ad ad

राजनीति


प्रचण्डबाट उपराष्ट्रपति अपेक्षा गर्दै उपेन्द्र, माओवादीले छाड्ला?

प्रचण्डबाट उपराष्ट्रपति अपेक्षा गर्दै उपेन्द्र, माओवादीले छाड्ला?

सागर न्यौपाने
माघ ७, २०७९ शनिबार ८:१३, काठमाडौँ

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहित मुलुकका शक्तिशाली पदको भागबण्डा लगभग टुंग्याएरै ७ दलले सत्ता साझेदारी गरेका थिए। सहमति अनुसार माओवादी केन्द्रको भागमा प्रधानमन्त्री पर्यो। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने।

एमालेको भागमा परेको सभामुखमा पनि ५ माघमा देवराज घिमिरे चुनिइसकेका छन्। उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको छ। सत्ता साझेदार दलले गरेको सहमति अनुसार रास्वपाकी इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छन्। ७ माघमा तय भएको चुनावमा सत्ता पक्षीय दलकी साझा उम्मेदवार रानामगर जित्ने पक्का छ। 

अझै राष्ट्रपति र उपराष्ट्रपति जस्ता महत्वपूर्ण र शक्तिशाली पदहरुको चुनाव हुनै बाँकी छ। सहमति अनुसार एमालेले राष्ट्रपति पनि पाएको छ।

यद्यपि चुनाव केही ढिला हुनसक्ने देखिन्छ।

किनकि, राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएर प्रतिनिधि सभाको चुनाव लड्न गएकाले रिक्त पदमा फेरि चुनाव गर्नुपर्छ। स्रोतका अनुसार सो चुनाव २५ माघमा हुने सम्भावना छ। त्यसो हुँदा माघको अन्तिमसम्म भइसक्नुपर्ने राष्ट्रपति चुनाव झण्डै तीन साता पछि सर्न सक्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु अगावै चुनाव हुन्छ र नयाँ राष्ट्रपति आउँछन्। एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउँछ भन्ने स्पष्ट भइसकेको छैन।

तर, सत्ता पक्षीय दलहरु उपराष्ट्रपतिका विषयमा अझै अनिर्णीत देखिन्छन्। सहमति अनुसार माओवादी केन्द्रको भागमा उपराष्ट्रपति परेको भए पनि त्यसमा जसपाले दाबी गरेको छ।

जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव सत्तापक्ष भएपछि केही शक्तिशाली पद बाँडफाँटको हिस्सेदार आफूहरु पनि भएको बताउँछन्। 

‘हामी सत्तापक्ष छौँ, उपसभामुख चुनावमा पनि सत्ता पक्षकै दललाई मत दिन्छौँ,’ यादवले नेपालखबरसँग भने, ‘उपराष्ट्रपति हाम्रो खोजाइ हो।’

त्यसबारेमा अहिलेसम्म कुनै छलफल नभएको उनले बताए। 

‘समय आएपछि त्यसबारेमा दलबीच कुरा हुन्छ,’ उनले थपे, ‘अहिले नै कुनै दललाई दिने सहमति भएको भन्ने होइन।’

तर, प्रधानमन्त्री निकट स्रोतका अनुसार उपराष्ट्रपति माओवादीको भागमा परेको हो। माओवादीका एक नेता भन्छन्,  ‘हाम्रो पार्टीबाट उम्मेदवारबारे लगभग एउटा खाका बनिसकेको छ।’

संविधानमा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भनिएको छ।

एमालेबाट राष्ट्रपतिमा पुरुष नेताकै चर्चा भएकोले माओवादीले महिला नेतालाई प्राथमिकता दिएको छ। 

‘महिला र शीर्ष तहका नेतामध्ये एकजना उपराष्ट्रपति उठाउने निश्चित छ, यसमा यताउता नहोला,’ ती नेताले भने।

जसपा संघीय परिषद्का नेता एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले उपराष्ट्रपति आफ्नो दलले पाउने सम्भावना रहेको बताए।

‘सहमति हुने सम्भावना देखेरै हामी सरकारलाई समर्थन गरिरहेका छौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘मन्त्रिमण्डलमा हामीलाई जुन मन्त्रालय दिइएको छ, त्यसमा हामी सन्तुष्ट छैनौँ। सहमति हुने अपेक्षामा छौँ।’

उपराष्ट्रपतिका लागि लगभग नाम पनि तय भएको उनले दाबी गरे। 

तर, मधेश प्रदेशको मुख्यमन्त्री र केन्द्रमा दुई वटा मन्त्रालय दिएकाले जसपाले उपराष्ट्रपति माग्नु नहुने माओवादी केन्द्रका नेताहरुको भनाइ छ।

जसपालाई सहमतिमा नल्याए राष्ट्रपति र उपराष्ट्रपति दुवैको चुनावलाई असर गर्नेछ। किनकि प्रदेश सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्यले राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा मतदान गर्न पाउँछन्। जसमा जसपाको मतभार २ हजार १ सय ४५ छ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  तय गरिएको छ।

प्रतिनिधि सभा सदस्य २ सय ७५ छन् भने राष्ट्रिय सभाको कुल सदस्य ५९ मा हाल १ रिक्त छ। त्यसैले कुल ३३४ सिटको मतभार २६ हजार ३ सय ८६ हुन्छ। यस्तै ५ सय ५० प्रदेश सभा सदस्यको २६ हजार ४ सय ४० मतभार हुन्छ। 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ७ सय ८६ हो। संविधान अनुसार राष्ट्रपतिमा र उपराष्ट्रपति निर्वाचित हुन ५० प्रतिशत अर्थात् २६ हजार ३ सय ९४ मतभार ल्याउनैपर्छ। 

प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८३ सांसद गरी माओवादी केन्द्रका कूल १३० सांसद छन्। यस आधारमा माओवादीको मतभार ७ हजार ६ सय ९७ छ। 

प्रतिनिधि सभामा ८९ सिट रहेको कांग्रेसको ७ हजार ८ सय २१ मतभार छ भने १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४ सय हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २ सय २१ छ।

७८ जना प्रतिनिधि सभा सदस्य रहेको एमालेको ७ हजार ४ सय २६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७ सय २८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १ सय ५४ छ। 

एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्तिको ८१३, जनमोर्चाको २०६ र नेमकिपा २२३ मतभार छ।

यी सबैको मतभार १३ हजार २०६ छ। 

चुनावको यही अंकगणितले पनि देखाउँछ– जसपाभन्दा माओवादी केन्द्रले उठाउने उपराष्ट्रपति उम्मेदवारले जित्ने सम्भावना बढी छ। 

तर, सत्ता साझेदार दललाई एकै ठाउँमा राखिराख्न जसपाले पनि सो पद पाउन सक्छ।

यसमा प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव एक अर्काबाट लचकताको अपेक्षा गरिरहेका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा पराजित भएपछि अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने योजना बनाइरहेका छन्। उनलाई संसद् ल्याउने एउटै उपाय भनेको आफ्नाबाट चुनाव जितेका सांसदलाई राजीनामा गराएर उपराष्ट्रपति बनाउने र रिक्त भएको स्थानमा उपनिर्वाचन गरेर जितेर आउने हो।

उपेन्द्रलाई संसदमा ल्याउनकै लागि पनि उपराष्ट्रपतिबाट पछि हट्न जसपा तयार नदेखिएको नेताहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .