ad ad

राजनीति


एकदुई नेताले रविलाई फनफनी घुमाएको भन्दै रास्वपामा असन्तुष्टि

एकदुई नेताले रविलाई फनफनी घुमाएको भन्दै रास्वपामा असन्तुष्टि

सागर न्यौपाने
माघ २५, २०७९ बुधबार २१:१५, काठमाडौँ

माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेर सञ्चारमाध्यमप्रति आक्रामक अभिव्यक्ति दिए। केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेलगत्तै लामिछानेले दिएको अभिव्यक्तिपछि पार्टीमा असन्तुष्टि बढेको छ। 

सीमित नेताहरुले पार्टीमा हालिमुहाली चलाएको भन्दै केही केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

रविको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। उनले नाम तोकेर विभिन्न आरोप लगाएका सञ्चारमाध्यमका सञ्चालक तथा सम्पादकहरुले आरोप पुष्टि गर्न पनि चुनौती दिइरहेका छन्।

त्यसयता रविको अभिव्यक्तिको बचाउ गर्ने कि नगर्ने भन्नेमा रास्वपाका नेताहरुमा द्विविधा देखिएको छ। त्यसैले अधिकांश नेताहरु अहिले मौन छन्।

एक केन्द्रीय सदस्यले केही नेताहरुले सभापति लामिछानेलाई फनफनी घुमाएको दाबी गरे।

‘डोलप्रसाद अर्याल, डा. मुकुल ढकालहरुले सभापतिलाई फनफनी घुमाएका छन्, यो त पार्टी नभई व्यक्तिगत भयो,’ उनले थपे, ‘केन्द्रीय समितिको बैठकमा पनि केही नेताहरु हाबी हुन्छन्। सिस्टममा चल्नुपर्छ भन्ने दलमा यस्तो भइरहेको छ।’

उनले आफू पछिल्ला बैठकमा सहभागी नभएको बताए।

‘म पछिल्ला कुनै पनि बैठकमा गएको छैन,’ उनले भने, ‘एक त पहिला जस्तो पार्टीका नेताहरुले फोन गर्नुहुन्न, कार्यालयको नम्बरबाट मिटिङ बस्ने दिन मात्र खबर आउँछ। अनि कसरी भ्याउनु र जानु?’ 

केन्द्रीय सदस्य अरनिको पाँडेले पनि बुधबार सभापतिको अभिव्यक्तिको जिम्मा नलिने घोषणा गरे। 

‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु, हामीले व्यापक छलफल गरेका थियौँ,’ केन्द्रीय सदस्य पाँडेले ट्विट गरेका छन्, ‘म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ। रास्वपा कुनै एक नेताको भावनाभन्दा युवा, सीमान्तकृत र नेपालप्रति आशावादी रहेकाप्रति हुनुपर्छ।’

अर्का एक नेताले लामिछानेको अभिव्यक्तिपछि माहौल ठण्डा हुन नदिन पार्टीका नेताहरु चुप बसेको बताए।

‘अस्ति गरेकै गालीले दुःख पाइरहेका छौँ, अझै बोले काउन्टर गरेजस्तो हुन्छ,’ ती नेताले भने, ‘क्रियाको प्रतिक्रिया भइसक्यो। फेरि क्रिया गरे प्रतिक्रिया आउँछ, झगडाको औषधि पानी गरेका हौँ।’ 

पार्टीमा एक दुई जना व्यक्ति हाबी भएको भन्दै १८ माघमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएको घोषणा गरेका थिए।

‘एक दुईजना व्यक्ति हाबी भए,’ सापकोटाले पार्टी छोड्नुको कारण खोल्दै नेपालखबरसँग भने, ‘नराम्रो भयो, हामीलाई पेलियो।’ 

सभापति रवि लामिछानेलाई चितवन क्षेत्र नम्बर २ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका सापकोटाको बहिर्गमनले पार्टीमा ठूलै प्रभाव पार्ने विश्लेषण गरिएको छ।अन्य केन्द्रीय सदस्यहरु पनि असन्तुष्ट देखिएका छन्।

सभापति लामिछानेले आफूहरुलाई बेवास्ता गरेको अर्का एक नेताको भनाइ छ।

‘हिजो मरिमेटेर चुनाव जिताउन, संगठित गर्न र माहोल बनाउन हिँडेको केन्द्रीय सदस्यलाई पार्टीले खोज्दैन,’ उनले भने, ‘मान्छेले आफैँमा सबै कुरा छ भनेर देख्न थाल्यो भने सिद्धिन्छ।’

रास्वपामा अहिले १९ सांसद र २४ केन्द्रीय सदस्य छन्।

७ असार २०७९ मा पार्टी गठन भएको रास्वपाले ४ मंसिरको चुनावमा प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट १३ सिट जितेको थियो। अप्रत्याशित चुनावी नतिजाले रास्वपाका सभापति लामिछानेको महत्वाकांक्षा बढाएको आरोप पनि छ। तर, उनी आँफैले सरकारमा जान नचाहेपनि पार्टीका नेताहरुले जान सुझाव दिएपछि तयार भएको दाबी गरे। 

सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, सांसदहरु विराजभक्त श्रेष्ठ, हरि ढकाल लगायतका केही सांसदहरुले तत्काल सरकार जान नहुने सुझाव दिएका थिए।

तर, सभापति लामिछाने सरकारमा मात्र गएनन्, एमाले–माओवादीसँग बार्गेनिङ गरेर उपप्रधान र गृहमन्त्री बने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए। 

तर, १३ माघमा नागरिकता मुद्दामा उनलाई अदालतले सांसद र मन्त्री पदका लागि अयोग्य भएको फैसला गर्यो। यससँगै उनको सम्पूर्ण पद गयो। 

१५ माघमा नागरिकता लिएर पार्टीको पुरानै जिम्मेवारीमा फर्किए पनि उनी सरकारमा फर्किन सकेनन्। फैसलाको पूर्णपाठ नआई सांसद नरहेको व्यक्तिलाई गृहमन्त्री नबनाउने प्रधानमन्त्री प्रचण्डको अडानपछि उनले मन्त्रीहरु फिर्ता बोलाए। यससँगै पार्टीमा चुलिएको असन्तुष्टि समाधानमा केन्द्रित नहुने हो भने रास्वपा थप संकटतर्फ जाने नेताहरु स्वीकार गर्छन्।

त्यो बैठक
पत्रकार सम्मेलन गरेको भोलिपल्ट २३ माघमा आफ्ना केन्द्रीय सदस्य र सांसदहरुसँग सभापतिले छलफल राखे।

अनौपचारिक भनिएको सो बैठकमा सत्ता छोडेपछिको अवस्था, पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिपछि जनमानसले दिएको प्रतिक्रिया र सांगठनिक व्यवस्थापनबारे ब्रिफिङ भएको थियो। 

सत्ता छोड्ने कुरा सही भए पनि पत्रकार सम्मेलनमा व्यक्त कतिपय शब्द चयनबारे सकारात्मक÷नकारात्मक प्रतिक्रिया आइरहेको नेताहरुले बताएका थिए।

‘कहीँकतै शब्द चयन करेक्सन गर्नुपर्ने भयो होला,’ सांसद समेत रहेका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘हामीलाई ठिक लागेका कुरा सधैँ ठिक हुन्छ भन्ने नहुन सक्छ। ठाउँ, समय र परिवेशले असर पार्छ। ठिक लागेर गरेका काममा कमजोरी भयो होला।’

बैठकबाट सर्वसम्मत रुपमा सरकार छाड्ने निर्णय भए पनि मिडियाको आलोचनाको विषय नितान्त व्यक्तिगत भएको अर्का सांसदले बताए। 

‘स्थापित राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न कठिन नै हो, तर हामीलाई जनताले साथ दिनुभयो,’ ती सांसदले भने, ‘मिडिया सञ्चालकको प्रवृत्तिविरुद्ध सभापतिजीले जसरी भन्नुभयो, त्यसमा केही आवेग थियो होला तर त्यो तिक्ततापूर्ण बनाउने होइन, अब सम्बन्ध सुधार गर्दै अगाडि बढ्छौं।’

‘नेपालमा सबै तहका नागरिकहरु छन्। हाम्रो अभिव्यक्ति र निर्णयले कोही कसैलाई नरमाइलो लाग्यो होला,’ ती सांसदले थपे। 

यसबारेमा पार्टीको एउटै धारणा बनाएर मात्र प्रवक्ता वा सहायक प्रवक्ताबाट बाहिर प्रस्तुत गर्ने तयारी रहेको अर्का एक नेताले बताए।

केन्द्रीय सदस्य इश्रा मुल्ला मियाँका अनुसार बैठकमा पार्टी निर्णयको समीक्षा गरिएको थियो।

‘सरकारबाट मन्त्री फिर्ता बोलाएर कुनै गल्ती र कमजोरी भएको छैन, पार्टीको हित नै हुन्छ,’ उनले भने, ‘आफूले भनेको जस्तो गर्न नसक्ने भए सरकारमा बसिराखेर काम छैन, फाइदा थिएन, औचित्य छैन भन्ने निष्कर्ष हो।’

रास्वपाले सरकार छोडेपछि पार्टीको गतिविधि कम देखिएको छ। थोरै नेता भएको, भएका नेताहरु अरु गतिविधिमा लागेकाले पार्टीको सक्रियता नदेखिएको सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए। 

सरकार गठन अगाडि जुन स्टेपमा थियौं त्यही धरातलमा छौँ, सरकारमा गएपछि बैठक बढी भयो, सरकार केन्द्रित भएकाले त्यो स्वाभाविक थियो,’ उनले भने, ‘सभापति आफ्नो काम गरिरहनुभएको छ, हामी  प्रदेश समिति विस्तार र जिम्मेवारी बाँडफाँटमा लागिरहेका छौँ।’

पार्टीको चुनाव चिह्न घण्टी लिएर जितेका विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल र तोसिमा कार्कीको जिम्मेवारी पार्टीमा भने सीमित छ। उनीहरु रास्वपाका सामान्य सदस्य मात्र हुन्। रास्वपाको वेबसाइटमा राखिएको केन्द्रीय सदस्य सूचीमा उनीहरुको नाम छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .