ad ad

राजनीति


गौंडा-गौंडामा बसेका छौँ, आचारसंहितालाई छल्ने प्रयास नगर्नू : निर्वाचन आयुक्त भण्डारी

‘आचारसंहीता नमान्नेलाई कारबाही गर्न खुट्टा कमाउने छैनौं’
गौंडा-गौंडामा बसेका छौँ, आचारसंहितालाई छल्ने प्रयास नगर्नू : निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी।


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १३:११, काठमाडौँ

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो।

शनिबार बिहान न्युज एजेन्सीसँगको कुरकानीका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहिता उल्लंघन हुनसक्ने बताए।

‘विगतको तुलनामा धेरै कम आचारसंहिता उल्लंघन भएको छ। आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नुहुन्छ, त्यो सबैले बुझेका छौँ,’ भण्डारीले भने, ‘अहिले हामी स्थिर अवधिमा छौँ। स्थिर अवधिमा अझै कडाईका साथ लागू गर्नुपर्छ।’

उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए।

निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए।

‘यो बेलामा बढी भन्दा बढी आचारसंहिता उल्लंघन हुन्छ भनेर प्रतिनिधिहरुले भनिरहनुभएको छ । आयोग यो समयावधिमा गौंडागौंडामा बसेर हेरिरहेको छ,’ भण्डारीले भने, ‘उहाँहरु बर्दीमा नहुनुहोला तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ। तर बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्नुहोला,’

उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए। ‘आयोगप्रति हेर्ने दृष्टिकोण दुई वटा छ। कडाई गर्‍यो, आयोग निर्मम भयो भन्ने छ, नरम गर्‍यो, आयोगले आचारसंहिता कार्यान्वयन गर्न खुट्टा कमायो भन्ने गरिन्छ,’ आयुक्त भण्डारीले भने, ‘यसैले विगतको निर्वाचनको विषयलाई विश्लेषण गरेर हेर्दापनि हामीले आचारसंहिता वास्तवमा अलिकति कडाई गरेर नै लागू गर्नुपर्छ नत्र कार्यान्वयन हुँदैन भन्ने आायेगको ठहर रह्यो। त्यो भइसकेपछि हामीले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र नेताहरु बोलाएर छलफलमा सहभागी गरायौँ। नागरिक समाजका अगुवाहरुरको यसमा विशेष भुमिका रह्यो।’

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहितामा कडाइ गरिरहेको बताए। उनले आयोगले आचारसंहिता कडाईबारे विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए। ‘गत स्थानीय तहको निर्वाचनमा आचारसंहिताको केही छिटपुट घटनाहरु आए, त्यो पनि नियन्त्रण गरी अझ कडाईकासाथ कार्यान्वयन गर्न के गर्ने भन्दा सबैले हामी कडाई गर्नका लागि मञ्जुर छौँ भन्नुभयो,’ आयुक्त भण्डारीले भने, ‘आयोग अहिले कडा ढंगले प्रस्तुत भएको आयोगको स्वविवेकले मात्रै होइन, दल र नेताहरुको आग्रहमा दलले यसरी कडाई गरन भने स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन सक्दैन भनेपछि हामी अहिले आचारसंहिता कार्यान्वयनमा कडाईका साथ पेस भएका हौँ।’

निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको स्मरण गराए। ‘पहिला हामी आचारसंहिता कार्यान्वयन गर्न सुधारात्मक पक्षमा थियौँ। सचेत मात्रै गराइरहेका थियौँ। अहिले हामी थोरै भएपनि दण्डात्मक रुपमा पेस भएका छौँ,’ उनले भने, ‘कोही पनि चाहे एक रुपैयाँ होस् चाहे लाख रुपैयाँ होस्, कोही पनि दण्डको भागि हुन्छ भने उसले प्रचलित कानूनबमोजिम तर्जुमा भएको आचारसंहिता उल्लंघन गरेको नै ठहर्छ। आयोगको नजरमा पछिसम्म उहाँको समष्टिगत रुपमा रेकर्ड त राम्रो भएन। त्यसो भएकाले अहिले अलि फरक ढंगले हामीले सबैले देख्नेगरी कडाईकासाथ आचारसंहिता कार्यान्वयन गरेको हो।’

आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने दाबी समेत उनले गरेका छन्। 

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे। उनले आम नागरिकहरुलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताए। ‘नकारात्मक पक्षलाई मात्रै उजागर गर्ने भन्नेपनि होइन। यस भित्रका सकारात्मक पक्षलाई पनि विश्लेषण गरेर हेर्नुपर्छ। हामीले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेक अरु त सबै निरन्तर रुपमा गर्नु भनेको नै छ,’ आयुक्त भण्डारीले भने, ‘निर्वाचनमा प्रतिकुल असर पर्ने वा किन्तुपरन्तु हुने र निर्वाचनलाई असर पर्ने काम मात्रै कानूनले निषेध गरेको हो। त्यसलाई हामीले आचारसंहिता हुबहु ल्याएर राखिदिएको मात्रै हो।’

निर्वाचन आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरेपनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको बताए। उनआयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको बताए। ‘विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा भएर हिँडिनसक्नु हुन्थ्यो, शहर त सफा छ। विभिन्न शहरमा म जाँदा झण्डा, तुल टाँगेको देखिनँ, खर्चमा पनि मितव्ययिता भयो, राजनीतिक दल, उम्मेदवारहरुले अब हामीले आचारसंहिता राम्रोसँग कार्यान्वयन गर्दा हामी अलि मितव्ययी निर्वाचन गर्नसक्ने रहेछौँ भन्नेकुरा महशुस गर्नुभयो,’ उनले भने, ‘बाजा बजाएर नाच्न त मजा नै हुने तर त्यसको भुक्तानि लगायतका प्रक्रियामा झन्झटिलो हुने रहेछ।’

उनले आयोगको कडाईका कारण नै दल र उम्मेदवारहरुले पनि आचारसंहिताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महशुस गरेको बताए। निर्वाचन आयुक्त भण्डारीले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरुप बनाउने अधिकार कसैलाई नरहेको भन्दै स्वतन्त्र अभिव्यक्ति भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम गर्नु नुहने बताए।

‘उहाँहरुको नै आग्रहमा बाजागाजा निषेध गरेका हौँ। हामीले धन्यवाद नै पाएका छौँ। सिकायत पाएका छैनौँ । निर्वाचन आयोग निषेधात्मक रुपमा प्रश्तुत भएन र हुन पनि सक्दैन । आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘त्यसलाई कुरुप बनाउने प्रयास नगरौँ, यत्ति मात्रै आयोगले भनेको हो। व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्दैगर्दा आफ्नो हकले अरुको हक छिन्नु भएन। अरुको हकको सम्मान गरौँ। आफ्नो हक स्वतः सम्मान हुन्छ।’

निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .