ad ad

राजनीति


सरकारबारे खिलराज रेग्मीको टिप्पणी, ‘वल्लो घरको नरे पल्लो घर सरे’ जस्तै भो

सरकारबारे खिलराज रेग्मीको टिप्पणी, ‘वल्लो घरको नरे पल्लो घर सरे’ जस्तै भो

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मी। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १९:३८, काठमाडौँ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन्। 

पूर्व प्रधानन्यायाधीशसमेत रहेका रेग्मीले बिहीवार फोकस नेपालको १० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा  गरिएको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरु’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यसो भनेका हुन्। 

उनले सरकार स्थिर हुन नसक्दा नीति निर्माणको काम हुन नसकेको बताएका छन्। रेग्मीले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै प्राथमिकतामा परेको भन्दै दीर्घकालीन नीतिगत सोच र कार्ययोजना ल्याउन नसकेको बताए। 

सरकारले दैनिक रुपमा गर्नुपर्ने प्रशासनिक कामभन्दाबाहेक अरु गर्न नसकेको बताए। रेग्मीले वर्तमान सरकारलाई ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने उखानसँग तुलना गरे।

‘वास्तवमा शिक्षा र रोजगारलाई जोडेर हेर्न सकिएन भने त्यसको के अर्थ? त्यसकारणले संविधान आफैँ क्रियाशील हुने होइन। नीति, निर्माण र कार्यान्वयन सरकारले गर्ने हो। राज्यका अरु अवयव सहायक हुन्। तर सरकार स्थिर हुन सकेको छैन', उनले भने, 'विगतदेखिको अनुभव यस्तै छ। सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने क्रियात्मक श्रृङ्खला प्राथमिकतामा परेको छ। ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ।'

रेग्मीले दैनिक शासन, प्रशासन र गर्नुपर्ने कामबाहेक दीर्घकालीन नीतिगत सोच, कार्ययोजना र त्यसको प्रभावकारी अनुगमन कति पनि नभएको बताए। 

स्थिर सरकार निर्माण गर्ने संवैधानिक प्रबन्ध र असल अभ्यासको सु–संस्कृत व्यवहारमा राजनीतिक दलहरुको सामर्थ्य र क्रियाकलाप नदेखिएको पनि रेग्मीको भनाइ थियो। 

'दलहरु आफैँले समीक्षा गरे सुधारको खाका आइहाल्छ भन्ने मलाई लाग्छ। संविधानको पहिलो चार वर्षे अवधिमा चारवटा सरकार बने। करिब त्यही प्रकृतिको राज्य पुनःसंरचना र निर्वाचन प्रणाली वर्तमान संविधानले पनि अंगिकार गर्‍यो', उनले भने, 'विगतको अनुभवबाट पाठ सिक्दै समानुपातिक र समावेशितालाई स्थायित्व, समानता र समृद्धिको यात्रालाई सहज हुनेगरी प्रबन्ध गर्न नसक्दा र संयुक्त एवं गठबन्धनको नै सरकार भए पनि त्यसलाई दिगो बनाउने असल अभ्यास भएन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .