिका र मध्यपुर–थिमी नगरपालिकाबाट प्राप्त हुने मतमा मात्र चित्त बुझाउनुपर्ने भयो। 

भक्तपुर–२ स्थित सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित नेमकिपाको कार्यालय र कार्यकर्ता बखुन्छे  

२०७० सम्म बलियो प्रतिस्पर्धी रहेको नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरलाई २०७४ को निर्वाचनमा ५ हजार ४ सय ७१ मत मात्र प्राप्त हुनुको कारण यही थियो। 

‘जित–हार के हुन्थ्यो, त्यो त भन्न सकिँदैन तर पहिलेकै निर्वाचन क्षेत्र कायम भैदिएको भए २०७४ मा पनि हामी १६–१८ हजार मतकै हाराहारीमा रहन्थ्यौँ,’ बखुन्छेले भने, ‘तर, हाम्रो होल्ड भएको क्षेत्र अर्कै निर्वाचन क्षेत्रमा पारियो, त्यसपछि भक्तपुर–१ मा हाम्रो मत कम हुनु स्वाभाविक थियो।’

नेमकिपाको घना प्रभाव रहेका वडा अर्काे निर्वाचन क्षेत्र (भक्तपुर– १) मा पारिँदा नेमकिपालाई असर पर्यो भन्ने उनको दाबी भक्तपुर–१ को २०७४ को निर्वाचन परिणामले पनि पुष्टि गर्छ। 

जस्तोः २०७४ अघिका निर्वाचनमा (भक्तपुर–२ मा जस्तै) भक्तपुर–१ मा पनि नेमकिपाको मत स्थिर थियो। यो क्षेत्रमा उसलाई १८–२० हजार मत प्राप्त प्राप्त भइरहन्थ्यो। २०५१ को निर्वाचनबाहेक यो क्षेत्रमा उसले प्राप्त गर्ने मतमा खासै ठूलो घटबढ त्यसअघि भएको थिएन। 

तर, नेमकिपा समर्थक १२–१३ हजार मतदाता रहेका भक्तपुर नगरपालिकाका ९ वटा वडा जब भक्तपुर–१ मा मिसिन पुगे, त्यसको असर २०७४ को निर्वाचनमा देखिइहाल्यो।  

अध्यक्ष बिजुक्छेजस्ता शीर्ष नेतासमेत १८–२० हजार मत प्राप्त गरेर जित्ने यो क्षेत्रमा नेमकिपा सचिव प्रेम सुवाल २०७४ मा ३३ हजार ७६ मतका साथ विजयी भए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीलाई १७ हजार ८ सय १८ मत प्राप्त भयो। 

२०६४ मा भक्तपुर–२ बाट निर्वाचित सुनिल प्रजापति, उनी हाल भक्तपुर नगरपालिकाको मेयर छन् 

‘भक्तपुर–२ मा रहेका भक्तपुर नगरपालिकाका ९ वटा वडालाई भक्तपुर–१ मा नल्याइएको भए २०७४ मा नेमकिपाले यति धेरै मत प्राप्त गर्ने थिएन’, भक्तपुरका माओवादी नेता ढकालले भने, ‘ती वडा यता ल्याएर मिसाइएकाले यहाँ अन्य दललाई प्रतिस्पर्धा गर्न गाह्रो भयो।’

नेमकिपाविरुद्ध ‘जेरिम्यान्डरिङ’
निर्वाचन–राजनीतिको सन्दर्भमा ‘जेरिम्यान्डरिङ’ भन्ने शब्द राजनीतिशास्त्रमा प्रचलित छ। निर्वाचन परिणामलाई असर पार्ने योजनाका साथ हुने निर्वाचन क्षेत्रको भौगोलिक सीमामा गरिने तोडमोड नै ‘जेरिम्यान्डरिङ’ हो। 

निर्वाचन क्षेत्र पुनर्निर्धारण हुँदा शक्तिशालीहरुले आफू अनुकूल हुने र विरोधी पक्षलाई पराजित गर्न यस्तो काम गर्छन्। यस्तो अभ्यास (षड्यन्त्र) नेपालमा पनि पञ्चायतकालदेखि नै हुँदै आएको छ। 

त्यसो भए २०७४ पछि मत परिणाम उलटपुलट हुने गरी ‘जेरिम्यान्डरिङ’ गरेर कसले भक्तपुर नगरपालिकाका वडाहरुलाई भक्तपुर–२ बाट भक्तपुर– १ मा सारिदियो त?

भक्तपुर–१ का ‘गैर–नेमकिपा’ पार्टीका नेता–कार्यकर्ताहरु नेमकिपा अध्यक्ष रोहितलाई सहज बनाइदिन यो काम गरिएको हुनसक्ने अनुमान गर्छन्। 

नेमकिपा नेताहरु भने यो कुरालाई ठाडै अस्वीकार गर्छन्। उनीहरुको भनाइमा भक्तपुर–२ बाट पनि नेमकिपालाई बेदखल गर्न यो काम गरिएको थियो। 

‘हामीले प्रत्येक चुनावलाई राष्ट्रियता, जनजीविकाको आन्दोलनको तयारीका रुपमा प्रयोग गर्दै आएका छौँ, त्यसैले शासक दलहरुलाई जस्तो चुनावमा कुनै क्षेत्र जित्नु–नजित्नुले हामीलाई तात्विक फरक पार्दैन,’ नेमकिपा केन्द्रीय सदस्य गोसाइँले भने, ‘चुनाव सम्बन्धी दृष्टिकोण नै फरक छ भने हामीलाई निर्वाचन क्षेत्र परिवर्तन गर्नु जरुरी नै छैन नि!’

उनले थपे, ‘२०४८ देखि नै भक्तपुर–१ हाम्रो लागि सुरक्षित क्षेत्र हो। दुई पटक हामीले जितिसकेको भक्तपुर–२ मा हामी नै कमजोर देखिने गरी ९ वटा वडा भक्तपुर–१ मा सार्न हाम्रो भूमिका हुने कुरै भएन।’

२०७४ मा भक्तपुर– १ बाट निर्वाचित नेमकिपाका प्रेम सुवाल, जो यसपटक पनि यहाँ उम्मेदवार छन्

हो, २०६४ को निर्वाचनअघि गरिएको भए भक्तपुर नगरपालिकाका ती वडा भक्तपुर–१ मा सारिनुमा नेमकिपाको भूमिका थियो भन्न सकिन्थ्यो। त्यो बेलासम्म नेमकिपा पनि सात दलीय गठबन्धनमा सहभागी थियो। 

तर, २०७४ मा राज्यव्यवस्थासम्बन्धी निर्णयमा उसको कुनै भूमिका हुने स्थिति थिएन। निर्वाचन पुनर्निर्धारण समितिमा नेमकिपा निकट व्यक्तिहरु पनि थिएनन्। त्यसैले, नेमकिपाको योजना अनुसार भक्तपुर महानगरपालिकाका बाँकी वडाहरु भक्तपुर–२ बाट भक्तपुर–१ मा सारियो भन्ने अर्काे पक्षको आरोप विश्वसनीय लाग्दैन।  

बरु, पूर्ववत निर्वाचन क्षेत्र कायम राखिँदा भक्तपुर–१ का अलावा भक्तपुर–२ पनि जित्ने स्थिति रहेकाले नेमकिपालाई भक्तपुर–२ मा कमजोर पार्न भक्तपुर नगरपालिकाका वडाहरुलाई निकालेर भक्तपुर–१ मा सारिएको हो भन्ने नेमकिपाकै दाबी तार्किक देखिन्छ।  

यो त भक्तपुर नगरपालिकाका ९ वटा वडाहरु भक्तपुर–२ बाट भक्तपुर–१ स्थानान्तरण गरिएको कुरा भयो। पञ्चायतकालीन संसद (रापंस) को निर्वाचनमा समेत यस्तै चालमार्फत् भक्तपुरको निर्वाचन परिणाम आफू अनुकूल निकाल्ने प्रयास दरबारले गर्थ्यो। 

२०४८, २०५६ र २०७० मा भक्तपुर–२ बाट निर्वाचित कांग्रेस उम्मेदवारहरु क्रमशः जगन्नाथ आचार्य, लेखनाथ न्यौपाने र रामेश्वर ढुङ्गेल

यसरी यताउता पारिनेमा ललितपुरको पूर्वाेत्तर क्षेत्रमा पर्ने लुभु, लामाटार र टीकाथली लगायतका गाउँहरु हुन्थे। चुनाव अघिसम्म ललितपुरको सीमाभित्र रहने यी गाउँहरु चुनावका बेला भक्तपुरमा पारिन्थे।

‘आफूले जितेको निर्वाचन क्षेत्र भएकाले म ती गाउँमा विकास–निर्माणका काम गर्थें,’ २०३८ र २०४३ को निर्वाचनमा ललितपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य केशरबहादुर विष्टले भने, ‘तर, चुनावका बेला ती गाउँलाई ललितपुरको साटो भक्तपुरमा पारिन्थ्यो। आफूलाई मत आउँछ भनेको ललितपुरका गाउँहरु निर्वाचनका बेला भक्तपुरमा पारिएपछि म हेरेको हेर्यै हुन्थेँ।’

यी तीन गाउँमा यस्ता स्थानीय अहिले पनि भेटिन्छन्, जो तिनै गाउँका स्थायी बासिन्दा हुन्। तर उतिबेला बनाइएको नागरिकतामा जिल्ला चाहिँ जिल्ला भक्तपुर उल्लेख गरिएको हुन्छ। 

भक्तपुरमा मतदाता संख्या कम भएकाले बढी जनसंख्या भएका ललितपुरका गाउँहरु भक्तपुरमा सारिएको हुनसक्ने पूर्वमन्त्रीसमेत रहेका विष्ट बताउँछन्। 

तर, जानकारहरुका भनाइमा पञ्चायतकालीन निर्वाचनमा समेत नेमकिपा अध्यक्ष बिजुक्छेको प्रभाव रहन्थ्यो। त्यसैले उनी समर्थित उम्मेदवारलाई रोक्न दरबारकै निर्देशनमा ललितपुरका यी गाउँलाई भक्तपुरतिर पारिन्थ्यो।  

पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका लागि प्रतिस्पर्धा गर्ने चर्चित पञ्चहरुमा गणेशबहादुर खत्री, सुरेन्द्रप्रताप शाह लगायत थिए। भक्तपुरबाट खत्री वा शाहमध्ये एकजना जितेर आइदिउन् भन्ने दरबारको चाहना हुन्थ्यो। 

उनीहरुले भक्तपुरका ग्रामीण क्षेत्रबाट धेरै मत प्राप्त गर्थे। तर, राष्ट्रिय पञ्चायतका लागि एक मात्र सिट रहेको भक्तपुरको निर्वाचनमा भक्तपुर नगरपालिकाको मत निर्णायक हुन्थ्यो, जहाँ उतिबेला पनि नेमकिपा नै प्रभावशाली थियो। त्यहीकारण निर्वाचन परिणामलाई प्रभाव पार्न ललितपुरका उपरोक्त गाउँहरु भक्तपुरमा स्थानान्तरण गरिन्थे। 

तर, यसका बाबजुद वालिग मताधिकारका आधारमा २०३८ र २०४३ मा भएका दुवै निर्वाचनमा न खत्री निर्वाचित हुनसके, न त शाह नै। उनीहरुलाई हराउँदै नेमकिपा समर्थित उम्मेदवारहरु कर्ण ह्योजु २०३८ र गोविन्द दुवाल २०४३ मा राष्ट्रिय पञ्चायतमा निर्वाचित भए।  

कर्ण ह्योजु र गोविन्द दुवाल

‘जेरिम्यान्डरिङ’ मार्फत् पञ्चायतकालका दुवै निर्वाचन (२०३८ र २०४३) मा ललितपुरका गाउँहरु भक्तपुरतर्फ ल्याएर आफ्ना समर्थक उम्मेदवारलाई जिताउन खोजे पनि दरबार सफल भएन, नेमकिपालाई दरबारले भक्तपुरबाट पराजित गर्न सकेन।

तर, २०७४ मा निर्वाचन क्षेत्र पुनर्निर्धारणका क्रममा गरिएको ‘जेरिम्यान्डरिङ’ ले भने नतिजा दिन थालिसकेको छ। जस्तो कि, २०७० सम्म कि विजयी, कि त प्रतिस्पर्धी मतसहित दोस्रो स्थानमा रहने नेमकिपा २०७४ पछि यो क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुग्यो, त्यो पनि निकै ठूलो मतअन्तरसहित।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .