ad ad

राजनीति


एमालेले डोरमणि पौडेललाई राष्ट्रपति बनाउन लागेको हो?

एमालेले डोरमणि पौडेललाई राष्ट्रपति बनाउन लागेको हो?

डोरमणि पौडेल


सुनिता विष्ट
पुस २३, २०७९ शनिबार ९:५, हेटौँडा

देशमा राजनीतिक घटनाक्रमले नयाँ नयाँ मोड लिइरहँदा कुन बेला को सत्तामा पुग्छ र को बाहिरिन्छ, भन्न गाह्रो छ। कुनै पनि राजनीतिक दलको एकल बहुमत नभएका कारण दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था छ। 

यसै क्रममा सात राजनीतिक दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ प्रधानमन्त्री बनेका छन्। नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धनको सहारामा उनी प्रधानमन्त्री बनेका हुन्। एमाले अहिले संसदको दोस्रो र गठबन्धनको पहिलो दल हो। तर पहिलो दल भए पनि प्रचण्डको प्रधानमन्त्री बन्ने धोको पूरा गर्दै माओवादी केन्द्रलाई प्रधानमन्त्री पद दिएको एमालेले राष्ट्रपति पद भने आफ्नै पोल्टामा पारेको छ। त्यसकारण पनि एमालेले कसलाई राष्ट्रपति बनाउला भन्ने चासो यतिबेला सबैलाई छ। 

केन्द्रमै नेतृत्व गरेका नेताहरूको नाम राष्ट्रपतिका लागि चर्चामा आइरहँदा पछिल्लो समय त्यसमा प्रदेशमा नेतृत्व गर्ने नेताको नाम पनि थपिएको छ। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नाम यतिबेला सम्भावित राष्ट्रपतिको सूचीमा अटाएको हो। 

माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने हुँदा राष्ट्रपतिको टिकट फुत्काउन एमालेका नेताहरूको दौडधुप चलिरहेका बेला डोरमणिको ‘इन्ट्री’ले हंगामा मच्चाएको छ। पार्टीमा शीर्ष नेताहरू हुँदाहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको दिमागमा पूर्व मुख्यमन्त्री पौडेलको नाम अटाउनु चानचुने कुरा भने होइन। हालसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङलगायत नेता राष्ट्रपतिको दौडमा छन्। पौडेलभन्दा ‘पावरफुल’ नेताहरूको लाइन हुँदाहुँदै पौडेलको नाम राष्ट्रपतिमा ‘इन्ट्री’ भए जसरी नै यसले सार्थकता पाउला कि नपाउला भन्नेतर्फ सबैको ध्यान गएको छ। 

एमालेबाट राष्ट्रपतिका लागि पहिलो दाबेदारका रूपमा रहेका नेता हुन्– सुवासचन्द्र नेम्वाङ। सांसदसमेत रहेका नेम्वाङलाई राष्ट्रपति बनाउँदा प्रतिनिधि सभामा एमालेको एक सिट घट्न जान्छ। सो कारण पनि ओली नेम्वाङलाई राष्ट्रपति नभई सभामुख बनाउन चाहन्छन्। तर नेम्वाङले  राष्ट्रपतिबाहेक अन्य पदमा आफ्नो मन नभएको प्रतिक्रिया दिइरहेका छन्। 

राष्ट्रपति पदका अर्का आकांक्षी वरिष्ठ उपाध्यक्ष पोखरेलको नाममासहमति जुट्न नसक्ने एमालेकै नेताहरू बताउँछन् भने शाक्यलाई राष्ट्रपति बनाउन अध्यक्ष ओली नै सकारात्मक देखिँदैनन्। त्यसो त शाक्यलाई राष्ट्रपति बन्न नदिन वर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई अघि सारेको चर्चा पनि छ। पौडेल राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीको प्रिय पात्र मानिन्छन्। त्यसकारण पनि केही दिन अघिसम्म प्रदेश प्रमुख बन्ने चर्चामा रहेका पौडेल एकाएक राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारिएका हुन्। 

बागमती प्रदेशको अघिल्लो कार्यकालमा पनि ओलीकै समर्थनमा मुख्यमन्त्री बनेका पौडेल यसपटक राष्ट्रपति बन्ने वातावरण बनिरहेको स्रोतको दाबी छ। पौडेललाई वर्तमान राष्ट्रपति भण्डारीले समर्थन गरे नेपालको चौथो राष्ट्रपति बन्ने सम्भावना पौडेलको बढी देखिन्छ।

राष्ट्रपतिमा तपाईंको नामले चर्चा पाइरहेको छ, तपाईं राष्ट्रपतिको दौडमा हो? 

नेपालखबरको प्रश्नमा पौडेल भन्छन्, ‘अहिले चर्चा चलेको मात्रै हो। आकांक्षी नहुने भन्ने हुँदैन। अहिले मेरो यो विषयमा छलफल भएको छैन। ८/१० दिनमा थाहा हुन्छ।’ 

उनी यो विषयमा भित्री लबिङमा रहे पनि अहिले नै खुल्न चाहेका भने छैनन्। एक्कासि चर्चामा आएका पौडेलको राष्ट्रपति बन्ने सपनाले सार्थकता पाउला या नपाउला त्यसका लागि भने अझै केही समय कुर्नैपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .