जनता समाजवादी पार्टीका सांसद अशोक राईले पहिचानको आन्दोलनमा उत्रिएकाहरुमाथि सरकार दमनमा उत्रिन थालेको बताएका छन्।
आइतवार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
'प्रदेश १ को नाममा कोशी प्रदेश राखिएपछि त्यसको विरोधमा तीव्र संघर्षका कार्यक्रम चलिरहेका छन्। विरोध कार्यक्रकका क्रममा चैत ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण प्रदर्शनमा बर्बर ढंगले प्रशासनिक दमन र प्रहरीको प्रहार हुने अवस्था देखियो', उनले भने, 'त्यही दिन प्रदर्शनकारीमध्ये संयुक्त संघर्ष समितिका सक्रिय नेता पदमकुमार लिम्बुको टाउकोमा प्रहरीले लाठी हान्यो। संघीय लिम्बुवान मञ्चका नेतासमेत रहेका उनी गम्भीर घाइते भए।'
राईले त्यहीकारण लाजेहाङ उपनामका पदमकुमारको ज्यान नै गएको पनि बताए।
'प्रहरीबाट आन्दोलनका क्रममा उनको टाउकोमा लाठी प्रहार हुन गएको थियो', उनले भने, 'प्रहरीको लाठीबाट घाइते उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत १० गते दिउँसो निधन भएको छ।'
राईले गणतन्त्र र संघीयताभित्र पहिचान माग्न राज्य दमनमा उत्रिएको पनि बताए। 'गणतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने काम भएको छ', उनले भने, 'सरकार यसरी दमनमा उत्रिनु बेठिक भयो। यसबारे म संघीय र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराउँछु।'
Shares
प्रतिक्रिया