ad ad

राजनीति


रुकुम पूर्वमा ब्यालेटमार्फत् प्रकट भाषिक विस्फोट

रुकुम पूर्वमा ब्यालेटमार्फत् प्रकट भाषिक विस्फोट

सीताराम बराल
मंसिर ६, २०७९ मंगलबार २१:३१, काठमाडौँ

माओवादी जनयुद्धको उद्गम मानिने रोल्पा र रुकुमका दुबै जिल्लामा माओवादी केन्द्रका उम्मेदवारहरु भारी मतान्तरले अग्रस्थानमा छन्। 

तर, रुकुम पूर्व ‘क’ मा जारी मतगणनाको अन्तिम परिणामले माओवादी केन्द्रभित्र भूकम्प सिर्जना गरिदिएको छ। 

किनभने, रुकुमपूर्व ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार सरुल पुन (अजयशक्ति) ले माओवादी केन्द्रका नेता तेजबहादुर (ओली प्रतिक) लाई ६ सय ४३ मतान्तरले पराजित गरेका छन्।

विजयी पुनले ४ हजार ४ सय ६५ मत प्राप्त गर्दा पराजित पुनले ३ हजार ९ सय ३२ मतमात्र प्राप्त गरेका छन्। निर्वाचनमा उनले बल्ब (चिम) चुनाव चिन्ह प्राप्त गरेका थिए। 

यसमध्ये ओली जनयुद्धकालमा माओवादी सेनाको सबैभन्दा उपल्लो संरचना डिभिजनका कमाण्डर (६ नं डिभिजन) थिए भने पुन ब्रिगेड कमाण्डर थिए। 

जानकारहरुका अनुसार, माओवादी केन्द्रबाट बिद्रोह गरी बिजेता पुनले दिएको उम्मेदवारी रुकुमपूर्वमा भित्रभित्रै सिर्जित भाषिक विद्रोहको विस्फोट हो। 

पुथा उत्तरगंगा, सिस्ने र भूमे गाउँपालिका गरी तीन स्थानीय तहमा विभाजित रुकुमपूर्वमा मुलुक संघीय संरचना अघिपनि जातीय–भाषिक असन्तुष्टि थियो। 

यी तीन पालिकामा खामभाषी मगरहरुको बाहुल्य रहेपनि प्रत्येकपटक गैरखामभाषी नेतालाई उम्मेदवार बनाइँदा माओवादीका स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट थिए। 

भित्रभित्रै पन्पिरहेको यही असन्तुष्टिलाई मध्यनजर गर्दै संघीय संरचना निर्माण गरिँदा सग्लो रुकुमलाई ‘रुकुमपूर्व’ र ‘रुकुमपश्चिम’ गरी दुई जिल्लामा विभाजन गरिएको थियो। 

यसमध्ये उपरोक्त तीन पालिकासहितको भूभाग ‘रुकुमपूर्व’ मा पारियो, जहाँ खामभाषी मगरहरुको बहुसंख्यामा थिए। 

गैरखामभाषीहरुको बाहुल्य रहेका भूभाग ‘रुकुमपश्चिम’ मा परे। 

त्यसोत, अहिलेको रुकुमपूर्व संघीय संरचनामा जानुअघिपनि छुट्टै निर्वाचन क्षेत्र (रुकुम–१) थियो। 

माओवादीकै पकड रहेको खामभाषी यो क्षेत्रमा माओवादीले उम्मेदवार चयन गर्दा भने गैरखामभाषी नेतालाई बनाउँथ्यो। 

जस्तो, २०६४ मा रुकुम–१ बाट जुनकुमारी रोका निर्वाचित भइन्, जो यसपटक प्रदेश सभामा पराजित तेजबहादुर ओलीपत्नी हुन्। 

२०७० मा वाइसीएलका पूर्वअध्यक्ष गणेशमान पुन र २०७० मा उनकी पत्नी कमला रोकाले विजय हासिल गरिन्।  

राजनीतिक रुपमा नेता मानेपनि २०७० र २०७४ मा निर्वाचित पुन र रोकालाई त्यसक्षेत्रका माओवादी नेता–कार्यकर्ताहरु खामभाषी मान्दैनन्।

संघीय संरचनामा गएपछि ‘रुकुमपूर्व’ प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमध्ये विभाजितमध्ये खामभाषीहरुको अझ बढी बाहुल्य रहेको रुकुम ‘क’ मा २०७४ को निर्वाचनमा माओवादी केन्द्रले ओलीलाई उम्मेदवार बनायो। 

उतिबेला ओलीको उम्मेदवारीलाई त्यसक्षेत्रका माओवादी नेता–कार्यकर्ताहरुले भारी मनले स्वीकार गरे। 

तर, यसपटक जब फेरि ओली नै उम्मेदवार बनाइए, त्यसपछि उनीहरुको असन्तुष्टि विस्फोट भयो। असन्तुष्ट नेता–कार्यकर्ताहरुले आधिकारिक उम्मेदवार ओलीविरुद्ध पूर्व ब्रिगेड कमाण्डर सरुल पुनलाई रुकुमपूर्व ‘क’ को उम्मेदवारका रुपमा अघि सारे। 

सोमबारदेखि सुरु भएको मतगणनामा सुरुवातदेखि तीब्र प्रतिस्पर्धात्मक रह्यो। तर, अधिकांस समय ओलीमाथि पुन हावी भए। र, अन्त्यमा विजय हासिलपनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .